बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वीरगन्जमा हैजाविरुद्धको १० लाख डोज खोप अभियान सञ्चालन गरिने

मङ्गलबार, २१ असोज २०८२, १६ : २८
मङ्गलबार, २१ असोज २०८२

सारांश

  • सरकारले वीरगन्जमा फैलिएको हैजा नियन्त्रणका लागि १० लाख खोप ल्याएको छ।
  • खोप अभियान अर्को हप्तादेखि पर्सा र बाराका प्रभावित क्षेत्रमा केन्द्रित हुनेछ।
  • यो खोप एक वर्ष माथिका व्यक्तिलाई दिइनेछ, तर उच्च सङ्क्रमण भएका बिरामीलाई दिइने छैन।

 काठमाडौँ । सरकारले वीरगन्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि  दश लाख मात्रा हैजा विरुद्धको खोप ल्याएको छ । हैजा विरुद्धको १० लाख १८ हजार १ सय मात्रा खोप ल्याइएको हो ।

परिवार कल्याण महाशाखाका अन्तर्गत  खोपका शाखाका प्रमुख डाक्टर अभियान गौतमले हैजा प्रकोप क्षेत्रमा खोप अभियान सञ्चालन गर्ने तयारी गरिरहेको बताए । अर्को हप्तादेखि हैजाविरुद्धको खोप अभियान पर्सा र बाराका केही प्रभावित स्थानीय तहमा केन्द्रित हुने  प्रमुख डा.गौतमले बताए ।

 मुखबाट सेवन गरिने (ओरल) यो खोपको एकै डोजले महामारी नियन्त्रणमा सहयोग पुग्ने डा.गौतमले बताए ।

यस्तै हैजाविरुद्धको खोप एक वर्षभन्दा माथिका सबै व्यक्तिलाई खोप दिइनेछ । उच्च सङ्क्रमण भई अस्पतालमा उपचाररत, ज्वरो आएका वा झाडापखाला भइरहेका बिरामीहरूले भने यो खोप लिन नमिल्ने उनले बताए ।

खोप विद्यालय, कलेज, कार्यालय, घरदैलो र स्वास्थ्य संस्थाहरूमार्फत उपलब्ध गराइनेछ । यो खोप सरकारले खरिद नगरी इन्टरनेस्नल कोडिनेसन ग्रुप आईसीजी मार्फत अनुदानमा प्राप्त भएको हो ।

जसमा गाभी, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीजको महासंघ जस्ता संस्थाहरू संलग्न छन् ।

पर्सामा डेड महिनादेखि हैजाको प्रकोप जारी रहे पनि यसको स्रोत अझै पत्ता लाग्न सकेको छैन । दूषित पानी तथा खानाबाट यो रोग फैलिने भए पनि पानीमा हैजाको ब्याक्टेरिया पत्ता लगाउन गाह्रो भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताउँदै आएको छ । 

यस्तै, हैजा प्रभावित क्षेत्र वीरगञ्जको नारायणी अस्पतालमा दैनिक ४–५ जना झाडापखालाका बिरामी उपचारका लागि अस्पताल आउने गरेको अस्पतालका प्रमुख डा. चुमनलाल दासले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप