शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ड्युटीमा खटिएका प्रहरीलाई ‘जेनजी हुँ' भन्दै धम्क्याउने युवा प्रहरी हिरासतमा

मङ्गलबार, २१ असोज २०८२, १८ : ३९
मङ्गलबार, २१ असोज २०८२

सारांश

  • सुर्खेतमा ड्युटीमा खटिएका प्रहरीलाई एक युवाले धम्क्याउँदै गालीगलौज र हातपात गरेका छन्।
  • मदिरा सेवन गरी होहल्ला गर्ने जाजरकोट जुनिचाँदेका २४ वर्षीय लोकेन्द्र नाथ योगीलाई प्रहरीले पक्राउ गरेको छ।
  • प्रहरी निरीक्षक डाँगीका अनुसार योगीले प्रहरीमाथि अभद्र व्यवहार गरेको र उनलाई ६ दिनको म्याद थप गरिएको छ।

सुर्खेत । फेसबुकमा अहिले एउटा भिडियो भाइरल छ, जसमा ड्युटीमा खटिएका प्रहरीलाई एक युवाले धम्क्याइरहेका छन् ।

उनले प्रहरीलाई धम्कीका साथ गालीगलौज गर्नुका साथै हातपात नै गरेको भिडियोमा प्रस्ट देख्न सकिन्छ । ती युवाले आफू ‘जेनजी’ भएको भन्दै प्रहरीले समेत केही गर्न नसक्ने भन्दै गाली गरिरहेका देखिन्छन् । उनीसँगै रहेका अन्य युवाले समेत ती युवालाई प्रहरीलाई पिट्न उस्काइरहेको देखिन्छ । जहाँ उनले भनेका छन्, 'इनिस्पेक्टरले मलाई भर्खरै फोन गरेको थियो ।'

जेनजीले आन्दोलन गर्दा देशमा परिवर्तन आएको भन्दै उनलाई सम्झाउन आएका अन्य व्यक्तिलाई समेत ती युवाले‍ धम्क्याउँछन् । तर प्रहरी जवान उनलाई केही गर्न नसकेकाे भिडियोमा देखिन्छ । किनकि जवान एक्लै छन् । पाका उमेरका व्यक्तिले ती युवालाई तिमी ‘डन’ हो भनेर सोध्दा ती युवालो 'म जेनजी हो' भन्छन् । 

मदिरा सेवन प्रयोग गरी यस्तो हर्कत गर्ने ती युवा जाजरकोट जुनिचाँदे गाउँपालिका-३ का २४ वर्षीय छोरा लोकेन्द्र नाथ योगी हुन् । जाजरकोट प्रहरीका अनुसार उक्त घटना आइतबारको हो । 

आइतबार दिउँसो ४ बजे छेडागाड नगरपालिका-२ स्थित अस्थायी प्रहरी पोस्ट सुयाडा नजिकैको मध्य पहाडी लोकमार्गमा यो घटना भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हरि राम डाँगीका अनुसार लोकेन्द्र नाथ योगीसहित अन्य चार जना व्यक्ति लुम्बिनी प्रदेश ५० प ३९६६ र मधेश प्रदेश ३० प ५४९४ नम्बरका मोटरसाइकलमा मादक पदार्थ सेवन गरी अस्थायी प्रहरी पोस्ट सुयाडा अगाडिको सडकमा पल्टिरहेका थिए । 

ड्युटीमा खटिएको प्रहरी टोलीले उनीहरूलाई सडकबाट हटाउन र सोधपुछ गर्दा लोकेन्द्रले प्रहरी टोलीमाथि धम्की दिएको डाँगीले बताए । 

ती युवक (योगी)ले गालीगलौज गरेको र हातपात गर्न समेत खोज्दै अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ । घटनास्थलबाटै रीतपूर्वक उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक डाँगीले रातोपाटीलाई बताए । उनलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गरिएको छ । 

थप अनुसन्धानका लागि मंगलबार जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट ६ दिनको म्याद थप गरी उनलाई हिरासतमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप