शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

इंग्ल्यान्डको ‘गोल्डेन जेनेरेसन’ अहङ्कारी हरुवाहरू थिए : जेरार्ड

बुधबार, २२ असोज २०८२, ०८ : ३५
बुधबार, २२ असोज २०८२

सारांश

  • स्टिभन जेरार्डले अन्तर्राष्ट्रिय ड्युटीमा आफूलाई घृणा लाग्ने गरेको बताए।
  • उनले इङ्ल्यान्डको 'गोल्डेन जेनेरेसन' का खेलाडीहरूलाई 'अहङ्कारी हरुवाहरू' भन्दै दोष दिए।
  • जेरार्डले टोलीको संस्कृति सही बनाउन नसकेकोमा गुनासो गरे।

लण्डन । इंग्ल्यान्डका पूर्व कप्तान स्टिभन जेरार्डले अन्तर्राष्ट्रिय ड्युटीमा हुँदा कहिलेकाहीँ आफूलाई ‘घृणा’ लाग्ने गरेको बताएका छन्। उनले इंग्ल्यान्डको ‘गोल्डेन जेनेरेसन’ ले सफलता प्राप्त नगर्नुको दोष ‘अहङ्कारी हरुवाहरू’ भन्दै मुख्य खेलाडीहरूलाई दिएका छन्।

११४ क्याप जितेका र ६ ठुला प्रतियोगिता खेलेका ४५ वर्षीय जेरार्डले आफ्नो टिम एकपटक पनि सेमिफाइनल पुग्न नसकेकोमा दुःख व्यक्त गरे। लिभरपुलका पूर्वकप्तानका अनुसार इंग्ल्यान्डका प्रशिक्षकले उनलाई चेल्सीका फ्रान्क लाम्पार्ड र म्यानचेस्टर युनाइटेडका पल स्कोल्ससँग मिलेर एक सफल मिडफिल्ड बनाउन सक्नुपर्थ्यो।

रियो फर्डिनान्डको पोडकास्टमा बोल्दै जेरार्डले भने, ‘हामी सबै अहङ्कारी हरुवाहरू थियौँ। हामी साथी थिएनौँ वा जोडिएका थिएनौँ। हामी टोली नै थिएनौँ।’

उनले आफ्नो समयका खेलाडीहरू प्रतिद्वन्द्वी क्लबका खेलाडीहरूसँग घुलमिल हुन नचाहेको बताए। उनले अहिले जेमी क्यारेगर र ग्यारी नेभिल वा पल स्कोल्सको सम्बन्ध देख्दा अचम्म लाग्ने गरेको बताए।

जेरार्डले १४ वर्षसम्म ५ पूर्णकालीन प्रशिक्षकको नेतृत्वमा खेले, तर कसैले पनि टोलीको संस्कृतिलाई सही बनाउन नसकेको उनको गुनासो छ। उनले खेल र तालिमको समय मन पराए पनि बाँकी समय एकल कोठामा बस्नुपर्दा ‘घृणा’ लाग्ने गरेको र ‘कमजोर’ महसुस गर्ने गरेको बताए।

‘मलाई इंग्ल्यान्डसँग एक टोलीको हिस्सा भएको वा टोलीका साथीहरूसँग जोडिएको महसुस भएन,’ उनले भने, ‘तर लिभरपुलसँगका दिनहरू मेरो जीवनका सबैभन्दा राम्रा दिन थिए।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप