शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘वरिष्ठ बलराम’को हिरो दयाहाङ कि विजय ?

बुधबार, २२ असोज २०८२, ११ : ३७
बुधबार, २२ असोज २०८२

सारांश

  • चलचित्र 'वरिष्ठ बलराम' आगामी कात्तिक ६ गतेबाट प्रदर्शनमा आउने भएको छ, जसमा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा छन्।
  • फिल्ममा दयाहाङ र विजयको भूमिकालाई लिएर दर्शकमा कौतुहलता जागेको छ, किनकि दुवै कलाकारलाई समान रूपमा प्रस्तुत गरिएको छ।
  • सुरेन्द्र पौडेलको निर्देशन रहेको यस फिल्ममा समृद्धि अर्याल, पशुपति राई लगायतका कलाकारको अभिनय रहेको छ।

काठमाडौँ । फिल्म ‘वरिष्ठ बलराम’ आगामी कात्तिक ६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा छन् । हिट फिल्म ‘कबड्डी’ देखि ‘जारी’ सम्म यी दुई कलाकारको सहकार्य रहँदै आएको छ भने प्रायः फिल्ममा विजय दायाहाङ सहयोगीका रूपमा देखिँदै आएका छन् ।

तर यसको सहकार्य अलि भिन्न रहेको अनुमान गर्न सकिन्छ । किनभने निर्माण युनिटले पोष्टरदेखि ट्रेलरसम्म दयाहाङ र विजयलाई उत्तिकै स्पेसमा दिएको छ । फिल्मको एक पोस्टरमा यी दुवै कलाकार एक–अर्कोसँग भिड्दै गरेको समेत देखाइएको छ ।

केहीअघि मात्र फिल्मको ‘न्यौली बनैमा’ बोलको गीत सार्वजनिक भएको थियो । त्यसमा विजयलाई अभिनेत्री समृद्धि अर्यालको जोडीको रूपमा देखाइएको थियो । जसमा दयाहाङ अटाएका थिएनन् ।

फिल्मको ट्रेलरमा भने दयाहाङ बढी देखिएका छन् । यसले फिल्मको हिरो को हो भन्ने उत्सुकता पैदा गरेको छ । लिगेसी हेर्दा फिल्मको मुख्य भूमिकामा दयाहाङ हुनुपर्ने हो । प्रचार हेर्दा विजय हो कि भन्ने लाग्छ । किनभने पछिल्लो समय विजय मुख्य भूमिकामा बाक्लै देखिन थालेका छन् । ‘पूर्णबहादुरको सारङ्गी’ हिट भएपछि विजयले लगातार मुख्य भूमिकामा काम गरिरहेका छन् ।

जे होस् फिल्मको हिरो को हो भन्ने कन्फ्युजनले फिल्मप्रति दर्शकको कौतुहलता भने बढाएको छ । भाइटिकाको अवसर पारेर प्रदर्शन हुन लागेको ‘वरिष्ठ बलराम’ सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

फिल्ममा दयाहाङ र विजयको अलवा समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ । फिल्मको कथा र सम्पादन निर्देशक पौडेलकै हो । पटकथा भने महेश दवाडीले लेखेका हुन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको फिल्म आशिष एच तामाङ र श्रीराज कार्कीले निर्माण गरेका हुन् । फिल्ममा मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ । फिल्मलाई काठमाडौँ उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप