शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बच्चालाई कफ सिरप खुवाउँदै हुनुहुन्छ ? यी कुरामा दिनुस् ध्यान

बुधबार, २२ असोज २०८२, ११ : ४७
बुधबार, २२ असोज २०८२

सारांश

  • अभिभावकहरूले डाक्टरको परामर्श बिना नै बालबालिकालाई औषधि दिँदा जोखिम बढ्ने देखिएको छ।
  • भारतमा कफ सिरपका कारण बालबालिकाको मृत्युका घटना बढेपछि औषधिको गुणस्तरमाथि प्रश्न उठेको छ।
  • स्वास्थ्य मन्त्रालयले दुई वर्ष मुनिका बालबालिकालाई खोकीको औषधि नदिन सल्लाह दिएको छ र घरेलु उपचारलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ।

काठमाडौँ । आफ्ना छोराछोरीलाई अलिकति रुघाखोकी वा चिसो लागेको बेलामा हामी मध्ये कयौँ अभिभावक डाक्टरसँग परामर्श नगरी सिधै औषधि पसलबाट औषधि किनेर खुवाइदिन्छौ । प्रायः अनलाइनमा सोधखोज गरेर, कसैलाई सोधेपछि वा डाक्टरसँग अघिल्लो परामर्शका आधारमा औषधि किन्नेहरू पनि हुन्छन् । तर कहिलेकाहीँ यो खतरनाक साबित हुन सक्छ ।

हालैका दिनमा भारतमा कफ सिरप (खोकीको झोल औषधि) सेवनका कारण बालबालिकाको मृत्युको घटनाका बढेको छ । मध्य प्रदेश र राजस्थानमा खोकीको औषधि खुवाएपछि १६ जना बालबालिकाको मृत्यु भएको छ । यी घटनापछि औषधिको गुणस्तरबारे गम्भीर प्रश्नहरू उठेका छन् । 

मध्य प्रदेशले तमिलनाडुमा बनेको ‘कोल्ड्रिफ’ नाम गरेको खोकीको औषधिलाई त प्रतिबन्ध नै लगाएको छ । भारतबाट विदेश निर्यात भएका कफ सिरपबारे पनि बेला बेला प्रश्नहरू उठ्ने गरेका छन् ।

अफ्रिकी देश गाम्बियामा ६६ बालबालिकाको मृत्युपछि २०२२ मा विश्व स्वास्थ्य सङ्गठनले एक भारतीय फर्मा कम्पनीले बनाएको चार वटा खोकी र चिसोको झोल औषधिबारे चेतावनी जारी गरेको थियो । त्यतिबेला पनि विषाक्त कफ सिरपबारे निकै हङ्गामा भएको थियो ।

मध्य प्रदेश र राजस्थानमा हालै भएका घटनाहरूलाई ध्यानमा राख्दै केन्द्र सरकारले बालबालिकाका लागि कफ सिरपको प्रयोगबारे एड्भाइजरी जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले दुई वर्ष र सोभन्दा कम उमेरका बालबालिकालाई खोकी र रुघाखोकीको औषधि नदिन सल्लाह दिएको छ । 

यस्ता औषधिहरू सामान्यतया पाँच वर्ष र सोभन्दा माथिका बालबालिकाका लागि सिफारिस गरिँदैन । सिफारिस नै गरिएको भएपनि मात्रामा ध्यान दिनु पर्छ र अन्य औषधिसँगै यसलाई नदिन भनिएको छ ।

मन्त्रालयले यस विषयमा सबै राज्य र केन्द्र शासित प्रदेशका स्वास्थ्य सेवा निर्देशकहरूलाई पत्र पनि लेखेको छ । बालबालिकामा हुने खोकी सामान्यतया आफैँ निको हुने र प्रायः औषधिको आवश्यकता पर्दैन भनी पत्रमा उल्लेख गरिएको छ । त्यसो भए कफ सिरप कहिले खाने ? कफ सिरप खानु हुन्छ कि हुँदैन ? नखान सल्ला दिइएको समयमा कुन विकल्प प्रयोग गर्ने ? कफ सिरप किन्नु छ भने किन्दा खेरि के के कुरामा ध्यान दिने ? यो प्रश्न धेरै अभिभावकको मनमा आएको हुनु पर्छ ।

कति बेला जरुरी हुन्छ कफ सिरपको सेवन ?

धेरैजसो चिसोसँग सम्बन्धित खोकी आफैँ निको हुने दिल्लीको सर गंगा राम अस्पतालका बाल रोग विशेषज्ञ डा. धीरेन्द्र गुप्ता भन्छन् । बाफ लिएर, पर्याप्त मात्रामा आराम गरेर, मनतातो पानी पिएर र नाकबाट नेजल ड्रप हालेर पनि खोकी नियन्त्रण गर्न सकिने उनी बताउँछन् । सिरप सधैं आवश्यक हुँदैन । 

दिल्लीको मौलाना आजाद मेडिकल कलेज अस्पतालकी सामुदायिक चिकित्साकी प्राध्यापक र निर्देशक डा. सुनिला गर्ग पनि यस्तै भन्छिन् । ‘धेरैजसो समय बालबालिकालाई एलर्जीको कारण खोकी लाग्छ, त्यसैले उनीहरूलाई कफ सिरप दिनु आवश्यक छैन । बजारमा धेरै राम्रा डाइलेटरहरू पनि उपलब्ध छन् जसले छातीको नली खोल्छ, त्यसैले डाक्टरसँग परामर्श गर्नु महत्त्वपूर्ण छ ।’ उनी भन्छिन् ।

कफ सिरपमा रहेका सेडेटिभ्सले तपाईँलाई थोरै मात्र राहत दिने भएकोले यसले खोकी ठिक नगर्ने उनी बताउँछिन् । त्यसैले यदि खोकी दुई हप्ताभन्दा बढी समयसम्म रह्यो र छिटो छिटो सास फेर्न, उच्च ज्वरो, खानपिन घट्दै जाने र बच्चा सुस्त भएको लक्षणहरू देखियो भने चाँहि डाक्टरसँग परामर्श गर्नुपर्ने डा. धीरेन्द्र भन्छन् । बिरामी तीन महिनाभन्दा कम उमेरको छ भने तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुपर्ने उनी बताउँछन् ।

खोकीमा कुन घरेलु उपचार प्रभावकारी हुन्छ ?

हल्का वा भाइरल खोकीको लागि पहिले घरेलु उपचारहरू अपनाउन डाक्टरहरूले सिफारिस गर्छन् । यसमा मनतातो पानी पिउने, बाफ लिने र एक वर्षभन्दा माथिका बच्चाहरूलाई थोरै मह खान दिने आदि उपाय समावेश छन् । खोकी गम्भीर बन्दै गएर रातमा सुत्न गाह्रो भएको छ भने चाँहि डाक्टरसँग परामर्श गर्न र उनीहरूको सल्लाहमा औषधि वा कफ सिरप खान भन्छन् । डाक्टरहरूले कफ सिरपको मात्रा सधैं बच्चाको तौल र उमेरको आधारमा निर्धारण गर्छन् । त्यसैले सिरपलाई चम्चाको सट्टा औषधिको बिर्को वा डोजिङ चम्चामा राखेर खुवाउनुपर्छ ।

कुन उमेरमा कफ सिरप खुवाउनु सुरक्षित हुन्छ ?

चार वर्षभन्दा मुनिका बालबालिकाहरूलाई सिधैं औषधि पसलबाट किनेर औषधि खुवाउनु नहुने डा. धीरेन्द्र भन्छन् । बच्चा दुई वर्ष वा सोभन्दा कम उमेरको छ भने, थप सावधानी अपनाउनु पर्छ । डाक्टरको जाँच र प्रिस्क्रिप्शन बिना कुनै पनि कम्बिनेशन सिरप प्रयोग गर्नु हुन्न । मह पनि एक वर्ष भन्दा माथिका बच्चाहरूलाई मात्र दिनुपर्छ । यो भन्दा कम उमेरका बच्चालाई मह दिँदा सङ्क्रमणको जोखिम निम्त्याउन सक्छ ।

कफ सिरप किन्ने समयमा के कुरामा ध्यान दिने ?

प्रिस्क्रिप्शन बिना कफ सिरप किन्नु हुँदैन भनेर डा. सुनिला गर्ग भन्छिन । बजारमा धेरै खालका कफ सिरप पाइन्छ । केमिस्टहरूले तपाईंलाई आफ्नो नाफा अनुरूप जुन पनि कफ सिरप बेच्न सक्छन् । त्यसैले आफैँ जान्ने भएर औषधि किन्ने वा फर्मासिस्टलाई डाक्टर बनाउने काम नगर्नुहोस् ।

यति हुँदा हुँदै पनि तपाईं सिधैं काउन्टरमा गएर कफ सिरप किन्न जानुहुन्छ भने लाइसेन्स प्राप्त फार्मेसीमा मात्रै जानुहोस् । कफ सिरप बनाउन कुन कुन सामग्रीको प्रयोग भएको छ ? बोतलमा उल्लेख गरिएको सामग्रीहरू ध्यानपूर्वक पढ्नुहोस् । डाइइथिलिन ग्लाइकोल र इथिलीन ग्लाइकोलयुक्त सिरपले मिर्गौला फेल हुन सक्छ र बच्चाहरूमा मृत्यु पनि हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनले बारम्बार चेतावनी दिएको छ । क्लोरफेनिरामाइन र डेक्सट्रोमेथोर्फानले पनि बालबालिकामा प्रतिकूल प्रभाव पार्न सक्छ ।

कम्बिनेशनयुक्त कफ सिरपमा फेनाइलफ्राइन, एम्ब्रोक्सोल र लेभोसेटिरिजिन जस्ता रसायनहरू प्रयोग हुने डा. धीरेन्द्र गुप्ता बताउँछन् । यिनीहरूको केही साइड इफेक्ट हुन सक्छ । त्यसैले चिकित्सकसँग सल्लाह गरेर मात्रै यस्ता औषधि चलाउनु पर्ने उनी बताउँछन् । एक सचेत उपभोक्ताको रूपमा, औषधि किन्ने बेलामा फर्मासिस्टलाई कफ सिरपको गुणस्तर नियन्त्रण परीक्षण गरिएको छ कि छैन भनेर सोध्नु पर्छ भन्छिन् डा. सुनिला गर्ग । आफ्ना बालबालिकालाई खोप लगाउनु पर्छ भनेर हरेक घरपरिवार सचेत बनेजस्तै यस्ता औषधि र सिरपहरूबारे जागरूकता बढ्यो भने, कम्पनीहरू पनि सतर्क हुने उनी बताउँछिन् ।

औषधि वा कफ सिरप किन्दा बिललाई आफ्नै साथमा राख्न डा. गुप्ता भन्छिन् । साथै सिरप उत्पादन गर्ने कम्पनीको नाम, ब्याच नम्बर, उत्पादन मिति र म्याद सकिने मिति पनि नोट गर्नुहोस् । कफ सिरप ब्याच परीक्षणको लागि फिर्ता बोलाइएको रहेछ भने यी जानकारी उपयोगी हुन्छन् । यदि सिरपको रङ उडेको देखिन्छ वा कणहरू देखिन थालेका छन्, यदि औषधिमा नुन जमेको छ । ब्याच नम्बर हराइरहेको छ वा मेटिएको छ भने पनि यसलाई सेवन गर्नु हुन्न । औषधिमा औषधि इजाजतपत्र नम्बर छापिएको हुनुपर्छ । यदि यो छैन भने यस्तो औषधि किन्नु हुन्न । स्वास्थ्य विभागले कुनै विशेष सिरप वा ब्याचबारे चेतावनी जारी गरेको छ भने, यसलाई कहिल्यै किन्न वा प्रयोग गर्नु हुन्न ।

त्यसोभए हर्बल कफ सिरप सुरक्षित छ त ?

कुनै उत्पादनलाई हर्बलको रूपमा लेबल लगाउनुको अर्थ यो सुरक्षित वा हानिकारक पदार्थहरूबाट मुक्त छ भन्ने हुन्न भनेर भन्छन् डा. धीरेन्द्र । यसमा पनि दूषित रसायनहरू हुन सक्छन् । त्यसैले, सधैं प्रतिष्ठित कम्पनीहरूको औषधि मात्रै  किन्नु होस् । नक्कली सिरपले सास फेर्न गाह्रो हुने, बान्ता हुने, निद्रा लाग्ने वा बेहोस हुने, छिटो सास फेर्न गाह्रो हुने हुन सक्छ । थोरै पिसाब लाग्ने वा नलाग्ने, पेट दुख्ने, मस्तिष्कमा क्षति हुने र मुटुको चालमा पनि असर पनि पर्न सक्छ । तपाईँले पनि यी मध्ये कुनै पनि लक्षण अनुभव गर्नुभयो भने, सकेसम्म चाँडो डाक्टरसँग परामर्श लिनुहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप