बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
लघुकथा

जेन–जी

बिहीबार, २३ असोज २०८२, १० : ३७
बिहीबार, २३ असोज २०८२

खासकुरा नपरी बोलाउनुनपर्ने !

यस्तो निष्पट अँध्यारामा जानु पो कसरी हो !

जेन–जीले ढोका खोल्यो ।

चप्पलहरू ढोकाअगाडि नै रहन्थे ।

अँध्यारामा जेन–जीले खुट्टैले छामछुम पार्‍यो र जो भेटेको चप्पल लगाएर तल ओर्लियो ।

मिटिङ जरुरी नै रहेछ । छिमेकका धेरै मान्छे जम्मा भएका रहेछन् । सबैले आ–आफ्नो राय राखे ।

मिटिङ सकियो ।

हिँड्नै लाग्दा जेन–जीले देख्यो । अँध्यारामा उसले दुई फरक जोडाको दाहिने–दाहिने चप्पल लगाएर आएको रहेछ । चप्पल देखेपछि अघि घरबाट निस्किँदा किन अलिक असहज लागेको रहेछ भन्ने पनि उसले बुझ्यो ।
जेन–जीले सोच्यो, ‘अघि लगाएर आएकै हो । अब फेरि यही लगाएर जान्छु । के फरक पर्छ र !’

फेरि सोच्यो, ‘धत् ! अघि पो अँध्यारो थियो र क्षम्य थियो । अब उज्यालामा पनि कसैले देख्दैन वा कोही बोल्दैन भन्दैमा नमिलेका कुरालाई निरन्तरता दिनुहुन्छ । मेरा आँखाको के प्रयोजन ? यो उज्यालोको के अर्थ ?’
जेन–जीले भाइलाई मोबाइलमा म्यासेज लेख्यो, ‘मलाई एकजोर चप्पल ल्याइदे । एउटा झोला पनि लिएर आइज ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ईश्वर पोखरेल
ईश्वर पोखरेल
लेखकबाट थप