शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सगरमाथा चौधरी आँखा अस्पताललाई ‘मेडिकल टुरिजम’को हब बनाउन सुझाव

बिहीबार, २३ असोज २०८२, १३ : १५
बिहीबार, २३ असोज २०८२

सारांश

  • विश्व दृष्टि दिवसमा लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले सुरक्षाकर्मीका लागि आँखा जाँच तथा चस्मा वितरण कार्यक्रम गर्यो।
  • कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र ट्राफिक प्रहरीका सुरक्षाकर्मीको सहभागिता थियो।
  • प्रजिअ अधिकारीले अस्पतालले मेडिकल टुरिजमको हब बनाउनुपर्ने बताए भने अस्पतालले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनायो।

सिराहा । विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित सगरमाथा चौधरी आँखा अस्पताल, लहानद्वारा आज जिल्लामा कार्यरत सुरक्षा निकायका कर्मचारीहरूका लागि विशेष आँखा जाँच तथा चस्मा वितरण कार्यक्रम गरेको छ ।

कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धन विभाग र ट्राफिक प्रहरीका सुरक्षाकर्मीकोे सहभागी रहेको थियो  । स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा करिब सयभन्दा बढी सुरक्षाकर्मीको आँखा परीक्षण तथा आवश्यक परे चस्मा वितरण गरिने अस्पतालका वरिष्ठ प्रबन्धक अभिषेक रोशनले जानकारी दिए । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, सशस्त्र प्रहरी बल सिरहाका उपरीक्षक नरेश भण्डारी तथा अन्य सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो । सो अवसरमा प्रजिअ अधिकारीले सगरमाथा चौधरी आँखा अस्पतालले स्वदेशी तथा विदेशी बिरामीको सफल उपचार गरी राष्ट्रको गौरव बढाएको बताए । उनले  अस्पतालले आगामी सय वर्षलाई लक्षित गर्दै दीर्घकालीन योजना बनाएर ‘मेडिकल टुरिजम’को हब बनाउनु पर्नेमा जोड दिए । 

कार्यक्रममा अस्पतालका वरिष्ठ प्रबन्धक रोशनले अस्पतालद्वारा प्रदान गरिँदै आएको सेवा र विस्तार योजनाको बारेमा जानकारी गराएका थिए ।  सगरमाथा चौधरी आँखा अस्पतालले यस्ता सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरूलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप