शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हतुवागढीका विपन्न परिवारलाई जस्तापाताको छानो

बिहीबार, २३ असोज २०८२, १४ : ५७
बिहीबार, २३ असोज २०८२

सारांश

  • भोजपुरको हतुवागढी गाउँपालिकाले विपन्न परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ।
  • गाउँपालिकाले १०६ परिवारलाई जस्तापाता उपलब्ध गराएको छ जसले गर्दा स्थानीय खुसी भएका छन्।
  • गाउँपालिकाले छानो फेर्नका लागि विभिन्न आर्थिक वर्षमा ७० लाख खर्च गरेको छ।

भोजपुर । यहाँको हतुवागढी गाउँपालिकाले वषौैँदेखि फुसको छानोमा बस्दै आएका अति विपन्न परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले १०६ परिवारलाई जस्तापाता उपलब्ध गराएको हो ।

जस्ताको छानो पाएपछि विपन्न समुदायले खुसी व्यक्त गरेका छन् । चुहिने छानोले सास्ती भोगेकामा गाउँपालिकाले जस्तापाता दिएपछि सहज भएको स्थानीय चिनिमाया खड्काले बताइन् ।  ‘फुसको छानो हुँदा धेरै समस्या थियो’, उनले भनिन्, ‘म एकल महिला भएकाले छानो फेर्ने क्षमता थिएन । पानी परेपछि चुहिने ठाउँमा गाग्री, खड्कुला राखेर बस्थेँ । अहिले सहज छ ।’

गाउँपालिकाले हालसम्म विभिन्न आर्थिक वर्षमा छानो फेर्नका लागि रु ७० लाख खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए । उनका अनुसार प्रतिघर रु ७५ हजार बराबरको सहयोग गरिएको छ ।

‘आर्थिक अवस्था कमजोर भएर छानो फेर्न नसक्ने परिवारलाई प्राथमिकतामा राखेर हामीले सहयोग गरेका हौँ,’ निरौलाले भने- ‘छानो फेरिएपछि वर्षाको समयमा उनीहरूलाई सहज भएको छ ।’

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले केन्द्र सरकारले निरन्तर बजेट नदिँदा गाउँपालिकाले आफ्नै पहलमा कार्यक्रम अघि बढाएको बताए । दलित, एकल महिला र अति विपन्न परिवारलाई प्राथमिकतामा राखेर जस्तापाता वितरण गरिएको अध्यक्ष राईले जानकारी दिए ।

स्थानीय तह सञ्चालनमा आएपछि सुरक्षित आवास, जनता आवास र गाउँपालिकाको आफ्नै कार्यक्रममार्फत हालसम्म ४०५ परिवारका लागि  जस्तापाता वितरण गरिसकेको गाउँपालिकाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप