बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

चुनावको तयारीबारे आयोगद्वारा राष्ट्रपतिलाई ब्रिफिङ

बिहीबार, २३ असोज २०८२, २० : ११
बिहीबार, २३ असोज २०८२

सारांश

  • निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे राष्ट्रपति रामचन्द्र पौडेललाई ब्रिफिङ गरेको छ।
  • आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, र शान्तिपूर्ण बनाउन गरिएका तयारीबारे राष्ट्रपतिलाई जानकारी गरायो।
  • राष्ट्रपतिले निर्वाचनमा सबै नागरिकको सहभागिता सुनिश्चित गर्न र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न निर्देशन दिए।

काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई ब्रिफिङ गरेको छ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले बिहीबार शीतल निवास पुगेर आयोगको तर्फबाट निर्वाचन तयारीको अवस्था र आगामी कार्य योजना प्रस्तुत गरेका हुन्। 

आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न गरिएका तयारी, स्रोतसाधन व्यवस्थापन र भावी कार्यक्रमबारे राष्ट्रपतिलाई अवगत गराएको जनाएको छ ।

भण्डारीले राष्ट्रपतिलाई जानकारी दिँदै प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्न आयोगले आवश्यक स्रोतसाधन र जनशक्ति सुनिश्चित गर्न प्रधानमन्त्री सुशीला कार्की तथा सम्बन्धित विभागीय मन्त्रीहरूसँग छलफल सम्पन्न गरिसकेको बताए।

उनका अनुसार मितव्ययी ढङ्गले निर्वाचन सम्पन्न गर्न आवश्यक स्रोतसाधन तथा जनशक्ति उपलब्ध गराइने र निर्वाचनमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइने आश्वासन सरकारको तर्फबाट प्राप्त भएको छ।

आयोगले आन्तरिक प्रशासनिक तयारीलाई समेटेर तयार पारेको कार्य योजना अनुसारका कामहरू योजनाबद्ध रूपमा अघि बढाइरहेको समेत कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिएका छन्। 

उनले आयोगले निकट भविष्यमा राजनीतिक दल र सरोकारवालाहरूसँग छलफल गरी बाँकी कार्यहरू अघि बढाउने कार्यक्रम तय गरेको पनि बताए।

त्यसैगरी संशोधित मतदाता नामावली ऐन, २०७३ अनुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य पनि सुचारु रूपमा जारी रहेको आयोगले जनाएको छ।

राष्ट्रपति पौडेलले आयोगलाई निर्वाचनमा सबै नागरिकहरूको सहभागिता सुनिश्चित हुने वातावरण तयार गर्न निर्देशन दिएका छन्। 

साथै राजनीतिक दल र सरोकारवालाहरूसँग तत्काल छलफल अघि बढाई तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी समयमै पूरा गर्न आग्रह गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले स्वीकृत कार्य योजनाअनुसार आगामी दिनमा निर्वाचन आचारसंहिता निर्धारण र कार्यान्वयन, उम्मेदवारको मनोनयन दर्ता, छानबिन, अन्तिम नामावली प्रकाशन तथा मतदानलगायतका कार्यक्रमहरू राजनीतिक दल र सरोकारवालाहरूसँग परामर्श गरेर तय गरिने जनाएको छ।

आयोगले निर्वाचनको पूर्वतयारीका सबै कार्यक्रमहरू तोकिएको समयमा सम्पन्न हुने विश्वास व्यक्त गरेको छ।

शीतल निवासमा भएको उक्त भेटवार्तामा आयोगका आयुक्तहरू जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा, आयोगका सचिव महादेव पन्थ, राष्ट्रपति कार्यालयका सचिव डा। दीपक काफ्ले र राष्ट्रपतिका विज्ञ सल्लाहकारहरू पनि उपस्थित थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप