तमोर–मेवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, २३ अर्ब ४ करोड लगानी जुट्यो
सारांश
- ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाटको तमोर-मेवा जलविद्युत आयोजनाले वित्तीय व्यवस्थापन पूरा गर्यो।
- सिद्धार्थ बैंकको नेतृत्वमा अन्य बैंक तथा वित्तीय संस्थाहरूले २३ अर्बको आयोजनाका लागि ऋण लगानी गर्ने सम्झौता गरे।
- आयोजनाले आगामी साढे तीन वर्षभित्र उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ, हाल २५ प्रतिशत काम सम्पन्न भएको छ।
काठमाडौँ । कोशी प्रदेशको ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाले वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ।
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित यस आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता बिहीबार काठमाडौँको नक्सालस्थित सिद्धार्थ बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो।
सम्झौतामा कम्पनीका अध्यक्ष श्रवणकुमार गोयल र सिद्धार्थ बैंक लिमिटेडका कर्पोरेट क्रेडिट हेड अमित श्रेष्ठले हस्ताक्षर गरेका छन्।
कम्पनीका प्रबन्ध निर्देशक ई.सुदीपकुमार चौधरीका अनुसार, आयोजनाको लीड बैंक सिद्धार्थ बैंक लिमिटेड र को–लीड बैंक माछापुच्छ्रे बैंक लिमिटेड रहेका छन्।
यससँगै कृषि विकास बैंक लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड, ज्योति विकास बैंक लिमिटेड, आईसीएफसी फाइनान्स लिमिटेड, नेपाल फाइनान्स लिमिटेड र गुडविल फाइनान्स लिमिटेड लगायतका बैंक तथा वित्तीय संस्थाहरू सहवित्तीयकरणमा सहभागी छन्।
आयोजनाको कुल अनुमानित लागत २३ अर्ब ४ करोड रुपैयाँ रहेको छ। त्यसमध्ये ७५ प्रतिशत रकम दीर्घकालीन आयोजना ऋणका रूपमा बैंक तथा वित्तीय संस्थाबाट जुटाइनेछ भने २५ प्रतिशत स्वपूँजी प्रवर्द्धकहरूले लगानी गर्नेछन्।
स्पार्क हाइड्रोइलेक्ट्रिकले यसअघि नै २०७७ असोज २५ गते विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमति पत्र प्राप्त गरिसकेको छ। त्यस्तै, पर्यावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन २०७५ असार ३१ गते तत्कालीन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको थियो ।
नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता २०८० असोज २४ गते सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।
हाल आयोजनाको करिब २५ प्रतिशत भौतिक प्रगति भइसकेको र निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको कम्पनीका प्रबन्ध निर्देशक चौधरीले बताए। उनका अनुसार, आयोजना ३ वर्ष ६ महिनाभित्र सम्पन्न गरी २०८५ असोज २५ गतेदेखि व्यावसायिक उत्पादनमा ल्याउने लक्ष्य राखिएको छ।
वित्तीय व्यवस्थापन सम्झौता कार्यक्रममा कम्पनीका संस्थापक अध्यक्ष भानेन्द्रकुमार लिम्बू, प्रबन्ध निर्देशक चौधरी, सञ्चालकहरू, लगानीकर्ता बैंकका प्रतिनिधि, तथा विभिन्न बैंक–वित्तीय संस्थाका उच्च पदस्थ अधिकृतहरूको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण