सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
किताबका कुरा

‘बहुमूल्य किताब उपहार स्विकार्नु नैतिक आचरणले ठिक थियो !’

शनिबार, २५ असोज २०८२, १४ : ००
शनिबार, २५ असोज २०८२

सारांश

  • गोपी मैनालीको नयाँ निबन्ध सङ्ग्रह 'अक्षरको मन' बजारमा आएको छ, जसमा उनले आफ्नो जीवन र समाजका अनुभवहरू व्यक्त गरेका छन्।
  • लेखक मैनालीले पढ्नका लागि समय छुट्याउँदैनन्, तर उनलाई पुस्तकहरू आफ्नो साथी र जीवन बुझ्ने माध्यम लाग्छ।
  • उनले हालै पढेका पुस्तकहरूमा नेल्सन मन्डेलाको आत्मकथा, 'ह्वाई नेसन्स फेल', र 'द नेमसेक' लगायत छन्, जसले उनलाई विभिन्न विषयमा प्रेरणा दिए।

नेपाल सरकारका पूर्वसचिव गोपी मैनालीको पाँचौँ निबन्धसङ्ग्रह ‘अक्षरको मन’ बजारमा आएको छ । यो उनको नवौँ साहित्यकृति हो ।

यस्तै व्यवस्थापनसम्बन्धी उनका पाँचवटा कृति प्रकाशित छन् । उनै मैनालीलाई यसपालि रातोपाटीको नियमित स्तम्भ ‘किताबका कुरा’मा निम्त्याएका छौँ ।

  • दिनमा कति समय पढ्नुहुुन्छ ? पढ्नका लागि समयको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?

पढ्नलाई भनी समय विनियोजन गर्ने गरेको छैन । मनलाग्दा र समयले स्वीकृति दिँदा किताब पढ्ने गर्छु । मलाई पढ्न मन लाग्छ । पुस्तक मेरो एकान्तको साथी, फुर्सदको मनोरञ्जन र जीवन बुझ्ने माध्यम हो । 

पढ्ने भनेर किताब मात्र पढ्दिनँ, समाज र आफ्नो परिवेशलाई पनि गहिरिएर पढ्छु । यात्रा गरेर पनि पढ्छु । पढ्नका लागि अनगिन्ती कुरा हामी वरिपरि नै छन् भन्ने लाग्छ । समय व्यवस्थापनको समस्या छैन । आठ घण्टा काम गर्ने, आठ घण्टा आराम गर्ने र आठ घण्टा मनोरञ्जन भन्ने गरिन्छ । म कामलाई पनि मनोरञ्जन सम्झन्छु । मेरो धेरैजसो काम पढाइसँग सम्बन्धित छ, मनोरञ्जन पनि पढाइबाट लिन्छु । त्यसैले पढाइका लागि समय व्यवस्थापनको समस्या छैन । 

  • हालैका दिनमा पढेको पुस्तक कुन थियो ? कस्तो छ, त्यो पुस्तक ? 

हालै मैले अफ्रिकी स्वतन्त्रता सेनानी नेल्सन मन्डेलाको आत्मकथा ‘लङ वाक् टु फ्रिडम’, डारोन एसिमोग्लु र जेम्स रबिन्सनको ‘ह्वाई नेसन्स फेल’ र झुम्पा लहिरीको ‘द नेमसेक’ पढेँ । 

केहीअघि स्यामुयल पी हन्टिङ्टनको ‘क्ल्यास अफ् सिभिलाइजेसन्स’ पढेको थिएँ । मेरो साथीको लघुकथा ‘इब्राहिमका घोडा र विकीनीहरू’ को पाण्डुलिपि पढेँ, जसका लागि मैले भूमिका लेख्नुपर्ने थियो । यी सबै पुस्तकका कथा, विषय, पात्र, घटना मेरा मनभरि ताजै छन् । 

मन्डेलाको आत्मकथामा दक्षिण अफ्रिकामा स्वतन्त्रका लागि उनले गरेको सङ्घर्ष, २७ वर्षे कारागारको यातना र सङ्घर्षका उपलब्धि देखाइएको छ । राजनीति गर्ने व्यक्ति, त्यति मात्र होइन सार्वजनिक जीवन बिताउनेहरूका लागि यो किताब धेरै प्रेरणादायी छ । यसले समाज, स्वतन्त्रता, शिक्षा र त्यागका कुरा देखाउँछ । शिक्षा र संस्कारका मिठा कुरा बताउँछ । मन्डेलाका भनाइमा शिक्षा बिगारे सबैथोक बिग्रन्छ, लोभ भएपछि शासन बिग्रन्छ । यो किताब पढ्दा म आफू महानताको स्पर्शमा छु भन्ने महसुस भयो । 

जेन–जी आन्दोलनका क्रममा बीपी पुस्तकालय पनि जलाइएछ । मैले दिएका किताब र तिनका अक्षर खरानी भएको सुन्दा निकै दुःखी भएँ । कसैले चोरेको भए पनि ज्ञान पाउँथे, खरानी भए ।  

‘ह्वाई नेसन्स फेल’मा शासन प्रणाली, शक्ति अभ्यास र समृद्धिको राम्रो विश्लेषण गरिएको छ । जस्तो कि एकै भूगोल, एकै जाति, एकै भाषा, एकै धर्म–संस्कृति भए पनि आधा–आधा भागमा विभाजित नोगालेस सहरको अमेरिकातर्फको एरिजोना नगरको शान्ताक्रुज काउन्टी र मेक्सिकोतर्फको सेनोरामा समृद्धि, त्यहाँका बासिन्दाको जीवनकालको अवसरको उपयोगमा आनका तान फरक हुनुमा शासन प्रणालीको स्तर जिम्मेवार छ भनी यथार्थपरक विश्लेषण गरिएको छ ।

यो किताब पढ्दा नेपालसँगै जन्मेको अमेरिका; नेपालसँगै विकास यात्रा सुरु गरेका सिङ्गापुर, दक्षिण कोरिया र नेपालभन्दा पछि विकास सुरु गरेका चीनसँग नेपालको शासन र विकासलाई दाँजेको छु । निस्वार्थ नेता र उत्तरदायी सरकार भएको भए विकास हामीले पनि पाउँथ्यौँ भन्ने सोचेर मन कुँडाएको छु । 

‘नेमसेक’ले कुनै देशमा जन्मेर अर्को देशलाई कर्मभूमि बनाएका व्यक्तिको पहिचान, सभ्यता र अस्तित्व कसरी ‘एसिमिएलेसन’मा पुग्दो रहेछ र व्यक्ति कसरी सबैतिरबाट विस्थापित र बिरानो बन्दोरहेछ भन्ने बुझेँ । धेरै नेपाली डायस्पोरा बनेकाले गोगोलको नियति हाम्रा साथी र सन्तानले पनि भोग्ने दिन आउँदै छ भन्ने सम्झेँ । यी तीनवटै कृतिहरू शासन, स्वतन्त्रता र अलिअलि सभ्यतासँग सम्बन्धित छन् । यी किताबमा फरक परिवेश, फरक पात्र, फरक घटनाक्रम र भिन्न प्रस्तुति भए पनि सारमा एकै कुरा पाएँ । 

हन्टिङ्टनको पुस्तकमा ‘सभ्यताबिचको सङ्घर्ष’ पाइन्छ । विश्वका सात–आठ सभ्यता मौन रूपमा कसरी सङ्घर्ष गरिरहेका छन् भन्ने यस पुस्तकमा देखाएको छ । उनले अबको युद्ध सभ्यताबिच हुन्छ, मौन सङ्घर्ष समाजमा चलिरहेको छ भन्ने देखिएका छन् । जहाँसम्म लघुकथा ‘इब्राहिमको घोडा र विकीनीहरू’को पाण्डुलिपिको कुरा छ, यसमा सूत्रात्मक र कवितात्मक रूपमा समाजको व्यङ्ग्यपूर्ण प्रस्तुति आएको छ । 

  • तपाईंका लागि किताब के हो ? किताबसँग यहाँको साइनो कसरी जोडियो ?

किताब त मेरा लागि धेरै थोक हो । मेरा लागि पढ्नु आनन्द लिनु हो, आनन्दका लागि किताब पढ्छु । किताबले मजाको आनन्द दिन्छ । म ताजा हुन किताब पढ्छु, एकाग्रबाट छुट्टिन किताब पढ्छु । 

मेरो लाइब्रेरी छैन । मेरो कोठा नै पुस्तकालय हो, जहाँ करिब पाँच हजार जति साना–ठुला किताब छन् । 

किताब मेरो निस्वार्थ साथी हो, संसारको यात्रा गर्न किताब पढ्छु, ज्ञानको तिर्खा मेटाउन किताब पढ्छु, दिक्दार हुँदा किताब पढ्छु, दिक्दार भइएला कि भनेर पनि किताब पढ्छु, इतिहासको अनुभूति र भविष्यको आकलनका लागि किताब पढ्छु । समयको यात्रा गर्न किताब पढ्छु । मानवीय संवेदना साट्न र जीवनका सुखदुःखको आस्वाद गर्न किताब पढ्छु । शासन र प्रशासन, सुशासन र समृद्धिको सिंहावलोकनका लागि किताब पढ्छु । 

  • तपाईंको व्यक्तिगत लाइब्रेरीमा कति किताब छन् ? कुन विधाका पुस्तक बढी छन् र किताब किन्नका लागि कति खर्च गर्नुहुन्छ ?

मेरो लाइब्रेरी छैन । मेरो कोठा नै पुस्तकालय हो, जहाँ करिब पाँच हजार जति साना–ठुला किताब छन् । 

मलाई मेरो सानो बच्चाले किन्डल र ठुलो बच्चाले म्याक बुक दिएका छन् । मलाई मनपर्ने किताबका सफ्टकपीहरू बाबुहरूले त्यहीँ हालिदिन्छन् । मलाई मनपर्ने किताब त्यहाँ लोड गर्न भन्छु । 

ब्रिफ हिस्ट्री अफ नियो लिबरलिजम्, लर्ड अफ द फ्लाइज, द गुड अर्थ, गीताञ्जली, लेमन ट्री, वार बिफोर सिभिलाइजेसन, मोरल एनिमल, ह्वाई नेसन्स फेल, होमो देओस, स्यापियन्स, नेक्सस, माई टेम्टेसन, द हाउस बिच, नेमसक आदि पुस्तक छन् । यस्तै, केही महान् व्यक्तिका अटोबायोग्राफीहरू किन्डल (मेरो साथमा रहने लाइब्रेरी)मा छन् । 

म आधाजसो साहित्य र आधाजसो गैरसाहित्य पुस्तक पढ्छु । दुवै विधाको सन्तुलनले पढाइ व्यावहारिक बनाउँछ र दृष्टिकोण निर्माणका लागि तयार पार्छ भन्ने लाग्छ । मलाई सबै विधाका किताब मनपर्छ । विशेषतः समसामयिक, साहित्यिक, व्यवस्थापन, आर्थिक, वैज्ञानिक र महान् व्यक्तिका आत्मकथा नै मेरा प्राथमिकताका किताब हुन् । किताब किन्नका लागि यति नै रकम छुट्टयाउँछु भन्ने छैन । किन्छु पनि, बाबुहरूले किनिदिएर किन्डलमा हालिदिन्छन् पनि । नेपाली साहित्यका किताबहरू उपहारमा समेत पाउने गरेको छु । 

नासोमा नेपाली समाजको यथार्थ चित्रणबाट आदर्श समाज खोजिएको छ । मुनामदन नेपाली मन मतिष्कको सर्वाधिक प्रिय कृति, जसले त्यतिबेलाको नेपाली समाजको प्रेम, करुणा, आदर्श र अर्थ–व्यवस्थालाई मन छुने गरी चित्रण गरेको छ । 
  • आख्यान र गैरआख्यानमध्ये कुन विधाका पुस्तक बढी पढ्न रुचाउनुहुन्छ र किन ? 

दुवै विधा मन पर्छ । बढी त आख्यान पढ्छु, उपन्यासहरू । महान् व्यक्तिका सङ्घर्षका कथाहरू (आत्मकथा) पढ्छु । खास विषयको तथ्यपरक विश्लेषण भएका समसामयिक आलेख खोजीखोजी पढ्छु । निजात्मक निबन्ध पढ्न मन लाग्छ, तर मलाई धीत मर्ने निबन्ध भेटाएको छैन, अचेल त्यस्ता निबन्ध भेटाइन्न । लक्ष्मी निबन्ध सङ्ग्रहजस्ता निबन्ध लेखिएनन् । 

  • नेपाली लेखकका कम्तीमा पाँचवटा कृति सम्झनुपर्दा कुन कुन कृतिलाई सम्झनुहुन्छ ? यी किताबमा त्यस्तो के छ, जसकारण तपाईंंलाई मनपर्‍यो ? 

पाँचवटा मात्र नेपाली किताबको नाम लिँदा गुरुप्रसाद मैनालीको ‘नासो’, लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’, विश्वेश्वरप्रसाद कोइरालाको ‘सुम्निमा’, पारिजातको ‘शिरीषको फूल’ र आफ्नै ‘अक्षरको मन’लाई लिन्छु । 

नासोमा नेपाली समाजको यथार्थ चित्रणबाट आदर्श समाज खोजिएको छ । मुनामदन नेपाली मन मतिष्कको सर्वाधिक प्रिय कृति, जसले त्यतिबेलाको नेपाली समाजको प्रेम, करुणा, आदर्श र अर्थ–व्यवस्थालाई मन छुने गरी चित्रण गरेको छ । 

सुम्निमा आर्य र भिल्ल संस्कृतिको चित्रणका साथ मनोद्वेगको विश्लेषण छ । सोमदत्त, पुलोमा, सुम्निमाका माध्यमबाट संस्कृति र मनोविज्ञानको सरल चित्र उतारिएको छ । 

शिरीषको फूलमा अस्तित्व, विसङ्गति र मनोविज्ञानको त्रिवेणी छ, सकम्बरीको र सुयोगवीरको कथा नारी र पुरुषसत्ताका प्रतिनिधि मनोवृत्ति हुन्, शिरीष प्रतीक भएर दुवै पात्रलाई व्यत्त्याइरहेको छ । ‘अक्षरको मन’ मनोभाव, आकाङ्क्षा र आवेग–उद्वेगको क्यानभास हो, आत्मिक कलेबरमा निबन्ध निर्बन्ध बयेलिएको छ । 

  • विदेशी लेखकका कम्तीमा पाँचवटा कृति सम्झनुपर्दा कुन–कुनलाई सम्झनुहुन्छ ? 

विदेशी लेखकका मनपरेका पाँच कृतिमा नेल्सन मन्डेलाको ‘स्वतन्त्रताको लामो यात्रा’, झुम्पा लहिरीको ‘नेमसेक’, परवीन शाकिरको ‘खुस्बु’, युभल नोह हरारीको ‘नेक्सस’, ब्रिट्नी स्पेयर्सको ‘द ओमन इन् मी’ हुन् । 

निकोस काजान्जाकिसको ‘जोर्बा द ग्रिक’ पनि त्यत्तिकै मन पर्छ । स्वतन्त्रताको लामो यात्रा सङ्घर्ष, क्षमा, समर्पण, संयम र स्वतन्त्रताको आत्मिक अनुभूति भएकाले मन परेको हो । 

नेमसेक पहिचान र निजत्वको खोजीमा भौँतारिएको डायस्पोरा बाध्यतालाई विश्लेषण गरिएकाले मन परेको हो । यो किताब पढ्दा विदेशमा बसाइँ सरेकाका सन्तानलाई गोगोल र उसको परिवार सम्झेको छु । 

इस्लाम समाजको पितृसत्ताप्रति फूलको बाण हो खुस्बु । शाकिर प्रेमका उत्सर्ग, आत्मीयता, बिछोड, विरहदेखि मनदेखि मनसम्मका दूरीलाई कोमल भावमा व्यक्त गर्न सक्छिन्, त्यसैले मनपरेको हो ।

नेक्सस मानव समाजको इतिहासलाई सूचना–संस्कृतिका माध्यमबाट व्यक्त गरिएको बौद्धिक कृति भएकाले मनपरेको हो । ‘द ओमन इन् मी’ चर्चा र वाहवाहीको शिखर चुमेका सेलिब्रेटी यौवनाले पनि कस्तो उत्पीडन भोग्नुुपर्दोरहेछ भन्नेबारे गायिकाले नढाँटी उल्लेख गरेकीले मनपरेको हो । आत्मकथामा धेरैजसो सत्य बोल्दैनन्, यहाँ त्यसो छैन । 

‘जोर्बा द ग्रिक’मा भौतिक संसारमा जे–जस्तो अवस्था आए पनि रमाएर जीवनको स्वाद लिन सकिन्छ भन्ने प्रमुख पात्र आलेक्सिस जोर्बाबाट देखाइएको छ । यी पुस्तक सत्यमा लेखिएका छन्, जीवनको एक–एक पक्षको उजागर भएको छ । किताबको अक्षरभित्र पसेर लेखकहरूले अपनत्व लिएर लेखेका छन् । यी किताबले पाठकलाई उत्साह, सौर्य र साहस दिन्छन् । आफैँलाई विवेचित हुन सिकाउँछन् र ताजा सुरुवात गर्न शक्ति दिन्छन् । यी किताब आ–आफ्ना क्षेत्रका मानक नै बनेका छन् । किताब यस्तो हुनुपर्छ भन्ने दृष्टान्त पनि हुन् यी किताब । 

  • जीवनमा तपाईंले कुनै पुस्तक चोर्नुभएको छ कि ? तपाईंको जिन्दगीमा पुस्तक हराएका वा चोरी भएका छन् कि ? 

मैले ठ्याक्कै चोरेको छैन तर किताब प्राप्तिका केही अनुभूति छन् । मेरो कार्यालका साथी विदेश जाँदा एउटा किताब किनेर ल्याउनुभएको थियो । एक दिन कार्यालयमा त्यो किताब कस्तो छ भनी मलाई देखाउनुभयो । साह्रै मन परेको, किन्ने सामर्थ्य (साठी स्टर्लिङ पौन्ड पर्ने) पनि नभएको र नेपालमा नपाइने भएकाले मैले तपाईंलाई यो दिन्नँ भनेँ । उहाँले के सोच्नुभयो, मलाई थाहा छैन, अहिलेसम्म माग्नुभएको छैन । मागे पनि दिन मन छैन । 

अर्को घटना, कार्यालयका एक साथीलाई मैले कुनै प्रकारको उपहार लिन्नँ भन्ने थाहा भएछ । त्यसैले दसैँको समयमा एउटा गतिलो किताब उपहार दिनुभयो । मैले त्यो किताब स्विकारेँ । मलाई आश्चर्य कसरी लाग्यो भने त्यो किताब मैले मन पराउँछु तर किन्न सकिनँ भन्ने उहाँलाई कसरी थाहा भएको होला ? बहुमूल्य किताब उपहार स्विकार्नु नैतिक आचरणले ठिक थियो र भन्ने प्रश्न मनमा उठ्ने गर्छ ।

भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले आफ्ना अनुभवसहित भारत विकासको यात्रा समेटेर लेखेको ‘चेन्जिङ इडिया’ ६ भोलुममा प्रकाशित छ । एक दिन अर्थमन्त्री, राजस्वसचिव र म बैठकमा थियौँ । उहाँहरूले यस पुस्तकबारे चर्चा गर्नुभयो । विदेशमा छापिएर नेपाल आउने किताबको पहिलो पाठक आफू हुन पाए हुने भन्ने लोभ ममा थियो । २७ हजार रुपैयाँ पर्ने त्यो किताब मैले बल्लबल्ल पाएँ । सचिवको हातपर्ने तलब ४५ हजार थियो । तलब लिए पनि मसँग २३ हजार मात्र थियो । त्यति दिएर किताब मागेँ, पसलेले दिए । नपुग चार हजार डिस्काउन्ट पाएँ ।

किताबमा डिस्काउन्ट पाइन्छ भन्ने त्यतिखेर थाहा भयो । त्यसपछि विदेशी किताब पाइने विक्रेतालाई नयाँ किताब आएपछि खबर गर्नुस्, मनपरेका किताब किन्छु, सके त्यतिखेर पैसा दिउँला नसकेपछि दिउँला भनेँ । उहाँले पनि हुन्छ भन्नुभयो । राम्रा किताब ल्याएर सिरानीमा राखेपछि आनन्द लाग्थ्यो । अहिले पनि राम्रो किताब पाउँदा, बाबुहरूले किन्डलमा नयाँ किताब लोड गरिदिँदा एक प्रकारको आनन्द आउँछ । 

अर्को एउटा दुःख लाग्ने प्रसङ्ग पनि छ । नेपाली कांग्रेसले बीपी पुस्तकालय स्थापना गरेर दलभित्र पठन संस्कृति विकास गर्ने सन्दर्भमा मसँग पनि किताबका लागि आग्रह गरियो । मैले आफूले लेखेका १४ पुस्तकका दुई–दुई प्रति र मैले उपहार पाएका साहित्य वा गैरसाहित्यका गरी एक हजार किताब दान गरेँ । अन्यत्र पनि किताब दान गर्दै आएको छु । जेन–जी आन्दोलनका क्रममा बीपी पुस्तकालय पनि जलाइएछ । मैले दिएका किताब र तिनका अक्षर खरानी भएको सुन्दा निकै दुःखी भएँ । कसैले चोरेको भए पनि ज्ञान पाउँथे, खरानी भए । 

  • आफूले खोजेको तर नभेटेको वा मुस्किलले भेटेको पुस्तक कुनै थियो कि ? थियो भने कसरी प्राप्त गर्नुभयो ?

साहसिक व्यक्तिका सङ्घर्षपूर्ण कथा भएको किताब खोजीखोजी पढ्ने गरेको छु । विलियम वर्डस्वर्थको ‘प्रेल्युड’, लर्ड वाइरनको ‘चाइल्ड ह्यारोल्डस् पिल्ग्रिमेज’, माया एन्जेलोको ‘माया एन्जेलो’, बेन्जामिन फ्रान्कलिनको ‘बेन्जामिन फ्रान्कलिन’, फ्रेडरिक डग्लसको ‘न्यारेटिभ अफ फ्रेडरिक डग्लस’, अन्ना फ्रेन्कको ‘डायरी अफ योङ गर्ल्स’, नेल्सन मन्डेलाको ‘लङ वाक् टु फ्रिडम’ र ‘कन्भरसेसन विथ माइसेल्फ’, ग्रेस ली बोग्सको ‘लिभिङ फर चेन्ज’, मोहनदास करमचन्द गान्धीको ‘माई एक्स्पेरिमेन्ट विथ ट्र्यु’, मिसेल ओबामाको ‘बिकमिङ’, मलाला युसाफजाईको ‘आई एम मलाला’, योगी परमहंश योगानन्दको ‘अटोग्राफी अफ अ योगी’, जोन्नी क्यासको ‘क्यास’, सिसिलिया आरागोनको ‘फ्लाइङ फ्री’, विश्वेश्वरप्रसाद कोइरालाको ‘आफ्नो कथा’ र ‘जेलजर्नल’, बिल क्लिन्टनको ‘माई लाइफ’, जवाहरलाल नेहरूको ‘मेरी कहानी’, ब्रिटनी स्पेयर्सको ‘द ओमन इन मी’ र नीना गुप्ताको ‘सच कहुं तो’जस्ता चर्चित आत्मकथा खोजी–खोजी पढेँ । 

म सानो हुँदा हजुरबुबाले अठार पुराण महाभारतको कथा पढ्दै सुनाउँदा महान् पात्रहरू कर्ण, बबरुबाण, द्रोणाचार्य, भीष्म, अर्जुन, अभिमन्यु उत्तरकुमार, भीम, अर्जुन, द्रौपदी, दुर्योधन, उलुपी, कृष्ण, नारद, सञ्जयहरूको साहसिक कथा मनमा सुरक्षित गरेको थिएँ ।

यी आत्मकथाले इतिहास, सङ्घर्ष, साहस र सफलताको शिक्षाका साथै समाजमा बाहिर नआएका कतिपय तथ्य उद्घाटन गरिदिएका छन् तर एडोल्फ हिटलरको ‘मेन कैम्फ’ (मेरो सङ्घर्ष) अहिलेसम्म पढ्न पाएको छैन । विश्व विजेता बन्न र आर्य संस्कृतिले विश्वमा राज गराउन लागेका हिटलरको कथा पढ्न औधि मन छ । माथि नै भने डा. मनमोहन सिंहको किताब पाउन समय लाग्यो । 

  • यहाँले पहिलोपटक पढेको ठुलो आकारको पुस्तक कुन हो ? त्यसबाट के पाउनुभयो ?

त्यस्तो सम्झना छैन । म सानो हुँदा हजुरबुबाले अठार पुराण महाभारतको कथा पढ्दै सुनाउँदा महान् पात्रहरू कर्ण, बबरुबाण, द्रोणाचार्य, भीष्म, अर्जुन, अभिमन्यु उत्तरकुमार, भीम, अर्जुन, द्रौपदी, दुर्योधन, उलुपी, कृष्ण, नारद, सञ्जयहरूको साहसिक कथा मनमा सुरक्षित गरेको थिएँ । त्यसले त्यतिबेला भन्नै नसकिने उत्साह भनौँ कि कुतूहल जागेको थियो । 

आफैँले पढेको पाठ्यक्रमको पुस्तकबाहेक ठुलो किताब शाकुन्तल हो जस्तो लाग्छ, तर स्योर छैन । शाकुन्तल पुस्तक महाकाव्य कस्तो हुन्छ भन्ने कुतूहलले पढेको थिएँ । देवकोटाले महाकाव्यलाई आइसल्यान्डको सर्प जसरी त्यति नलेखिएको दुर्लभ भनेकाले पनि उनैले छोटो अवधिमा लेखेको निकै राम्रो भन्ने सुनेकाले पढेँ, क्लिष्ट लाग्यो । 

  • तपाईंको सोचलाई नै बदल्न सफल कुनै पुस्तक छन् कि ? 

ठ्याक्कै भन्न सक्तिनँ । धेरै किताबले मेरो सोचवृत्ति परिस्कार गरेको होला । निकोस काजान्जाकिसको ‘जोर्बा द ग्रिक’ ले जीवनमा कसरी रमाउनुपर्छ भनेर बताएको छ । ओशोका कृति (प्रवचनमाला) ले विषयवस्तुमा भित्रसम्म पुगेर आलोचनात्मक दृष्टिकोण राख्न सिकाएका छन् । गोर्की र ओत्रोभ्स्कीले विद्रोह गर्न सिकाएका छन् । परवीन शाकिर र अमृता प्रीतमले माया गर्न सिकाएका छन् । 

माया एन्जेलो, भर्जिनिया उल्फ, विश्वेश्वर, पारिजात, दोस्तोभ्स्कीका कृतिले अन्तर्मनको विश्लेषण बुझाए । देवकोटाले स्वच्छन्दतामा निर्बाध उड्न सिकाएका छन् । 

खलिल जिब्रान, रमेश विकल, जेन अस्टिनहरूले हाम्रै वरिपरिका कथा र घटना टिपेर लेख्न सिकाएका छन् । हरारी, पिकेटी, नोम चोम्स्की, जिब्लान्ट, लेभित्स्की, एसिमोग्लु–रबिन्सनले सामाजिक विषयवस्तुप्रति दृष्टिकोण राख्न सिकाएका छन् तर पनि मलाई के लाग्छ भने कार्ल मार्क्सको ‘दास क्यापिटल’ र ओशोको ‘फ्रम सेक्स टु सुपरकन्सिसनेस’ले जति अन्य कुनै किताबले विश्वमा चर्चा पाएन । यी दुई किताबका पक्ष वा विपक्षमा विश्व जनमत नै विभाजित भयो । त्यस्ता किताब पढ्न पाए जीवनको दृष्टिकोण नै बदलिन्छ भन्ने लाग्छ । कति महान् मस्तिष्क थिए, ती जसले विश्वका सबै पाठकको मनलाई तहल्का मचाइदिए भन्ने सोच्ने गर्छु । 


साहित्य र गैरसाहित्यका पुस्तक प्रकाशित भएका छन् तर पठन संस्कृतिको विकास छैन, घट्दै गएको छ । प्रविधि र सामाजिक विमर्शका प्लेटफर्मले पठन संस्कृतिलाई अक्षर छापाबाट गैरछापामा पुर्‍याएको छ ।


  • यहाँलाई कुन कुराले लेख्नलाई बढी प्रेरित गर्छ ?

कुनै घटना वा पात्रले दिने स्ट्रोक्सले लेख्न अन्तर्ऊर्जा दिन्छ । समाज र परिवेशले नै मलाई लेख्नलाई प्रोत्साहन गर्दै आएको छ । नेपालका दुर्गम भेगको कला–संस्कृतिको वैभव, त्यहाँको चोखो जीवनशैली र जीवन धान्ने सङ्घर्ष देखेर मैले लेखेको छु । सशस्त्र द्वन्द्वका समयको छटपटीले कथा–निबन्ध लेखेको छु । द्वन्द्व समाधान भएपछि माओवादीले जबर्दस्त नेपाल बन्द गरेको दिन बिजुली बजारमा एक विद्यार्थीको नयाँ मोटरसाइकल जलाइदिए । कसैले केही भनेनन् । जलाउनेलाई क्रान्तिकारी मनोरञ्जन भो होला, विषमको भने रहर–पसिना सबै जल्यो । मन थाम्न सकिनँ, घर आउनेबित्तिकै विषमको मोटर साइकल लेखेँ । 

जेन–जी आन्दोलनका समयमा धमाधम सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतजस्ता इमारत जलाएपछि मन थाम्न सकिनँ, रोएँ र ‘इमारत जले, मन जल्यो’ निबन्ध लेखेँ । सरकारी जिम्मेवारीमा रहँदा सुधार योजना ल्याउन बाधा पुगेपछि कथा–निबन्ध लेखेको छु । परिस्थितिले मनलाई ‘क्याथर्सिस’ गर्न सिकायो, त्यसैले प्रेरणा दियो भनौँ न । 

  • नेपालको पठन संस्कृति कस्तो पाउनुहुन्छ ? आजका पाठकलाई के सुझाव दिन चाहनुहुन्छ ?

साहित्य र गैरसाहित्यका पुस्तक प्रकाशित भएका छन् तर पठन संस्कृतिको विकास छैन, घट्दै गएको छ । प्रविधि र सामाजिक विमर्शका प्लेटफर्मले पठन संस्कृतिलाई अक्षर छापाबाट गैरछापामा पुर्‍याएको छ । पठन संस्कृति अर्कै बाटोमा मोडिएको छ । यस अवस्थामा पठन संस्कृति विकास गर्न पाठकको मनलाई क्याप्चर गर्ने, उनीहरूको रुचि समाउने र बिस्तारै सामाजिकतातर्फ बढाउने गरी लेखन गर्नुपर्छ । जस्तो पनि लेख्ने र लेखक र स्रष्टा बन्ने रहरले पाठक मन अन्यत्र गएको छ ।

‘अक्षरको मन’ भित्रका २२ निबन्धभित्र उच्छवास छ, आक्रोश छ, असहमति छ, अपेक्षा छन् र स्वैरकल्पना छरपस्ट छन् ।

पहिलो त लेखकहरू दायित्वमा रहनुपर्‍यो । दोस्रो, पाठकहरूमा पनि छानिएका सिर्जना पढ्ने, पठनसेवा प्रदायकलाई पाठक रुचि अनुसार सामग्रीहरू वर्गीकृत रूपमा उपलब्ध गराउने कार्य भएमा पठन संस्कृति बढाउन सकिन्छ । पठनसामग्री श्रव्यदृश्यमा राख्ने, अडियो पोडकास्टमा राख्ने काम पनि हुनुपर्छ । अनि पाठकहरू छानी–छानी पढिहाल्छन् नि । अहिलेका स्रष्टाले लेख्ने मात्र गरेका छन् तर पाठकलाई भुलेका छन् । 

  • भर्खरै यहाँको पछिल्लो कृति ‘अक्षरका मन’ पाठकसामु आएको छ । यस पुस्तकका बारेमा केही बताइदिनु न ।

‘अक्षरको मन’ मेरो पाँचौँ निबन्ध र नवौँ साहित्यकृति हो । मलाई साहित्यका अन्य विधाभन्दा निबन्ध लेख्न मनपर्छ, म निबन्धमा पूरा खुल्न सक्छु । यो अहिले अलि पछि परेको विधा पनि हो । लेखकहरू जे लेखे पनि गैरआख्यान लेखाइलाई निबन्ध भनिरहेका छन्, जुन उचित होइन । मेरा लागि निबन्ध महान् विधा हो । मैले २०३८ तिर लेखेको निजात्मक निबन्ध ‘अवसाद अभिनयी’मा बालमनोविज्ञान र स्वच्छन्दताका अभिव्यक्तिलाई स्थान पाएका थिए । त्यो निबन्ध लेख्ने उद्दाम रहरको परिणाम थियो । ‘अपेक्षा र अनुभूति’मा सामयिक विषयको विश्लेषण गरेँ । ‘घाउ आफैँलाई दुख्छ’मा भने मनभित्रका तरेली, संवेग–आवेगका मेलानकालीलाई शब्दविम्बमा राखेँ । ‘अक्षरको मन’मा पनि ‘घाउ आफैँलाई दुख्छ’कै स्वच्छन्दतालाई निरन्तरता दिएको छु । यो मन र मस्तिष्कले लेखेको निबन्धहरूको सङ्ग्रह हो । 

‘अक्षरको मन’ भित्रका २२ निबन्धभित्र उच्छवास छ, आक्रोश छ, असहमति छ, अपेक्षा छन् र स्वैरकल्पना छरपस्ट छन् । निबन्धमा म बाँचेको समाज, समय र जीवनको विम्ब छ । बिहानसँग जन्मिने जीवन, फूलसँगको प्रतिस्पर्धा, फोक्सुण्डोजस्ता निबन्धहरूमा प्रकृतिविम्ब जीवनको अर्थ खोजेको छु । शब्दशक्ति सधैँ प्रतिपक्षी, के शिक्षा के दीक्षा, शिक्षक त सधैँ महान् हुन्छ, रहर, बिचरा जेन–जी र अल्फा जेन, सधैँ हार्नुपर्ने, अक्षरभित्रको मन र मनभित्रको अक्षर, पुस्तकले गराएको परिचय, सार्वभौम बन्दै अल्गोरिदम, जीवनको अर्थ खोज्नेहरू, हुलाक त हराएछ, अर्जुनको आत्मदाहहरूमा भने मनभित्र छचल्किएका कुराका माध्यमबाट समय, समाज र शासनको चित्रण गरिएको छ । 

ती स्वैरकल्पना मात्र होइनन्, मनभित्रको मानिसका यथार्थ विम्ब हुन्, प्रतिक्रिया र अपेक्षा पनि हुन् । जीवनमा भोगिएका घटनाको भावनाजन्य प्रतिक्रियाका रूपमा निबन्ध जन्मिएका छन् । निबन्धमा धेरै प्रश्न छाडिएका छन् । निबन्धको केन्द्रस्थमा म आफैँ छु । त्यसैले ‘अक्षरको मन’मा आफैँ अभिव्यक्त छु, मेरा निबन्ध म आफैँ हुँ । मन–मस्तिष्कमा अचानक आउने स्ट्रोक्सका कारण पैदा भएका तरङ्गले निबन्धका रूप लिएका छन् । ती तरङ्गले निर्बाध निकास खोज्दा रहेछन्, अन्तरबाट अटेस्मटेस हुर्रिएर, छचल्किएर, बयेलिएर, मडारिएर आएका तरङ्गमध्ये केही उठाएर अक्षरमा राखेको हुँ, सबै उठाउन न शब्दले सम्मति दिए, न मेरो सामर्थ्यले भ्यायो । अक्षरको मनमा अक्षर आकृति भएर, सङ्ेकत भएर, तरङ्ग र अभिव्यक्ति भएर आएका छन् । अक्षर अर्थ र आफैँमा मन्त्र हुन् । ‘अक्षरको मन’ अन्तर्मनको मानिस हो, अर्थ र अभिव्यक्ति हो । अभिव्यक्ति नबोक्दा पनि अक्षर मनको विम्ब हो, सधैँ जीवन व्यक्तिन कहाँ सक्छ र ? अक्षर जीवन हो । अक्षर चैतन्य हो, ब्रह्म हो । ‘अक्षरको मन’ त्यही हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप