बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एकीकृत समाजवादीको सचिवालय बैठकमा पार्टी एकताबारे छलफल हुने

आइतबार, २६ असोज २०८२, १० : १८
आइतबार, २६ असोज २०८२

सारांश

  • नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आइतबार बस्दैछ, जसमा पार्टी एकता र निर्वाचनबारे छलफल हुनेछ।
  • बैठकमा निर्वाचनको कार्ययोजना, पार्टी एकतासम्बन्धी रिपोर्टिङ र सङ्गठनात्मक सवालमा छलफल हुनेछ।
  • पार्टी एकताका लागि माओवादीलगायतका दलहरूसँग छलफल भइरहेको छ, जसमा सम्मानजनक र समानताको आधारमा एकताको कुरा छ।

काठमाडौँ । पार्टी एकता, निर्वाचन लगायतका विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आइतबार बस्दैछ ।

शुक्रबार सुरु भएको बैठकको निरन्तरतास्वरुप आज पनि बैठक बस्न लागेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए । बैठक ११ बजेपछि बस्दैछ ।

उनका अनुसार पहिलो दिनको बैठकमा केही नेताहरूले पछिल्लो राजनीतिक अवस्थाको रिपोर्टिङ मात्र गरेको र आज ती विषयहरूमा छलफल गरेर निर्णयमा पुग्ने तयारी छ ।

बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक परिस्थितिको अलावा निर्वाचनको कार्ययोजना, पार्टी एकतासम्बन्धी रिपोर्टिङ र सङ्गठनात्मक सवालमा छलफल हुनेछ । सङ्गठनात्मक सवालमा केन्द्रीय कमिटीको बैठक र एजेन्डाका विषयमा पनि निर्णय गर्ने तयारी छ ।

निर्वाचनसम्बन्धि तयारी र कार्ययोजना बनाउन सो पार्टीले महासचिव घनश्याम भुसालको नेतृत्वमा कार्यदल बनाएको थियो ।

शुक्रबारको बैठकमा नेता बेदुराम भुसालले एकताबारे सामान्य रिपोर्टिङ गरेका थिए । उनको रिपोर्टिङमा माओवादीसँग एकता गर्न सैद्धान्तिक र कार्य क्रमिक रूपमा कुनै समस्या नरहेपनि सांगठानिक विषयमा थप गृहकार्य गर्नुपर्ने आवश्यकता औँल्याएको एक सचिवालय सदस्यले जानकारी दिए ।

पछिल्लो समय एकीकृत समाजवादी, माओवादी, नेकपा र नेसपा लगायतका पार्टीसँग एकताका तीव्र छलफल अघि बढेको छ ।

उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टी एकताका लागि सकारात्मक छलफलहरू भइरहेको बताए ।

‘समाजवादी मोर्चामा रहेका दलहरूबिच पार्टी एकताका लागि छलफल भइरहेको छ’, खतिवडाले भने, ‘सम्मानजनक र समानताका आधारमा एकता हुनुपर्छ भन्ने छ ।’ उनले पार्टीका नाम र चुनाव चिह्नका सवालमा समेत कुनै विवाद नरहेको बताए ।

‘नेकपा एकीकृत समाजवादीका सबै नेता कार्यकर्ता एकीकरणको प्रवाहमा सामेल हुनेछन्’, खतिवडाले भने, ‘अहिले आन्तरिक रूपमा विचार विमर्श गर्ने क्रममा सबैको सकारात्मक सोच देखिएको छ ।’

उनले एकताका क्रममा एकले अर्कोलाई निल्ने नभई मिल्नेबारेमा छलफल भइरहेको बताए ।

‘निल्ने नभई मिल्ने कुरा भइरहेको छ । नयाँ नाम र नयाँ चुनाव चिह्नमा गएर भएपनि कम्युनिस्टहरू एक ठाउमा उभिनुपर्छ भन्ने पवित्र भावनाले काम भइरहेको छ’, खतिवडाको भनाइ छ ।

स्रोतका अनुसार पार्टी एकता गर्दा सांगठानिक सवालमा एकीकृत पार्टीमा दुई अध्यक्ष वा अध्यक्ष अथवा उपाध्यक्षसहित सचिवालय राखेर जान सकिने विकल्पबारे नेताहरूबिच अनौपचारिक छलफल भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप