बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शान्ति प्रस्तावबाट असन्तुष्ट नेतन्याहुलाई ट्रम्पले कसरी मनाए ?

आइतबार, २६ असोज २०८२, १४ : २४
आइतबार, २६ असोज २०८२

सारांश

  • गाजामा युद्धविराम भएसँगै हमासले इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्भावना बढेको छ, जसले द्वन्द्व अन्त्यको बाटो खोल्न सक्छ।
  • ट्रम्पले इजरायल र हमासलाई शान्ति सम्झौताका लागि 'मरेको बिरालो' कूटनीतिको प्रयोग गरे, जसले दुवै पक्षलाई सहमत गरायो।
  • यो रणनीतिमा विवाद समाधान नभए वार्ताकारको जिद्दीलाई दोष लगाइन्छ, जसले गर्दा देशहरू सम्झौता गर्न बाध्य हुन्छन्।
00:00 / NaN:NaN
Audio By AI

वासिङ्टन डिसी । यतिबेला गाजामा युद्धविराम भइसकेको छ । सोमबार हमासले इजरायली बन्धकहरूलाई रिहा गर्न सक्ने सम्भावना पनि छ । यस्तो भयो भने पश्चिम एसियामा दुई वर्षदेखि चलिरहेको द्वन्द्वको अन्त्य हुनेछ र स्थायी शान्ति स्थापना गर्ने बाटो खुल्नेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शान्ति फर्काउन २० बुँदे शान्ति प्रस्ताव तयार पारेका थिए । उनको यो प्रस्तावमा इजरायल र हमास दुवै पक्ष सहमत भए । अन्ततः पहिलो चरणको युद्ध विराम सम्झौता पनि भयो । यद्यपि, यो गराउन त्यति सजिलो थिएन । समस्या के थियो भने हमास र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू दुवै शान्ति प्रस्तावप्रति त्यति बिघ्न उत्साहित थिएनन् । यस्तोमा ट्रम्पले नेतन्याहूलाई युद्ध विराम गर्न सहमत हुन कसरी मनाए ?

के हो ‘मरेको बिरालो’ कूटनीति ?

मिडिया रिपोर्टहरूका अनुसार ट्रम्पले नेतन्याहूलाई २० बुँदे शान्ति प्रस्तावका कम्तीमा केही बुँदामा हमास सहमत भयो भनेर अक्टोबर ४ मा नै जानकारी गराएका थिए । त्यतिबेला नेतन्याहूको प्रतिक्रिया ‘उत्सव मनाउनुपर्ने केही छैन र यसको कुनै अर्थ छैन’ भन्ने थियो ।

रिपोर्टहरूका अनुसार यो देखेर अमेरिकी राष्ट्रपतिले भनेका थिए, ‘मलाई थाहा छैन तपाईं किन सधैं यति बिघ्न नकारात्मक हुनुहुन्छ । यो जित हो । यसलाई स्वीकार गर्नुहोस् ।’ पछि, ट्रम्प र नेतान्याहू बिचको यो निजी कुराकानी लिक भयो । यसलाई रणनीतिक रूपमै लिक गरिएको विश्वास गरिन्छ । केही गरी शान्ति वार्ता असफल भयो भने नेतन्याहूको जिद्दी अडानका कारण शान्ति सम्झौतामा पुग्न सकिएन भन्न मिल्थ्यो । तर नेतान्याहूमाथि ट्रम्पले दबाब बढाइएको स्पष्ट थियो ।

अन्तर्राष्ट्रिय विज्ञहरूले यसलाई ‘मरेको बिरालो’ कूटनीति भनेर उल्लेख गर्छन् । यो नीतिको  प्रवर्तक १९८९ देखि १९९२ को बीचमा अमेरिकाका विदेशमन्त्री रहेका जेम्स बेकर हुन् । बेकरले १९९१ मा म्याड्रिड शान्ति सम्मेलनमा भाग लिन सिरियाली, इजरायली र प्यालेस्टिनी नेताहरूलाई मनाउन यो रणनीति प्रयोग गरेका थिए ।

यस रणनीति अन्तर्गत केही गरी विवाद समाधान भएन भने एउटा वार्ताकारको जिद्दीमाथि यसको सारा दोष थोपरिन्छ । अन्तर्राष्ट्रिय आलोचनाबाट बच्न कुनै पनि देशले सारा दोष आफूले बोक्न चाहँदैन र सहमति गर्न । यो रणनीति प्रायः सफल हुने गरेको छ ।

बेकर म्याड्रिड शान्ति सम्मेलनमा वार्ताका लागि मध्यपूर्वको भ्रमणमा गएका थिए । यसक्रममा उनले अरब देशका नेताहरूलाई आफ्नो निराशा व्यक्त गर्दै भने– ‘म त थाकी सकेको छु, तपाईंहरूको आपत्ति कहिल्यै सकिँदैन ।’ यसक्रममा उनले ‘मरेको बिरालो आफ्नो ढोकामा मर्न नदिनुस्’ भन्ने उखान भनेका थिए । केही गर्दा पनि नभएपछि बेकरले वार्ता अन्त्य गर्ने धम्की दिए । 

यसले अरब र इजरायली नेतृत्वमा दबाब उत्पन्न भयो र उनीहरू सबै म्याड्रिड शान्ति सम्मेलनमा भाग लिन सहमत भए । अहिले आएर ट्रम्पले पनि उही रणनीति प्रयोग गरे । राष्ट्रपतिको कुर्सीमा बस्नुअघि नै केही हप्तामै गाजा युद्ध अन्त्य गरेर देखाइदिन्छु भनेर ट्रम्पले भनेका थिए । दोस्रो पटक सत्तामा आएपछि ट्रम्पले गाजा र युक्रेन युद्ध अन्त्य गर्न कुनै कसर बाँकी राखेका थिएनन् ।

ट्रम्पले युद्ध अन्य गर्न हमासलाई पनि बारम्बार अल्टिमेटम दिइरहे । अन्ततः गाजामा शान्ति स्थापना गर्न ट्रम्पले ‘मरेको बिरालो’ रणनीतिको प्रयोग गरे । यसको प्रभाव देखियो । असन्तुष्ट हुँदाहुँदै पनि दुवै पक्ष शान्तिमा सहमत भए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप