बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
जाहेरी भर्सेस जाहेरी

बालेन–सुदनविरुद्ध ठाउँ ठाउँमा काउन्टर जाहेरी, कसरी अघि बढ्दै छ ?

आइतबार, २६ असोज २०८२, १५ : ००
आइतबार, २६ असोज २०८२

सारांश

  • सुदन गुरुङले पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्न दबाब बढाएका छन्, मृतक परिवारको तर्फबाट हत्या मुद्दामा कारबाहीको माग छ।
  • अनेरास्ववियु र नेविसंघले बालेन शाह र सुदन गुरुङविरुद्ध विभिन्न प्रहरी कार्यालयमा जाहेरी दिएका छन्, सार्वजनिक सम्पत्ति तोडफोड र युवा हत्याको आरोप लगाइएको छ।
  • प्रहरीले जाहेरी उपर महान्यायाधिवक्ताको कार्यालयसँग राय लिएर निर्णय लिने र घटनाबारे आउने जाहेरीलाई निषेध गर्न नमिल्ने जनाएको छ।

काठमाडौँ । जेनजी अगुवा सुदन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनको क्याबिनेटका गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब बढाएका छन् । उनको समूहले भदौ २० मा साँझ जिल्ला प्रहरी परिसर काठमाडौँमा गएर ओली र लेखक विरुद्ध जाहेरी दिएका थिए ।

जेनजी प्रदर्शनमा मृत्यु भएका पुरुषोत्तम खतिवडा, ईश्वर बहादुर अधिकारी, अमेरिका कुमारी चौधरी र गणेश चौलागाईंको परिवारलाई साथमा लिएर गुरुङ प्रहरीकहाँ गएका थिए । मृतक परिवारको तर्फबाट प्राप्त जाहेरीमा ओली र लेखकलाई आन्दोलन दमन गरेको भन्दै ‘हत्या’ मुद्दामा कारबाही गर्न माग गरिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीसँग सुरक्षा प्रमुखहरूले छलफल गरेपछि थप जोखिम बढ्न सक्ने भन्दै सो जाहेरी काठमाडौँ प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठायो । विशेष अदालतका पूर्वअध्यक्ष कार्की नेतृत्वको आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विन्देश्वरी भण्डारी सदस्य छन् ।

अखिलले जेनजी प्रदर्शनको क्रममा भदौ २३ र २४ मा भएको सार्वजनिक सम्पत्ति तोडफोड, युवा हत्या र जासुसी गरेको विषयमा उनीहरूलाई कारबाही गर्न माग गरेको छ ।

तर, आयोगले सो जाहेरी फेरी प्रहरीलाई नै फिर्ता पठाइदियो । जाँचबुझ आयोगले फिर्ता गरेसँगै प्रहरीलाई सो जाहेरीमाथि निर्णय गर्नैपर्ने बाध्यता छ ।

सुदन समूहको जाहेरीको विरुद्धमा कांग्रेसको विद्यार्थी संगठन नेविसंघ र नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियु तथा राष्ट्रिय युवासंघले ‘काउन्टर जाहेरी’ पेस गरिरहेका छन् ।

असोज २१ मा अनेरास्ववियुले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र जेनजी अगुवा सुदन गुरुङ विरुद्ध जिल्ला प्रहरी परिसरमा जाहेरी दिए । अनेरास्ववियुले ल्याएको जाहेरीमा स्पष्टता नभएको भन्दै सच्याएर ल्याउन भनिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । उनले भने, ‘केरमेट गरिएको जाहेरी थियो, सच्याएर ल्याउन भनेका छौँ ।’

अखिलले जेनजी प्रदर्शनको क्रममा भदौ २३ र २४ मा भएको सार्वजनिक सम्पत्ति तोडफोड, युवा हत्या र जासुसी गरेको विषयमा उनीहरूलाई कारबाही गर्न माग गरेको छ ।

अनेरास्ववियुले बालेन र सुदन विरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पनि जाहेरी दिएको छ । राष्ट्रिय युवासंघले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी र दाङमा ज्ञानपन पत्र बुझाएको छ । नेपाल विद्यार्थी संघले जिल्ला प्रहरी परिसर ललितपुरमा काठमाडौँका मेयर बालेन साह र हामी नेपालका संस्थापन गुरुङलाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै जाहेरी दिएका छन् । नेविसंघले भदौ २३ र २४ को प्रदर्शनमा विद्यार्थीलाई युनिफर्मममा आन्दोलनमा जान उकासेको र घुसपैठ गराएर सार्वजनिक सम्पत्ति ध्वस्त बनाएको आरोप लगाएको छ । जाहेरीमा भनिएको छ, ‘जेनजी प्रदर्शनमा भएको लुटपाटको जिम्मेवार साह र गुरुङ हुन् ।’

घटनाबारे आउने जाहेरीलाई निषेध गर्न नमिल्ने उल्लेख गर्दै डीआईजी घिमिरेले भने, ‘त्यसबारे तामेलीमा राख्ने वा मुद्दा नचलाउने निर्णय गर्ने अधिकार अनुसन्धान अधिकृत र सरकारी वकिलसँग हुन्छ ।’

राष्ट्रिय युवासंघले बाँकेमा दिएको काउण्टर जाहेरीबारे सरकारी वकिल कार्यालयको सल्लाह लिएर निर्णय लिइने लुम्बिनी प्रदेशका डीआईजी राजेन्द्र प्रसाद भट्टले बताए । उनले भने, ‘जिल्ला स्तरमा सरकारी वकिलसँग समन्वय गर्छौँ, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबाट आउने निर्देशन अनुसार अघि बढाउँछौँ ।’

मकवापनुरमा अनेरास्ववियुले दिएको जाहेरी उपर प्रहरीले कुनै निर्णय गरेको छैन । जाहेरीबारे मकवानपुरका एसपी सुवास बोहरा भन्छन्, ‘घटनास्थल काठमाडौँमा भएको हुनाले जाहेरीमा किटान गरिएका व्यक्तिउपर यहाँबाट अनुसन्धान गर्ने अवस्था हुँदैन ।’

बाले र सुदन विरुद्ध काठमाडौँमा विरुद्ध युवराज सफलले पनि जाहेरी दिएका छन् । देशभरका प्रहरी कार्यालयहरूमा जाहेरी आउने क्रम जारी रहेको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले बताए । जाहेरी अघि बढाउनेबारे महान्यायाधिवक्तासँग छलफल गरिने डीआईजी घिमिरेले बताए । उनले भने, ‘महान्यायाधिवक्ताको कार्यालयसँग राय लिएर जाहेरीबारे निर्णय लिन्छौँ ।’

घटनाबारे आउने जाहेरीलाई निषेध गर्न नमिल्ने उल्लेख गर्दै डीआईजी घिमिरेले भने, ‘त्यसबारे तामेलीमा राख्ने वा मुद्दा नचलाउने निर्णय गर्ने अधिकार अनुसन्धान अधिकृत र सरकारी वकिलसँग हुन्छ ।’

आफू विरुद्ध लगातार जाहेरी परेको विषयमा हामी नेपालका संस्थापक गुरुङले सार्वजनिक रूपमा भनेका छन्, ‘ युवा संघ र अनेरास्ववियुलाई भन्न चाहन्छु, देश परिवर्तन गर्ने भए हामीलाई साथ दिनुस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप