बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

६ दिन बित्यो, नयाँ दल दर्ता गर्न आएनन् कोही

आइतबार, २६ असोज २०८२, १५ : ३१
आइतबार, २६ असोज २०८२

सारांश

  • निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कात्तिक ३० गतेसम्म नयाँ दल दर्ता गर्न समय तोकेको छ।
  • आयोगको सूचना प्रकाशित भएको एक साता बितिसक्दा पनि नयाँ दल दर्ताका लागि निवेदन भने परेको छैन।
  • आयोगका प्रवक्ताका अनुसार केही व्यक्तिले दल दर्ताको प्रक्रियाबारे सोधपुछ गरेका छन्, तर निवेदन परेको छैन।

काठमाडौँ । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कात्तिक ३० गतेसम्म नयाँ दल दर्ता गरिसक्न निर्वाचन आयोगले समयसीमा तोकेको छ ।

तर आयोगले यस्तो सूचना निकालेको एक साता पुग्नै‌ लाग्दा पनि एउटा पनि नयाँ दलले दर्ताका लागि निवेदन दिएका छैनन् । आयोगले गत असोज २० गते सूचना निकालेको थियो, जसअनुसार कात्तिक ३० गतेसम्म नयाँ दल दर्ता गरी प्रमाणपत्र लिइसक्न भनिएइको छ । 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यसबारे पुष्टि गरेका हुन् ।  ‘सूचना प्रकाशित गरेको एक साता बित्न लाग्यो, तर अहिलेसम्म कसैको पनि निवेदन आएको छैन,’ भट्टराईले भने, ‘आयोगले आउनुस् भन्ने र जानकारी दिने काम गर्ने हो, आएपछि कानुन हेरेर दर्ता प्रक्रियामा लैजाने हो ।’

उनका अनुसार नयाँ दल दर्ताका लागि सोधपुछ भने भइरहेको छ ।

‘केही व्यक्तिहरूले दल दर्ताको प्रक्रिया के हु‍न्छ, कसरी गर्नुपर्छ भनेर सोधपुछ गर्नुभएको छ,’ भट्टराईले भने । परेका निवेदनमाथि आयोगले अध्ययन गरिरहेको र पूरा गरेर दर्ता गरिने उनले बताए । समय अझै धेरै बाँकी भएकाले पनि नयाँ दल दर्ताका लागि निवेदन पर्नसक्ने उनको अनुमान छ । ‘यो बिचमा चाडबाड पनि भएकाले निवेदन आइनसकेको हुन सक्छ,’ भट्टराईले बताए । 

आयोगले सूचना प्रकाशित गर्नुअघि भने असोजमै दुई वटा दल दर्ताका लागि निवेदन परेका थिए । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि तीन दुई दल दर्ताका लागि निवेदन दिन आएको प्रवक्ता भट्टराईले जानकारी दिए । 

‘एउटा धरानका मेयर हर्क साम्पाङको र सुरेन्द्र भण्डारीका तर्फबाट दल दर्ताको निवेदन प्राप्त भएको छ,’ भट्टराईले भने, ‘त्यसबाहेक जेनजी आन्दोलनअघि नै आएका केही निवेदन पनि रहेका छन् ।’ 

साम्पाङले असोज ७ गते निर्वाचन आयोगमा ‘श्रम संस्कृति पार्टी’ नामक दल दर्ताका लागि औपचारिक निवेदन दिएका थिए, उनले दलको अध्यक्ष आफैं रहने प्रस्तावसहित निवेदन आयोगमा पेस गरेका हुन् । त्यस्तै असोज ९ गते वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नयाँ राजनीतिक दल ‘नेपाल नागरिक पार्टी’ दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

हेर्नुहोस् आयोगको सूचना 

naya-dal

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप