शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
गोलार्द्ध

विश्वकै सबैभन्दा गोप्य संस्था– सीआईए उदयको कथा

जसले राज्य सत्ताको आधुनिक इतिहासमै सबैभन्दा धेरै संगठित तस्करी, हत्या र ‘कु’ गरेको छ
सोमबार, २७ असोज २०८२, ०८ : ००
सोमबार, २७ असोज २०८२

सारांश

  • सीआईए, अमेरिकाको गोप्य गुप्तचर संगठन, शीतयुद्धदेखि आतंकवादविरुद्धको युद्धसम्म प्रभावशाली रह्यो।
  • १९४५ मा स्थापना भएको सीआईएले गोप्य अपरेसन, हस्तक्षेप र सूचना संकलनमार्फत अमेरिकी हित रक्षा गर्यो।
  • प्रविधि र प्रविधि कम्पनीहरूसँगको सहकार्यले सीआईएको क्षमता बढायो, तर चीनसँगको प्रतिस्पर्धा नयाँ चुनौती हो।

यो संस्था संसारको सबैभन्दा गोप्य संगठन हो । यसलाई ‘ब्ल्याक बजेट’ मार्फत् चलाइन्छ, जसमा शक्ति र स्रोतहरूलाई सार्वजनिक गर्नु नपर्ने खाता एवं छद्म कम्पनी प्रयोग गरेर अघि बढाइन्छ । शीतयुद्धमा विदेशी नेताहरूलाई सत्ताच्युत गर्नेदेखि, कोभर्ट अप्रेसन गर्ने, आतङ्कवादविरुद्धको युद्धमा एल्गोरिदम र ड्रोन प्रयोग गर्नेसम्म सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) अमेरिकाको अन्तिम र अत्यन्त प्रभावशाली केन्द्रीय गुप्तचर संगठन हो ।

सन् १९४५मा दोस्रो विश्वयुद्धको आगो निभ्दै थियो र भग्नावशेषको अघिल्तिर उभिएर युरोपको पुनर्निर्माणलाई कसरी अघि बढाउने भनेर राजनीतिक र सैन्य छलफल विभिन्न मेचमा केन्द्रित हुँदै थिए । समग्रमा युरोप खण्डहरबाट उठ्न खोज्दै थियो । प्रशान्त महासागर आणविक बमको छायामा डढिरहेको थियो र विश्वको शक्ति सन्तुलनले कोल्टे फेर्न खोज्दै थियो ।

सोभियत लाल सेना युरोपको आधा भूभागमा मार्चपास गरिरहेको थियो । स्टालिनको वर्चश्व वारसा (पोल्याण्ड) देखि बुखारेस्ट (रोमानिया) सम्मका झन्–झन् गाढा हुँदै गइरहेको थियो । विश्वको अर्को ध्रुवमा उदाउँदै गरेको भावी महाशक्ति अमेरिकाका लागि यो खतराको सङ्केत थियो तर, अमेरिकाले सोभियत संघको शक्ति अझै डरलाग्दो गरी महसुस गरिसकेको थिएन ।

त्यतिवेलासम्म अमेरिकी सरकारसँग ‘अफिस अफ स्ट्राटेजिक सर्भिसेस’ (ओएसएस) भन्ने संस्था थियो । युद्धका समयमा यो संस्थाले छद्म रूपमा काम गर्ने गर्थ्यो— शत्रुको प्रभाव क्षेत्रभित्र एजेन्ट पठाउने, नाजीहरूको ‘सप्लाई चेन’लाई भताभुङ्ग पार्नेजस्ता काम यसले निपुणतासाथ गरिरहेको थियो, तर ती सबै अपरिपक्व थिए । मस्कोको गुप्तचर सञ्जाल त्योभन्दा धेरै संगठित र व्यवस्थित थियो । कतिसम्म भने बेलायतको एमआई–६ ले पनि अमेरिकालाई सबै कुरा भन्दैनथ्यो । स्पष्ट शब्दमा भन्दा अमेरिका सैनिक शक्तिको भरमा युद्धहरू जित्दै थियो, न कि उत्कृष्ट गुप्तचर क्षमताको आधारमा ।

सन् १९४५ अप्रिलमा ह्यारी ट्रुम्यानले अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण गरे । ऐतिहासिक क्याबिनेट कोठामा उपराष्ट्रपति ट्रुम्यानले राष्ट्रपतिको शपथ ग्रहण गरेका थिए । प्रारम्भमा उनले ओएसएसलाई पारदर्शी संस्था नभएको भन्दै बन्द गरिदिए, तर छिटै अमेरिकालाई बलियो र सक्षम गुप्तचर संस्था चाहिन्छ भन्ने उनलाई बोध भयो ।

13_Harry S. Truman

त्यसपछि वासिङ्टनका गल्लीहरूमा एउटा नयाँ नीतिगत संकल्पले जन्म लियो ।

राष्ट्रपति ट्रुम्यानको निर्देशनमा अमेरिकी इतिहासमै एउटा अभूतपूर्व संस्थाको निर्माण गरियो– जसको काँधमा अमेरिकी हित रक्षाका लागि संसारभरि छद्म युद्ध लड्ने जिम्मेवारी थियो । यो उद्देश्य पूरा गर्न भर्खरै गठित राष्ट्रिय सुरक्षा परिषद्भित्र एउटा सानो समूह गोप्य छलफलमा जुट्यो । त्यही समूहको सल्लाहमा नयाँ संस्थाले जन्म लियो, जसको नाम थियो– सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ।

  • आखिर सीआईए नै किन ?

संस्थाको उद्देश्य थियो– गुप्त सूचनाहरू संकलन गर्ने, देशको सीमा बाहिर कोभर्ट अप्रेसनहरू सञ्चालन गर्ने तथा आवश्यक परे अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेर भए पनि अमेरिकाको हित रक्षाका लागि काम गर्ने ।

त्यसपछि सन् १९४७ को राष्ट्रिय सुरक्षा ऐनले सीआईएको स्थापना गर्‍यो । ऐन हतारमा पारित गरिन्छ । त्यसले केही समय अमेरिकाभित्र विवाद पनि सिर्जना गर्छ, तर राष्ट्रिय सुरक्षाको छायामुनि सबै कुरा ओझेलमा पर्छन् । सीआईएको अधिकार क्षेत्र निकै फराकिलो र अस्पष्ट छ– ‘राष्ट्रिय सुरक्षा परिषद्को निर्देशनअनुसार कुनै पनि कार्य गर्न सक्ने ।’

यही वाक्यांशले स्थापनादेखि नै सीआईएलाई अपरिमित लचिलोपना र शक्ति प्रदान गर्छ ।

1

सीआईएका अघिल्तिर भावी दिनको उद्देश्य स्पष्ट थियो– विश्वभर एजेन्ट र गोप्य सूचना दिनेहरूको सञ्जाल निर्माण गर्ने । अमेरिकी स्वार्थ अनुरुप काम नगर्ने सरकारहरूलाई सत्तापलटमार्फत् उल्ट्याउन विदेशी भूमिमा गोप्य कार्यदल गठन गर्ने । अन्तर्राष्ट्रिय जनमत निर्माण गर्न बलियो प्रचारयन्त्र निर्माण गर्ने र यी सबै काम गर्दा राष्ट्रपतिप्रति उत्तरदायी हुने, न कि संसद् र जनताप्रति ।

तर, यस्तो काम गर्ने क्रममा व्यावहारिक समस्या देखा पर्‍यो । यस्तो खाले शक्ति निर्माण गर्न र परिचालन गर्न पैसा चाहिन्थ्यो । मनग्य पैसा । खुला रूपमा अत्याधिक ठुलो रकम माग गर्दा सिनेटमा, जनताका बिचमा प्रश्न उठ्न सक्थ्यो र संस्थापकहरूले त्यसको जबाफ दिन अप्ठ्यारो पर्न सक्थ्यो । त्यसैले नयाँ विधिको खोजी गरियो । त्यसको नाम थियो– ‘मार्शल प्लान’ ।

दोस्रो विश्वयुद्धपछि युरोप पूर्णरूपमा ध्वस्त थियो । लाखौँ मानिस गाँस–बासको अभावमा निराशासँग जुध्न बाध्य थिए । अमेरिकी सहयोगविना युरोपमा अराजकता र साम्यवादसँग जुध्ने कुनै जुक्ति त्यतिवेलासम्म फेला पर्न सकेको थिएन । सीआईएका रचयिताहरूका लागि यो राम्रो अवसर थियो ।

यो प्रस्ताव राष्ट्रपति ट्रुम्यानको मेचमा पुर्‍याइयो र ‘ट्रुम्यान डक्ट्रीन’ अन्तर्गत परराष्ट्रमन्त्री जर्ज मार्शलको अगुवाइमा मार्शल प्लान अघि सारियो । चार वर्षमा अमेरिकाले युरोपमा चार सय १३ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग गर्‍यो । आधिकारिक रूपमा त्यो रकम खाद्यान्न, इन्धन, मेसिनरी र पूर्वाधार पुनर्निर्माणको क्षेत्रमा खर्च गरियो ।

तर, मूल राजनीति त्यति सरल थिएन, जति सतहमा स्पष्ट देखिन्छ । मार्शल प्लान अन्तर्गत खर्च गरिएको कुल रकमको ५ प्रतिशत अर्थात् ४ हजार ६८५ मिलियन डलर प्रत्यक्ष रूपमा सीआईए स्थापनाका लागि खर्च गरिन्छ । यो रकमको मुख्य हिस्सा युरोपभर आफू अनुकूलका नेता किन्न, मजदुर युनियनहरूलाई लबस्तरो बनाउन तथा अमेरिका अनुकूलको भाष्य निर्माणमा खर्च गरिन्छ । तर, पैसा खर्च गर्दैमा सफलताको ग्यारेन्टी गर्न नसकिने रहेछ ।

यस मामिलामा सोभियतहरू अमेरिकीभन्दा दुई कदम अगाडि थिए । उनीहरूका जरा गहिराइसम्म पुगेका थिए र सञ्जाल बलियो थियो । अमेरिकीहरू त्यसलाई जसरी पनि चिर्न चाहन्थे । यस क्षेत्रमा अमेरिकीहरूले अझै आईसब्रेक गर्न सकेका थिएनन् ।

सन् ५० को दशकमा गुप्तचरीको दुनियाँमा सोभियत गुप्तचर संस्था केजीबीको स्वर्णकाल मानिन्थ्यो । युरोप, एशिया र अमेरिकाभर यसको पहुँच विस्तार भइसकेको थियो । दशकौँको अनुशासन र प्रविधिले तिनीहरूलाई झन्डै–झन्डै अपराजेय बनाइसकेको थियो । त्यतिखेरसम्म सीआईए यो क्षेत्रमा नवप्रवेशी मानिन्थ्यो ।

2

एउटा प्रारम्भिक कोभर्ट अप्रेसनमा सीआईएले प्रशिक्षित युक्रेनी एजेन्टहरूको टोली सोभियत कब्जामा रहेको क्षेत्रमा प्यारा–ड्रप गर्छ, तर त्यो मिशन सुरु हुनुभन्दा अगावै विफल भयो । किनभने मिसनमा सहभागी मुख्य संयोजक नै सोभियत एजेन्ट रहेको पत्ता लाग्यो । अप्रेसनमा सहभागी सबै एजेन्ट केही दिनभित्रै मारिए वा पक्राउ परे ।

सीआईएको आन्तरिक अतिगोप्य रिपोर्टमा लेखियो– ‘सीआईए फ्याटली पेनिट्रेटेड’ अर्थात् घातक रूपमा घुसपैठ गरियो ।

यो असफलताले सीआईएको प्रतिष्ठा कतिसम्म बिग्रन्छ भने नयाँ एजेन्ट भर्ना गर्नसमेत गाह्रो पर्न थाल्छ । त्यतिखेर संस्थाका प्रमुख थिए– वाल्टर बेडेल स्मिथ । उनले परिस्थितिलाई गम्भीरतापूर्वक लिए । सीआईएको काम केटाकेटीको खेल होइन भन्ने देखाउनका लागि उनलाई ठुलै चुनौतीसँग साक्षात्कार गर्नैपर्ने थियो । अमेरिकाका लागि सबैभन्दा ठुलो संकट र सीआईएका लागि सबैभन्दा उपयुक्त अवसरका रूपमा राजनीतिक रंगमञ्चमा इरानको उदय हुन्छ ।

10_1953 Coup of Iran

सन् १९५३मा इरानका प्रधानमन्त्री मोहम्मद मोसाद्देकले बेलायतको नियन्त्रणमा रहेको ‘एंग्लो–इरानियन आयल कम्पनी’लाई राष्ट्रियकरण गरिदिन्छन् । त्यतिवेलासम्म बेलायतले इरानको अथाह तेल सम्पदामाथि दशकौँदेखि हुल्ली खेलेर मुनाफा कमाइरहेको थियो । मोसाद्देकले उक्त कम्पनीको राष्ट्रियकरण गरिदिएसँगै उनलाई हटाउनका लागि बेलायतले अमेरिकाको सीआईएसँग सहयोग माग्छ ।

‘अप्रेसन अजाक्स’ नाम दिइएको योजना तयार पारिन्छ । संयोजक बन्छन्– केर्मिट रुजवेल्ट जुनियर अर्थात् राष्ट्रपति थियोडोर रूजवेल्टका नाति ।

उनी सीआईएको ठुलो रकमसहित इरान पुग्छन् । योजना सधैँझैँ पुरानै थियो– उपयुक्त व्यक्तिलाई घुस खुवाउने, गलत सूचनाको चाङमा उभिएर इरानी सडकमा जनतालाई उतारेर वर्तमान सत्तालाई फ्याँक्ने ।

त्यसपछि सुरु हुन्छ वास्तविक खेल । पत्रकारहरूलाई पैसा दिइन्छ र मोसाद्देकलाई ‘तानाशाह’ का रूपमा चित्रित गर्न थालिन्छ । विश्वभर धारणा निर्माणका लागि पश्चिमा मिडियाबाट प्रोपोगाण्डाको व्यवस्थित ब्लुप्रिन्ट तयार गरिन्छ । रेडियोबाट सारा देशभर सन्देश फैलाइन्छ । सेना र भिड परिचालन गरिन्छ । १९ अगस्टमा सैनिकहरूले प्रधानमन्त्रीको घर घेराउ गर्छन् । मोसाद्देक भाग्न बाध्य हुन्छन्, तर केही घण्टामै उनी पक्राउ पर्छन् । त्यसपछि तेल खानीहरू फेरि पश्चिमी नियन्त्रणमा पुग्छन् ।

सीआईए मुख्यालय ल्याङलीमा सत्ता ‘कु’को यो अप्रेसनलाई ‘टेक्स्टबुक कु’ भनिन्छ– सफा, चाँडो र निर्णायक, तर तेलमाथि नियन्त्रण कायम गर्नका लागि लोकतान्त्रिक सरकारलाई गरिएको ‘कु’ले संसारभर खतरनाक नजिर स्थापित गरिदिन्छ । पछि त्यसको फल अमेरिका आफैँले भोग्नैपर्ने हुन्थ्यो ।

सन् ५० को दशक सीआईएका लागि गुप्त ‘कु’ र युद्धहरूको दशक बन्यो ।

सन् १९५४मा ग्वाटेमाला, एजेन्सीको व्यापक दुष्प्रचार, भाडाका सैनिकको हमला तथा ‘ब्ल्याक बजेट’ को सिकार हुन पुग्यो । परिणाम स्पष्ट थियो– राष्ट्रपति जाकोबो अर्बेन्जलाई ‘कु’ गरेर हटाइयो, तर हरेक देशमा किनिएका मोहराहरूले सही काम नगर्न सक्छन् । ‘टेक्स्टबुक कु’ पनि असफल हुन सक्छ ।

इन्डोनेसियामा राष्ट्रपति सुकार्नोविरुद्ध ‘कु’को प्रयास गरिन्छ, तर सफल हुँदैन । क्युबामा राष्ट्रपति फिडेल क्यास्ट्रोलाई पहिले बदनाम गराउने, त्यसपछि असफल गराउने रणनीति एजेन्सीले अघि बढाउँछ, तर त्यहाँ पनि एजेन्सीलाई अपेक्षित सफलता हात लाग्दैन । अनेकौँ पटकको ‘कु’ र हत्या प्रयासले ५२ पटक क्यास्ट्रोलाई फ्याँक्ने प्रयास गरेको देखिन्छ । त्यसको मूल कारण थियो– ल्याटिन अमेरकामा एजेन्सीको व्यापक घुसपैठ र गोप्य अप्रेसन ।

यता युरोपमा केजीबीले अप्रेसन सुरु गर्नु अगावै त्यसलाई एजेन्सीले नाकाम बनाइदिन थाल्यो । त्यतिवेला सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीका निर्देशक थिए– एलन डलेस । उनले आफ्नो कोर टिममा प्रतिभाशाली रणनीतिकार रिचर्ड बसेललाई भित्र्याए । बसेल ठुलो परियोजनामा रुची राख्ने रणनीतिकार थिए ।

11_Allen Dulles

उनी एजेन्सीले त्यस्तो काम गर्नुपर्ने मान्यता राख्थे, जसमा कसैले त्यसको बराबरी गर्न नसकुन्, तर एजेन्सीले हालसम्म आफ्नो सम्पूर्ण ऊर्जा केजीबीको व्यूह रचनामा उसैलाई मात खुवाउन समय, पैसा र परिश्रम खर्च गरिरहेको थियो । त्यतिवेलासम्म अमेरिका गुप्तचर नियुक्त गर्ने मामिलामा माहिर थिएन । एजेन्सीमा धेरै विदेशी एजेन्टले काम गरिरहेको उसले बिस्तारै भेउ पाउन थाल्यो । त्यसैले समय थियो– रणनीति परिवर्तनको ।

त्यसपछि सुरु हुन्छ सीआईएको नयाँ अध्याय ।

  • नयाँ युगमा नयाँ रणनीति

अबको खेल त्यस्तो थियो, जसमा सीआईए माहिर छ । अर्थात् विश्वकै उत्कृष्ट प्रौद्योगिकीमा सीआईएको प्रवेश । गुप्त रूपमा सञ्चालन गरिने सत्तापलट आज पनि हुन्छन्, तर नयाँ ढंगले । प्रविधिको विकाससँगै प्रविधिकै मद्दतले सत्तापलट गरिदिने ठाउँमा पुग्यो सीआईए ।

त्यसको सुरुवात गरियो यु–२ विमानबाट । शीत युद्धकालीन समयमा गुप्तचरी निकै जोखिमले भरिएको काम थियो । अमेरिकासँग सबैभन्दा राम्रा बमवर्षक तथा लडाकु विमान थिए, तर यी विमानको खराबी के थियो भने ती सबै सोभियत रेडारबाट इन्टरसेप्ट गर्न सकिने खालका थिए । जासुसीका लागि गएको कुनै पनि विमानलाई सोभियतहरूले एउटै मिसाइलबाट खरानी बनाउने सामर्थ्य राख्थे ।

सन् ५०को दशकको मध्य आउँदा नआउँदै सोभियतहरूले परमाणु ऊर्जा संयन्त्रमा काम गर्न थालिसकेका थिए । आवश्यकता थियो– अमेरिकी निगरानी । त्यसपछि सीआईएका निर्देशक डलेसले अमेरिकी वायु सेवासँग साझेदारीमा काम गर्नुपर्ने प्रस्ताव अघि सारे । रिचर्ड बसेल परियोजना प्रमुखका रूपमा नियुक्त गरिए । अर्कोतर्फ केली जोन्सनको नेतृत्वमा अमेरिकी हतियार निर्माण कम्पनी लकहिड मार्टिनको ‘स्कंक वर्क्स’, जसको नाम पछि गएर ‘एडवान्स डेभलपमेन्ट प्रोग्राम’ (एडीपी) भयो, त्यसले काम गरिरहेको थियो ।

परिणाम स्वरुप जासुसीको दुनियामा एजेन्सीले ठुलो फट्को मार्छ । सीआईए, वायु सेना र लकहिड मार्टिनकै परिश्रमको परिणाम हो– यु–२ विमान । यो विमान ७० हजार फिट उचाइमा सजिलै उड्न सक्छ । त्यसलाई कुनै पनि सोभियत मिसाइल सिस्टम र फाइटर विमानले भेट्न सक्दैनथ्यो । यसमा प्रयोग गरिएको क्यामराले १३ हजार माइल उचाइबाट २ फिट चौडा वस्तुहरूको फोटो खिच्न सक्छ ।

त्यो विमानको इन्धन क्षमता कतिसम्मको थियो भने त्यसले सिङ्गो रुसको फन्को मार्दा पनि त्यसमा इन्धन भर्नु पर्दैनथ्यो । त्यसैले यसलाई पाइलट भएको जासुसी उपग्रह भनियो । कतिसम्म भने सोभियतहरूले यसलाई आफ्नो रेडार सिस्टममा इन्टरसेप्ट गर्न त सक्छन् तर त्यसलाई केही गर्न सक्दैनन् । यसले ल्याउने तस्बिरहरूकै आधारमा पेन्टागन, ह्वाइट हाउस र ल्याङलीमा रुसको वास्तविक पोजिशनको ताजा नक्सा तयार हुन थाल्यो ।

यो सीआईएका लागि ठुलो उपलब्धि थियो । त्यसअघिसम्म सोभियतको सैन्य क्षमताबारे अमेरिकासँग वास्तविक सूचनामा आधारितभन्दा पनि अनुमानमा आधारित रणनीति थियो । यतिवेलासम्म अमेरिका रुसबारेको सूचनाको चाङमा उभिने भइसकेको थियो । यो आफैँमा ठुलो कुरा थियो । गुप्तचरी र सैन्य गल्लीहरूमा सीआईएको सफलताको चर्चा हुन थालिसकेको थियो ।

5

  • ल्याङलीमा कोरिएको ‘कु’को ब्लुप्रिन्ट

भियतनाममा हो ची मिन्हले तानाशाह न्गो दिन्ह दीमको शासनविरुद्ध कम्युनिस्ट आन्दोलनको विगुल फुके । कम्युनिस्टले तानाशाह दीमलाई हटाउने निश्चित देखेपछि सन् १९५४मा जेनेभा सम्झौतामार्फत भियतनामको दुई टुक्रा गरियो । उत्तरतर्फ कम्युनिस्ट पार्टीका हो ची मिन्हको प्रभाव थियो भने दक्षिणमा पश्चिमा समर्थित दीमको शासन थियो ।

कुनै पनि हालतमा भियतनामका कम्युनिस्टहरूलाई सत्तामा आउनु दिनु हुँदैन भन्ने संकल्पसाथ अमेरिका युद्धमा होमियो । त्यसका पछाडि थियो– सीआईए । त्यसपछि प्रयोगमा आइपुग्छ– यु–२ जासुसी विमान । विमान भियतनाम र लाओसको आकाशमा निरन्तर उड्न थाल्छ । ल्याङली, पेन्टागन र ह्वाइट हाउसका गोप्य कोठाहरूमा हो ची मिन्हको सैन्य केन्द्र, त्यसको आपूर्ति शृंखला र नेताहरूको एक–एक जानकारीको मसिनो अध्ययन हुन थाल्छ । त्यसपछि भियतनाम युद्धको खाका कोरिन्छ ।

यु–२ विमानले खिचेका तस्बिरहरूकै आधारमा हमलाको ब्लुप्रिन्ट तयार पारिन्छ । युद्धको महत्त्वपूर्ण मोर्चा– भाष्य निर्माण तथा दुष्प्रचार हो भन्ने बुझेको एजेन्सीले पत्रकार, प्राध्यापक, बुद्धिजीवीहरूको संगठित खरिदमा आफ्ना एजेन्टहरू परिचालन गर्छ । रेडियो, टिभीबाट निरन्तर कम्युनिस्ट विरोधी प्रोपोगान्डा फैलाइन्छ । त्यपछि सीआईएबाट प्रशिक्षित कम्युनिस्ट विरोधी मिलिसियाहरूलाई गाउँ, सहर र जंगलतर्फ रवाना गरिन्छ ।

त्यसपछि सइगोनमात्र होइन, सिङ्गो भियतनाम अमेरिकी बारुदले छियाछिया हुन्छ । गाउँका गाउँ कत्लेआम गरिन्छन्, जसमध्येको एउटा गाउँ थियो– माई लाई ।

अमेरिकी सैनिकहरूले भियतनामको माई लाईमा कसरी नरसंहार गरे र सिङ्गो गाउँ नै सखाप पारिदिए भन्नेबारे द न्युयोर्करमा पत्रकार सेमोर हर्षले लामो रिपोर्टिङ गरेपछि मात्र सबैले अमेरिकी बर्बरताबारे थाहा पाए, तर भियतनामीले हार मानेनन् । घुँडा टेकेनन् ।

बाहिरबाट हेर्दा भियतनाममा अमेरिका प्रजातन्त्रका लागि लडिरहेको थियो तर वास्तविकतामा सीआईए र सेनाका अधिकृतहरू भियतनाम, लाओस, कम्बोडियामा अवैध हतियार, कोकिन, हेरोइनको तस्करीमा लिप्त थिए । अमेरिकाको स्टेट डिपार्टमेन्ट यसलाई कहिल्यै पनि औपचारिक रूपमा स्वीकार गर्दैन, तर अनौपचारिक रूपमा सबैलाई थाहा छ, युद्धका वेला सीआईए र सैनिक अधिकारीहरू के गर्थे ।

सन् ६०को दशकको मध्यसम्म आइपुग्दा कैयौँ देशमा सञ्चालन गरिएको छद्म युद्ध पूर्ण युद्धमा परिणत हुनपुग्छ । अप्रिल १९६१मा आईपुग्दा सीआईएले आफ्नो सबैभन्दा साहसी अभियानमध्येको एउटा ‘बे अफ पिग्स’ सञ्चालन गर्ने जोखिम उठाउँछ । क्युबाबाट निर्वासितहरू तथा एजेन्सीद्वारा तालिम र हतियारप्राप्त दस्ताले फिदेल कास्त्रोको सत्ता उल्टाउन क्युबाको समुद्री किनारमा पाइला टेक्छन्, तर योजना केही दिनमै असफल हुन्छ ।

यसले विश्वभर अमेरिकाको छवि धुमिल हुन पुग्छ । राष्ट्रपति जोन एफ. केनेडी यो अपमानबाट निस्कन चाहन्थे । उनलाई थाहा थियो, यो सबै घटनाको पर्दा पछाडि सीआईए छ । त्यसैले उनले धेरै पटक भने, ‘यस्ता मुर्ख सल्लाहकारहरूमाथि मैले कसरी विश्वास गर्न सकेँ हुँला ?’ उनले थपे, ‘हामीले ठुलो लात खाएका छौँ तर हामीले यसबाट केही कुरा सिक्नेछौँ ।’

केनेडी अपमानको हिलो पुछ्न र सीआईएले सञ्चालन गरेको ‘बे अफ पिग्स’ मिसनबाट पछि हट्न चाहन्थे, तर राष्ट्रपतिले चाहँदा पनि त्यसो हुन सकेन । ‘बे अफ पिग्स’ अर्थात् जसरी भए पनि विश्वबाट कम्युनिस्टको सफाया । जुनसुकै मूल्यमा । मिशनले झन्–झन् गति समायो ।

सन् ७०को दशकमा सीआईएको ध्यान क्युबाबाट चिलीमा केन्द्रित हुन पुग्छ । ल्याटिन अमेरिकाको यो मुलुकमा सीआईएले पाइला टेक्नु अघिदेखि नै पश्चिमी गोलार्द्धमा उसले मसिनोगरी काम गरिरहेकै थियो । सन् ७०को दशकमा चिली नयाँ राजनीतिक धरातलमा उभिन आइपुगेको थियो । राष्ट्रपति निर्वाचनमा समाजवादी नेता सल्भाडोर अलेन्डे भारी मतले निर्वाचित हुन्छन् । उनी लोकतान्त्रिक विधिबाटै सत्तामा उदाएका थिए तर अमेरिका र सीआईएलाई उनको समाजवादी विचार मन परेन ।

4

उनले निर्वाचनका क्रममा समाजवादी सुधार गर्ने बाचा गरेका थिए । त्यसैले सत्तामा आएसँगै मुख्य उद्योगहरूलाई उनले राष्ट्रियकरण गरे । हवाना र मस्कोसँग सम्बन्ध सुधारका लागि पाइला चाले । यो सबै ह्वाइट हाउसका लागि एउटा दुःस्वप्नभन्दा कम थिएन ।

अलेन्डेको सरकारले थप सास फेर्न नसकोस् भन्ने जिम्मेवारी सीआईएलाई दिइयो । उनीहरूले अलेन्डेविरुद्धको प्रचारतन्त्रलाई घनीभूत पार्न विपक्षी मिडियामा लाखौँ डलर खन्याए, दैनन्दिनका हडतालको ब्लुप्रिन्ट तयार पारियो र त्यसमा सक्दो अमेरिकी पेट्रोल खन्याइयो । बाहिर देखिने अनुहारमा थिए अलेन्डेको विपरीत ध्रुवमा उभिएका राजनीतिज्ञ, तर भित्र–भित्रै सेनाका अधिकारी पनि उनी विरुद्ध षडयन्त्रमा सहभागी भए ।

उनीहरू गोप्य रूपमा सीआईएले दिने पैसा खान्थे र अलेन्डेको सरकार विरोधी अभियानलाई राजनीतिक कभर प्रदान गर्थे । ११ सेप्टेम्बर १९७३मा चिलीयन सेनाका जर्नेल अगुस्टो पिनोचे नेतृत्वमा सत्ता उल्ट्याउने अभियानलाई भव्यतापूर्वक सम्पन्न गरिन्छ । ट्याङ्कहरू सान्टियागोमा प्रवेश गर्छन् । राष्ट्रपतिको दरबारमा खरानी र धुवाँमात्र बाँकी रहन्छ ।

अन्ततः अलेन्डेको सरकार ढल्छ र पिनोचेले सत्ता कब्जा गर्छन् । त्यसपछि सुरु हुन्छ यातना, दमन र बर्बरताका दिनहरू । ह्वाइट हाउस र ल्याङलीमा खुसीयाली मनाइन्छ तर चिलीका जनताको दुःखका दिन सुरु भइसकेका थिए । चिली कम्युनिस्ट विरोधी क्याम्पमा फर्किसकेको थियो । सिङ्गो विश्वले यो तमासा हेर्नेबाहेक केही गर्न सकेन । सीआईएका लागि यो धेरै ठुलो उपलब्धि थियो । सबैलाई सबैकुरा थाहा थियो, तर सबै चुप थिए ।

अबको समय थियो– सीआईएले आफ्नो रफ्तार बढाउने रणनीतिलाई व्यवहारमा कार्यान्वयन गर्नु । त्यसपछि उनीहरूले सीआईएका अप्रेसन सेनासँग मिलेर अघि बढाउन थाले । सीआईएले सञ्चालन गरेको ‘प्रोग्राम फिनिक्स’ त्यसमध्येको एउटा कार्यक्रम थियो । उनीहरू भियतनाममा मात्रै होइन, लाओस र कम्बोडियामा पनि युद्ध लड्छन् । आफ्ना शत्रुहरूको चुनी–चुनी गर्ने सफायाले सीआईएलाई व्यवस्थित हत्याराहरूको झुण्डमा रुपान्तरण गर्दै गइरहेको आवाज एजेन्सीभित्रैबाट उठ्न थाल्छ । क्रुरता यति हिंस्रक र व्यवस्थित थियो कि सबैले जिब्रो टोक्नुपर्ने कठोर समयको सामना गरे ।

यसबिच सीआईएले भियतनाममा मात्रै युद्ध गरेन । एजेन्सीले आफ्नो निर्दिष्ट सीमा नाघ्यो र आफ्नै देशभित्र पनि खुफिया अप्रेसन सञ्चालन गर्न थाल्यो । एजेन्सीकै प्रभाव स्वरुप देशभित्रका विचारधाराहरूमा सीआईए हावी हुन थाल्यो । विद्यार्थी, पत्रकार, प्राध्यापक, संस्कृतिकर्मी, गायक र संगीतकार तथा आर्टिस्टहरूले पनि सीआईएबाट उनैले थाहा नपाउने गरी आर्थिक सहयोग पाउन थाले । उद्देश्य थियो– विश्वभर कम्युनिस्ट विरोधी भाष्यको ‘इकोच्याम्बर’ निर्माण गर्नु ।

एजेन्सीको सोचले देशभित्र काम गर्न थालिसकेको थियो । समाजवादी विचारधारा अँगाल्नेहरूको अपराधीकरण र दानवीकरण सुरु भइसकेको थियो । त्यसैको सिकार हुन पुग्यो– ब्ल्याक प्यान्थर मुभमेन्ट । आन्दोलनका नेता मेल्कम एक्सको हत्या गरियो । त्यस संगठनमा आवद्धहरूलाई लागु औषध तथा अवैध हतियारका कारोबारी भनेर या त हत्या गरियो या आजीवन जेलमा कोचियो ।

तर, एजेन्सी यतिमै शान्त बस्ने पक्षमा थिएन । सिड्नी गोटलिबको नेतृत्वमा ‘एमके अल्ट्रा’ नामक परियोजना अन्तर्गत उसले जिउँदो मानिसमा विभिन्न खाले प्रयोग गर्न थाल्यो । कसरी मानिसमाथि नियन्त्रण कायम गर्न सकिन्छ ? पक्राउ परेका व्यक्तिसँग सजिलै कुरा फुत्काउन के गर्न सकिन्छ ? मानिसको बे्रनवास गरेर आफ्नो काममा कसरी खटाउने ? तथा मनोवैज्ञानिक यातनाका टेक्निकहरूमा कसरी महारथ हासिल गर्ने लगायतका प्रयोगमा सीआईएले अथाह पैसाको खोलो बगायो ।

कतिसम्म भने उनीहरू मानिसलाई प्रोग्रामिङ गरेर हत्यारा बनाउन सकिन्छ कि सकिँदैन भनेर पनि प्रयोग गर्दै थिए । मानवता छिया–छिया हुँदै थियो तर सीआईए निरन्तर अघि बढिरहेको थियो ।

  • अँध्यारो साँझको पहिलो दिन

सन् ७०को मध्यसम्म आइपुग्दा सीआईए प्रत्येक दिन अँध्यारा साँझहरूसँग अनेकौँ मोर्चामा जुधिरहेको थियो । भियतनाम युद्धमा लज्जास्पद हार बेहोरेपछि अमेरिकीहरू साइगोनबाट हेलिकप्टर चढेर भाग्दै थिए । वाटरगेट काण्डका कारण राष्ट्रपति रिचर्ड निक्सनले लाजमर्दो ढंगले पद छोड्नु परेको थियो ।

चर्च कमिटी रिपोर्टका कारण सीआईएमाथि प्रश्न उठाइएको थियो । जनताको विश्वासको मसिनो डोरी झनभन्दा झन् खिइँदै थियो, तर ल्याङलीको चार पर्खालभित्र पुरानो शैली फेरिने कुनै संकेत थिएन । यति हुँदा पनि स्विजरल्याण्ड र क्यारेवियन मुलुकका छद्म खाताहरूमा अथाह पैसाको ओहोर–दोहोर भइरहेकै थियो । अपसोर खाताहरू निष्क्रिय हुने ठाउँमा झनै सक्रिय भइरहेका थिए । ड्रग्स र अवैध हतियारको ओसार–पसार गर्नेसँग सीआईएको पुरानो सम्बन्ध कायमै थियो । 

सन् १९८०को सुरुमै इरान छिमेकसँगको युद्धमा अल्झिन पुग्यो । शाह मोहम्मद रेजा पहलवी शासनको अन्त्य भइसकेको थियो र इस्लामिक क्रान्तिमार्फत् सत्ताको केन्द्रमा अयोतुल्लाह रुहोल्लाह खुमेनी उदाए । वासिङ्गटनको नजरमा इरान आधिकारिक रूपमै शत्रु राष्ट्र थियो, तर ल्याङलीभित्र सीआईएको अंकगणित भने भिन्न थियो । प्रत्येक शत्रु भविष्यको सम्भावित मित्र हो र प्रत्येक संकट सम्भावित सम्झौताको कडी ।

ठिक त्यति नै बेला तीन अमेरिकी, जसमा पत्रकार, कूटनीतिज्ञ र मन्त्री पनि थिए, उनीहरूलाई इरानी हतियारधारीहरूले अपहरण गरे । अमेरिकी बन्धकहरूलाई मुक्त गराउनका लागि सीआईएले अति नै विवादास्पद प्रस्ताव अघि सार्‍यो । प्रस्ताव अनुरुप बिचौलिया र सरकार विरोधी समूहलाई हतियार उपलब्ध गराउनु थियो । सीआईए र ह्वाइट हाउसमा रिगन प्रशासनले उनीहरूलाई हतियार बेच्ने र अपहरणमा परेकाहरूलाई मुक्त गर्ने रणनीतिमा काम गर्न थाल्यो ।

मिसाइल, स्पेयर पार्टस् र हार्डवेयरको सहयोग मार्फत् सीआईए ईरान, लेबनानका त्यस्ता समूह र हिजबुल्लाहमाथि बन्धक रिहाईको पहल गर्न थाल्यो । हतियार कयौँ गुणा बढी मूल्यमा बेचियो । खासमा सीआईएका अधिकारीहरू यसमार्फत बन्धकमात्र छुटाउन चाहदैनथे, उनीहरू खुमेनीको सरकार ढाल्न, सरकार विरोधी समूह संगठित गर्न र हतियार बिक्रीबाट अत्यधिक मुनाफा कमाउन पनि चाहन्थे । अर्थात् सीआईएका अधिकारीहरू दुवै हातमा लड्डु चाहन्थे ।

कुरा यतिमै रोकिँदैन । विदेशमा रहेका अपसोर खाताहरूबाट करोडौँ डलर स्विस बैंक र विद्रोही समूहसम्म पुर्‍याइन्छ । यस्तो रकम पाउनेमध्येको एउटा समूह हो– क्वान्ट्रा । क्वान्ट्राले निकारागुवामा वामपन्थी सान्डानिस्टाको सरकारलाई अपदस्थ गर्न सीआईएसँग मिलेर काम गरेको थियो । त्यो रकम विभिन्न खाता हुँदै चुहिँदै–चुहिँदै सीआईएका अधिकारीहरूकै नियन्त्रणमा आइपुग्थ्यो । हतियार बिक्रीबाट आएको डलरमात्रै होइन, सीआईएका अधिकारीहरूसँग कोकिनको तस्करीबाट आएको रकम पनि आइपुग्थ्यो ।

यतिवेलासम्म अमेरिकाको हवाई अड्डाहरूमा सीआईए, सेना र विद्रोही समूहको बिचमा बन्दुक, ड्रग्स आदिको ओसार–पसार भइरहन्छ । यसबिच अमेरिकाको सैन्य बेसमा ल्याण्ड गर्ने जहाजहरू हतियार र ड्रग्सबाट आएको नगद बोक्न प्रयोग भइरहेका छन् भन्ने थाहा हुनासाथ सन् १९८६मा पहिले वासिङटनभित्र र पछि अमेरिकाभर हङ्गामा मच्चियो ।

यो सबै कुरा सार्वजनिक हुँदा पनि आम मानिस यसमा विश्वास गर्न सकिरहेका थिएनन् । सीआईए, जो राष्ट्रिय सुरक्षा र राष्ट्रिय स्वार्थका लागि काम गर्छ, उसका अधिकारीहरूले अवैध धन कमाइरहेका छन् भन्ने पचाउन सबैका लागि सहज थिएन । त्यसपछि यति ठुलो भ्रष्टाचारको स्क्याण्डल सार्वजनिक हुन्छ, जसका अघिल्तिर कोन्ट्रासँग मिलेर गरिएको घोटाला सानो लाग्न थाल्छ ।

लग्जेम्बर्ग र पाकिस्तानमा मुख्यालय भएको बैंक अफ क्रेडिट एण्ड कमर्स इन्टरनेशनल (बीसीसीआई) एउटा त्यस्तो बैंक हो, जसबाट सीआईए चिहाउन सकिन्छ । उसले आफूलाई तेस्रो विश्वको बैंकका रूपमा चिनाउने गर्छ । वास्तवमा अवैध सम्पत्ति थुपारेकाहरूलाई सुरक्षित बैंकिङ ट्रन्जिसन दिनु त्यो बैंकको विशेषता थियो । विश्वभरका तानाशाह, ड्रग्स तथा हतियार कारोबारी र मानव बेचबिखनबाट अकुत कमाएकाहरूलाई यसले आफ्नो सेवा दिने गर्थ्यो । त्यसैले खर्बौं खर्ब डलर यो बैंकका विभिन्न खातामार्फत बगिरहेको हुन्थ्यो ।

सीआईएलाई आफ्नालागि काम गर्ने छद्म समूहको नेटवर्क परिचालन गर्न यो बैंक उपयोगी लाग्छ । त्यसपछि सीआईएले यही बैंकमार्फत् आफ्ना अदृश्य रकम ट्रान्जेक्सन गर्न थाल्छ । ल्याटिन अमेरिका, अफगानिस्तान, मध्यपूर्व, एसियामा गरिने गोप्य अप्रेसनहरूमा यसै बैंकमार्फत् रकम ओहोर–दोहोर गर्न थालिन्छ । यो बैंकमार्फत पैसाको फ्लो यति धेरै हुन्छ कि नियामक निकायहरूलाई बैंकको ट्रान्जेक्सनमै शंका लाग्न थाल्छ ।

बीसीसीआईको गठन भ्रष्टहरूलाई संरक्षण दिनमात्र भएको थिएन । सबैखाले कालो धनका व्यापारीलाई संरक्षण प्रदान गर्न भएको थियो । स्पष्ट शब्दमा भन्दा यो बैंक विश्वव्यापी स्तरको अपराधी संस्था थियो । खोजी पत्रकारहरूले यसबारे लामा–लामा रिपोर्टिङ गरेर यसमा कोलम्बियाका कार्टेलरहरू, मध्यपूर्वका आतंकवादी समूहहरू र विभिन्न महादेशका राजनीतिक घुसखोरहरूको मात्रै होइन, यसमा विश्वभर कुख्यात अपराधी तथा सीआईएको पनि अर्बौं रकम सञ्चित गरिएको खुलासा गरेपछि नियामक संस्थाहरूले जुलाई १९९१मा यसलाई बन्द गराउने निर्णय लिए ।

  • सोभियत संघको पतन र ओइलाएको सीआईए

क्यालेन्डरमा सन् १९९१ आएसँगै शक्तिको रंगमञ्चमा छेलोखेलो गरिरहेको सोभियत संघको पतन भयो । आर्थिक ध्वंस, राजनीतिक अस्थिरता र राष्ट्रिय आन्दोलनहरूले सोभियत संघको पतनमा सघाएको थियो । क्रेमलिनमा फहरिएको रातो झण्डा झरेसँगै झन्डै आधा शताब्दी लामो शीतयुद्ध अन्त्य भयो । क्रेमलिनबाट रातो झण्डाको बिदाइ सीआईएका लागि अपराजेयको सन्देश थियो । भयो पनि त्यस्तै । विश्वभर केजीबीको दबदबा अन्त्य भएको ठानियो र सीआईएले त्यो स्थानमा आफ्नो झण्डा फहराउँदै गयो ।

यो एउटा अचम्मको विजय थियो । त्यस्तो शत्रुको अन्त्य, जोसँग एजेन्सी लामो समयदेखि अब्बल ठहरिन संघर्ष गरिरहेको थियो, अब उसको अस्तित्व नै नामेट भइसकेको थियो । बर्लिनदेखि एंगोलासम्म, डबल एजेन्टदेखि अन्तरिक्ष जासुसीसम्म उनीहरूले षडयन्त्र, विनाश र रगतको कारोबार गर्दै प्रत्येकले एक–अर्काको विकासमा मद्द पुर्‍याइरहेका थिए । तर सोभियत संघकै पतनपछि अमेरिकामा सीआईएकै अस्तित्वमाथि प्रश्न उठ्न थाल्यो । किनभने शीतयुद्धले सीआईएलाई स्पष्ट ‘मिसन’ प्रदान गरिरहेको थियो । अब एजेन्सीका अघिल्तिर शत्रु भन्ने नै कोही थिएन विश्वभर ।

15_Salvador Allende

  • केजीबीविना सीआईएको के अर्थ ?

सोभियतको पतनले सीआईएको मुटु छियाछिया भयो । कसलाई देखाएर एजेन्सीको सान्दर्भिकता पुष्टि गर्ने ? नीति निर्माताहरूका अगाडि गम्भीर प्रश्न थियो । सोभियत संघ अतीतका पानामा विलिन भएसँगै अमेरिका दुनियाँको एकमात्र महाशक्ति राष्ट्रका रूपमा देखापर्न थाल्यो । त्यसपछि पूर्वी युरोपका राष्ट्रहरू नेटो र युरोपेली युनियनमा सामेल हुन तँछाड–मछाड गर्न थाले । राजनीतिक सीमा नाघेर गरिने व्यापार पहिलेभन्दा छिटो–छिटो हुन थाल्यो । इन्टरनेटले दैनिक जीवनमा शान्तिपूर्वक कब्जा गर्न थाल्यो । २४ घण्टे समाचार चक्रले सबैको मस्तिष्कमा ढ्याङ्ग्रो पिट्न थाल्यो ।

यसैबिच वासिङ्टनमा, राष्ट्रपति बिल क्लिन्टनले अर्थतन्त्रमा ध्यान केन्द्रित गर्न थाले । विश्वव्यापी व्यापारका नियम अमेरिका अनुकूल बनाउन थालियो । वृद्धिदर, व्यापार र घरेलु नीतिलाई छद्म युद्ध र जासुसीभन्दा प्राथमिकता दिन थालियो । अन्ततः सीआईएको बजेट घटाइयो । विदेशमा रहेका स्टेशनहरू बन्द भए । दशकौँ लगाएर खडा गरिएका नेटवर्क शान्तिपूर्वक विघटनको बाटोमा लम्पसार पर्न बाध्य भए । यो कुरा सीआईएका पूर्व र वर्तमान अधिकारीहरूलाई मन परिरहेको थिएन । किनभने उनीहरू प्रतिस्थापनविना सेवानिवृत्त हुन बाध्य थिए ।

एजेन्सीसामु फेरि आफ्नो औचित्य पुष्टि गर्नुपर्ने बाध्यता आइलाग्यो । त्यसपछि एजेन्सीले आफ्नो रणनीति फेर्‍यो । आफूलाई पहिलेभन्दा उन्नत बनाउनका लागि उसले कृत्रिम बुद्धिमत्ता, उन्नत इन्जिनियरिङ र डिजिटल डेटा विश्लेषणमा आफूलाई पोख्त बनाउँदै लग्यो र सबै लगानी त्यसैतर्फ केन्द्रित गरियो । किनभने वर्तमान संसारमा यी सिपहरूमा पारंगत हुनु केवल विशेषज्ञता हासिल गर्नुमात्र होइन, संसारलाई नियन्त्रणमा राख्नु हो भन्ने एजेन्सीले राम्रोसँग बुझेको थियो । यही आजको अनिवार्य आवश्यकता हो ।

अत्याधुनिक दुनियाँमा गणित, डेटा विश्लेषण, प्रोग्रामिङ र एआईमा विशेषज्ञता कायम गर्नु त्यस्तो सिप हो, जसले एजेन्सीलाई गम्भीर र अर्थपूर्ण सिकाइ प्रदान गर्छ ।

  • वैराग्यदेखि जिम्मेवारीसम्म

अब लागौँ सन् १९९०को मध्यतिर । पेन्टागन र ल्याङलीको गुप्तचरीभन्दा धेरै टाढा, ओसामा बिन लादेन आफ्नै सेना बनाउँदै छन् । अफगानिस्तानका सुदूर पहाडदेखि सुडानका शिविरहरूमा उनले लडाकुहरू भर्ती गर्दै गुरिल्ला युद्धको तालिम दिइरहेका हुन्छन् । मकसद हो– विश्वव्यापी जेहाद । उनले आफ्नो नेटवर्कको नाम राखे– अल–कायदा ।

12_Bin_Laden

दशकको अन्त्यसम्म आइपुग्दा बिन लादेन एक्ला चरमपन्थी थिएनन्, जसले अमेरिकाविरुद्ध जेहाद छेडेका थिए । उनको अनुशासित र राम्रो आर्थिक सहयोग पाउने नेटवर्क थियो । उनले मध्यपूर्वदेखि अफ्रिकासम्म र युरोपदेखि अमेरिकासम्म संगठित सेलहरू विस्तार गरिसकेका थिए । अल–कायदासँग अन्य समूहहरू पनि जोडिएका थिए– हेजबुल्लाह (लेबनान), जेमाह इस्लामिया (इन्डोनेशिया), आदि । साझा लक्ष्य बोकेका मिलिसियाहरूको अतिगोप्य सञ्जाल निर्माण भइसकेको थियो । उनीहरूले तालिम लिइसकेका थिए ।

यो सबै गर्नका लागि ओसामा बिन लादेनलाई अमेरिकाले दिएको तालिम नै काफी थियो, तर योजना नयाँ थियो । यसअघि नै सीआईए र अमेरिकन मरिनले उनलाई रुसविरुद्ध अफगानिस्तानमा लड्नका लागि तयार गरेका थिए । लुकेर हमला कसरी गर्ने, आफ्नो नेटवर्क कसरी विकास गर्ने, दुश्मनलाई कसरी अल्झाइराख्ने आदि उनले अमेरिकी सैनिकबाटै सिकेका थिए ।

त्यसपछि एकदिन अचानक अफ्रिकाको केन्या र तान्जानियामा रहेका अमेरिकी दूतावासहरूमा संगठित हमला हुन्छ । यता मध्यपूर्वको यमनमा रहेको अमेरिकाको एयरक्राफ्ट क्यारियर युएसएस कोलमा आत्मघाती हमला हुन्छ । प्रत्येक हमला झनभन्दा झन् घातक र सुसंगठित थिए ।

यी हमला सीआईएका लागि पुनर्जागरणको स्वर्णकाल बनेर फेरि एजेन्सीको ढोकासम्मै आइपुग्छन् । ओसामा बिन लादेनबाट भविष्यमा हुन सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै शीतयुद्धको अन्त्यपछि खासै आवश्यकता प्राथमिकतामा नराखिएको सीआईए पुनः जागृत हुन पुग्छ । कटौती गरिएको बजेट र जनशक्तिको अभावबाट गुज्रिरहेको एजेन्सीलाई पुनः सक्रिय गराइन्छ र राष्ट्रिय सुरक्षाको केन्द्रमा पुनः स्थापित गरिन्छ । सीआईएलाई दिइने बजेट ह्वात्तै बढाइन्छ र नयाँ अप्रेसनहरू स्वीकृत हुन्छन्, तर ती अप्रेसन के थिए, कसैलाई थाहा हुँदैन ।

यसविपरीत लादेन भने केही त्यस्तो योजना कोर्दै थिए, जसले संसारलाई नै स्तब्ध पार्ने निश्चित थियो । उनी एउटै झट्कामा इतिहासको गति फेर्न चाहन्थे । कसरी ? कसैलाई थाहा थिएन । उनका मिलिसियाहरूले एकै पटक ‘हाइली सोफेस्टिकेटेड’ र ‘हाइली ब्याकवार्ड’ ठाउँहरूमा तालिम लिइरहेका थिए ।

अन्ततः त्यो दिन पनि आयो– अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरको एक सय १० तलाका दुई गगनचुम्बी भवनमा यात्रुवाहक जेट विमान ठोक्किए । संयुक्त राज्य अमेरिकामा आतंकवादी आक्रमणको एकपछि अर्को शृंखलाबद्ध हमला भयो ।

२००१ सेप्टेम्बर ११ को बिहान । न्यूयोर्क सहरको आकाश एकाएक भयावह बादलले छोपियो, जब ट्विन टावरमा यात्रुवाहक विमान ठोक्किए । आगो र धुँवाको मुस्लोले अ‍ेमेरिकीमात्रै होइन, विश्वभरका मानिस स्तब्ध भए । अपहरण गरिएको तेस्रो विमान पेन्टागनमा ठोक्कियो । चौथो, पेनसिल्भेनियामा दुर्घटनाग्रस्त भयो । विमानमा सवार सबै यात्रु मारिए । सिङ्गो संसार, खरानीमा परिणत हुँदै गरेको ट्विन टावर हेर्न विवश थियो । कुल ३५ सय मानिस मारिए । अमेरिका स्तब्ध, शोकाकुल र क्रोधित भयो ।

सीआईएका लागि मिशन स्पष्ट गरियो– शत्रुलाई चिन्ह्ति गर्ने, कारवाही गर्ने ।

एकपछि अर्को गर्दै घटनाक्रमहरू विकसित हुँदै जान थाले र अन्ततः अमेरिकाले ‘अप्रेसन इराकी फ्रिडम’को सुरुवात गर्‍यो । यस पछाडिको मूल कारण थियो– सन् २००३मा सीआईएले गरेको दाबी । उसका अनुसार इराकसँग आम विनासकारी हतियार थिए । अनेकौँ प्रमाण पस्किँदै इराकसँग आम विनासकारी हतियार भएको दाबी बारम्बार दोहोर्‍याइयो ।

पश्चिमा सञ्चारमाध्यमहरूले इराक युद्ध जायज भएको र विश्व शान्तिका लागि ‘युद्ध अनिवार्य’ रहेको अनेकौँ कथा छापे । प्रसारण गरे । बारम्बार शान्तिका लागि ‘युद्ध अनिवार्य’ रहेको दोहोर्‍याइरहे । मिडियाबाट गरिने संगठित प्रोपोगान्डामा सीआईए पहिलेदेखि नै पोख्त थियो । ‘शान्तिका लागि युद्ध’ भन्ने अमेरिकी भाष्यको ‘इकोच्याम्बर’मा अमेरिकीमात्र होइन, सिङ्गो पश्चिमा जगत रमाइरहेको थियो ।

फलाम तातिसकेको थियो । अब आवश्यक थियो– युद्धक विमानद्वारा हमला । त्यसपछि इराक हमलाको समय पनि आइपुग्यो । एफ–११७ नाइटहक फाइटर बम्बर, क्रुज मिसाइल तथा बंकरसमेत ध्वस्त पार्न सक्ने क्षमता भएको ‘बंकर बस्टर बम जीबीयु–२८’ ले गरेको हमलामा इराकी आकाश अमेरिकी बारुदको मुस्लोमा छोपियो ।

तर, यो युद्ध झुटको जगमा लडिएको थियो । इराकसँग कुनै पनि प्रकारका आम विनासकारी हतियार थिएनन् । विश्वलाई सत्य थाहा हुनु अगावै इराकमा धेरै ठुलो क्षति भइसकेको थियो । इराकी तेल कम्पनीहरू तथा इराकी रिजर्ब बैंकमा रहेका खातका खात सुनमा अमेरिकीले नियन्त्रण कायम गरिसकेका थिए । इराकमा लामो समय शासन गरेका सद्दाम हुसैनलाई पक्राउ गरियो र फाँसी दिइयो ।

cia-podcast

संयुक्त राज्य अमेरिकाका शासक तथा सीआईएका अधिकारीलाई कहिल्यै पनि, कुनै पनि अदालतमा झुटको जगमा झन्डै पाँच लाख इराकी नागरिकको हत्यामा संलग्न रहेको भनेर कहिल्यै पनि मानवता विरोधी अपराधको मुद्दा लागेन । उनीहरूको जबाफदेहिता कहिल्यै तय गरिएन । हत्यारा हुँदाहुँदै पनि उनीहरू कहिल्यै लज्जित हुनु परेन ।

किनभने सवाल न्यायको थिएन । सवाल थियो– सीआईएको सान्दर्भिकता कायम राख्ने तथा इराकी संसाधन कब्जा गर्ने, तर यो सबै त्यति सजिलो थिएन, जति सजिलो सीआईएले ठानेको थियो । इराकका विद्रोहीहरू खरानीबाट ब्युँतिए । लाख कठिनाइबिच भोक लाग्दा हावा खाँदै, प्यास लाग्दा एकमुठी पानी पिउँदै उनीहरू अमेरिकी सेनाविरुद्ध जाइलागे ।

तर, सीआईए सरल रेखामा हिँड्ने लाटोकोसेरो वा परेवा होइन र थिएन । उसले विद्रोहीविरुद्ध लड्न अर्को विद्रोही समूह खडा गरिदियो । अर्थात् इराकीसँग लड्न अर्को इराकी मिलिसियाको दस्ता । त्यस्ता कैयौँ दस्तालाई वासिङ्टन र ल्याङलीबाट हतियार, बस्दोबस्तीका सामानसहित मोटो रकम दिइयो । लडाइँ घरदेखि सडकसम्म, सडक हुँदै रेगिस्तानसम्म र रेगिस्तानबाट सीमापारसम्म फैलियो । कालान्तरमा अमेरिकीले संगठित गरेका र फन्डिङ गरेका मिलिसिया समूह आईसिस आतंकवादीमा परिणत भए । अन्ततः उनीहरू पनि अमेरिकाविरुद्ध नै जाइलाग्न थाले ।

  • ‘सटिक, निट एण्ड क्लिन्ड’

यसबिच अमेरिकी हमला इराकमा मात्रै सीमित रहेन । अमेरिकी मरिन अफगानिस्तान, पाकिस्तान हुँदै सिङ्गो मध्यपूर्वमा फैलिसकेका थिए । यता अमेरिकाभित्र, इराकको मरुभूमि र अफगानिस्तानका उराठ पहाडहरूमा अमेरिकी सैनिकको जीवन जोखिममा नपारी दुश्मनको सिकार कसरी गर्न सकिन्छ भनेर उच्चस्तरका ड्रोन तथा प्रविधिमा शोध चलिरहेको थियो । बिगतका दिनहरूमा हत्या अप्रेसनहरू धेरै जोखिमपूर्ण थिए । सम्पूर्ण तयारी गर्दा त्यसको लागत निकै बढ्थ्यो, तर अब समय फेरिन लागेको थियो । सीआईए ‘सटिक, निड एण्ड क्लिन्ड’ र ‘चिपर टेक्नोलोजी’ चाहन्थ्यो ।

सेप्टेम्बर ११ र इराक युद्धपछि यो आवश्यक भइसकेको थियो । अल–कायदाका नेताहरू अफगानिस्तानका पहाडमा हराई जान्थे । परम्परागत शैलीले उनीहरूलाई नष्ट गर्न सम्भव देखिएन । त्यसपछि जन्मियो– ड्रोन, जसका आँखा सुक्ष्म होउन् । अरुले नदेख्ने गरी अभेद्य निगरानी गर्न सकियोस् । मानौँ संसारभरको आकाशमा अमेरिकी आँखा फिट गरिएका छन् ।

‘जेनरल अटोमिक्स एमक्यु–१ प्रिडेटर ड्रोन’ र ‘एजीएम–११४ मिसाइल’ अमेरिकी हतियार उद्योगमा ठुलो फट्को साबित भयो । यसबाट जासुसी र हत्याको काम निकै छरितो र सटिक हुन पुग्यो । ‘एमक्यु–९ रिपर’ त्यसैमध्येको उत्कृष्ट ड्रोन हो । यसले लामो दुरीको यात्रा गर्न सक्छ । सटिक सूचना संकलन गर्न सक्छ र चौबिसै घण्टा आकाशमा बसेर दुश्मनको एक–एक गतिविधिलाई नियाल्न सक्छ ।

यसमा प्रयोग गरिने क्यामेराले हजारौँ माइल टाढाबाट कुनै पनि गाडीको नम्बर प्लेट सजिलै पढ्न सक्छ । आकाशमा हुने बादल र रातमा हुने अँध्यारोलाई चिरेर सूचना संकलनलाई सटिक बनाउन सक्छ तथा भू–उपग्रहमार्फत सूचना आदान–प्रदान गरिने हुँदा मानवरहित यो विमानबाट वासिङ्टनमा बसेर इस्लामावादमा हमला गर्न सकिन्छ । अर्थात् वातानुकुलित कोठामा बसेर शत्रु भूमिमा प्रवेश नगरी उनीहरूलाई निगरानी गर्न, नष्ट गर्न सकिने भयो ।

सीआईएका लागि यो क्रान्तिकारी फट्को साबित भयो । अब आफ्नो क्षति बेगर कोठामा बसेर इराक, यमन, अफगानिस्तान र सोमालियामा हमला गर्न सक्ने क्षमतामा विकसित भएको थियो ।

तर, यति हुँदाहुँदै पनि एउटा मानिस सम्पूर्ण अमेरिकी सुरक्षातन्त्रदेखि धेरै टाढा थियो । ओसामा बिन लादेन कहाँ लुकेर बसेको छ भन्ने सीआईएले भेउ पाउनै सकेको थिएन । सबैभन्दा उन्नत ड्रोनले पनि उसको ठेगाना पत्ता लगाउन सकिरहेको थिएन ।

लादेन रहेको आशंकामा सबै ठाउँमा गोलाबारी गरियो, ड्रोनबाट सटिक लक्ष्यमा हमला गरियो, जासुस खटाइयो, पैसा खुवाइयो तर लादेन फेला पर्न सकेनन् । अमेरिकाले लादेन पक्राउ गर्ने नाममा ९ देशमा विशेष सैन्य अप्रेसन चलाएर झन्डै १० लाख मानिसको हत्या गरिसकेको थियो, तर उसैले विगत एक दशकदेखि लादेन फेला पार्न सकेको थिएन । यो सीआईएका लागि असफलताको सूचक थियो ।

यत्तिकैमा क्यालेन्डरमा सन् २०१० आइपुग्यो । पाकिस्तानको एबोटावादमा लामो निगरानी पश्चात एउटा ठुलो पर्खालले सुरक्षित पारिएको घरमा लादेन लुकेर बसेको हुन सक्ने आकलन गरियो । घरमा फोन र इन्टनेट जडान गरिएको थिएन । घरका मानिसको छिमेकीसँग पनि उठबस थिएन । लामो समयदेखि घरको निगरानी गर्दै गरेका सीआईएका विश्लेषकले घरमा लादेन नै लुकेको हुन सक्ने निष्कर्ष निकाले ।

त्यसपछि पाकिस्तानी सरकारको जानकारीविना, पाकिस्तानी धर्तीमा एउटा विशेष र महत्त्वपूर्ण अप्रेसन सञ्चालन गर्‍यो अमेरिकाले । त्यसको नाम थियो– अप्रेसन नेप्च्यून स्पीयर ।

8_U.S. President Barack Obama and members of his national security team

नेभी सिलका विशेष कमाण्डो दस्ताले पाकिस्तानको भूमिमा प्रवेश गरेर ओसामा बिन लादेनलाई सदाका लागि खत्म गरिदिए । यो सबै अप्रेसन राष्ट्रपति बाराक ओबामाले ह्वाइट हाउसको सिचुएसन रुममा बसेर प्रत्यक्ष हेरिरहेका थिए । सीआईएका लागि यो अप्रेसन– धैर्यता, निगरानी र मिहिन विश्लेषणको सर्वोच्च प्रमाण हो, तर लादेनलाई मारेर न त अल–कायदाको समूल नष्ट हुन सक्यो न अमेरिका विरोधी भावनामा कमी आउन सक्यो ।

  • टेक जाइन्टहरूसँगको सहकार्य

ओसामा बिन लादेनको हत्या सीआईएका लागि नयाँ युगमा प्रवेशको ढोका थियो । त्यसले सीआईएलाई फेरि अर्को एउटा नयाँ मिशन प्रदान गर्‍यो– हमला हुनु अगावै चुनौतीलाई निस्तेज पार्ने । यतिबेलासम्म सीआईएको नेतृत्व अब विश्वभरको निगरानीका लागि आईस–ब्रेकको पर्खाइमा थियो । सीआईएले त्यस्तो व्यक्ति फेला पार्‍यो, जो आधुनिक दुनियाँको गुप्तचरीलाई नयाँ क्षितिजसम्म पुर्‍याउन प्रतिवद्ध थियो । उसले अमेरिकी गुप्तचरीको इतिहासमा नयाँ अध्याय लेखिदियो । त्यो व्यक्तिको नाम थियो– एलेक्स कर्प ।

7_Alex Karp_Palantir

एलेक्स कर्पको संस्थाको नाम हो– प्यालेनटियर टेक्नोलोजीज । कर्प फिलाडेल्फियाको यहुदी परिवारमा हुर्किएका थिए । उनका बुवा बालरोग विशेषज्ञ हुन् भने आमा कलाकार । उनले सामाजिक सिद्धान्त पढेका छन् र फ्रैंकफर्ट विश्वविद्यालयबाट पीएचडी गरेका छन् । विद्यार्थी जीवनमा उनले कहिल्यै जासुसी प्रविधि कम्पनी चलाउने कल्पनासमेत गरेका थिएनन् ।

सन् २००३मा कर्पले पिटर थिलसँग मिलेर एउटा समूह बनाउँछन् । थिल, एलन मस्कको संस्था पेपालका सह–संस्थापक हुन् । थिल त्यसका मुख्य विचारक थिए । उनको महत्त्वपूर्ण पुस्तक छ– ‘जेरो टु वनः नोट्स अन स्ट्राटप अर हाउ टु विल्ड द फ्युचर’ । उनी सिलिकन भ्यालीको शक्तिलाई अमेरिकाको राष्ट्रिय सुरक्षा रणनीतिमा कसरी सहयोगी बनाउन सकिन्छ भनेर सोचिरहेका थिए । के त्यस्तो कुनै सफ्टवेयरको निर्माण गर्न सकिन्छ, जसले अमेरिकाले विश्वभर आतंकवादी ठहर्‍याएका व्यक्ति, संस्था र सञ्जालको खोजी गर्न सकोस् ?

कर्पका लागि थिलसँगको सहकार्य ऐतिहासिक साबित भयो ।

उनीहरूको ‘हाइली सोफेस्टिकेटेड’, ‘हाइली टेक्नोलोजिकल’ खोजमा सीआईएले लगानी गर्‍यो । प्यालेनटियर टेक्नोलोजीजका इन्जिनियरहरू सीआईएका विश्लेषकहरूसँगै मिलेर काम गर्न थाल्छन् । खोजी हो– विश्वभरका सूचना जालोमा आफूलाई चाहिने सटिक जानकारी हासिल गर्नु । विश्वभर कुना–कुनामा लुकेर रहेका डटहरू जोड्नु । यसले फोन कलहरू, यात्रा विवरणहरू, बैंकिङ वायरहरू, ड्रोन फुटेजहरू तथा सम्पूर्ण डिजिटल फुटप्रिन्टहरूबाट हासिल सबै जानकारीहरूलाई एक मेलोमा निल्छ र आवश्यक पर्ने डिजिटल ब्लुप्रिन्ट तयार पार्छ ।

18_Alex Karp & Peter Thiel

एकदिन एलेक्स कर्प र पिटर थिलको समूहले सीआईएलाई भन्छ– सूचना, जानकारी र जासुसीको नयाँ युगमा तपाईंहरूलाई स्वागत छ । हामी सफल भयौँ । तर, खासमा काम कहिल्यै सकिँदैन । उनीहरू निरन्तर त्यसको स्तरोन्तिका लागि ‘ट्वान्टी फोर–सेभेन’ काम गरिरहेका हुन्छन् अर्थात् सातै दिन, चौबिसै घण्टा । किन ? जबाफ स्पष्ट छ– विश्वभर अमेरिकी सर्वोच्चता कायम गराउन, ताकि विश्वमा शान्ति र समृद्धि कायम रहोस् ।

सीआईएका लागि यसले खेल नै परिवर्तन गरिदियो । अप्रेसनहरू छिटो हुन थाले । महिनौँ लगाएर खोजिने लक्ष्यहरू घण्टामै फेला पर्न थाले । आतंकवादी समूहहरूले कुनै पनि घटनालाई अन्जाम दिनुअघि नै उनीहरू भताभुङ्ग हुन थाले । ड्रग कार्टेल गर्नेहरू सीआईएको प्रेमबिना अस्तित्व जोगाउनै नसक्ने अवस्थामा पुगे । प्यालेनटियरसँग मिलेर सीआईएले भावी खतराहरूबारे मात्रै योजना बनाउँदैन ।

उसले विश्वको सुदुर कुनामा कुरुसले जसरी मस्तिष्कमा बुनिँदै गरिएको योजनालाई पनि निगरानी गर्न सक्ने हैसियत दिलाउँछ सीआईएलाई र एजेन्सीले त्यसमा अकाट्य जित हासिल गर्छ ।

यसका लागि सीआईएले अमेरिकी इतिहासमै सबैभन्दा धेरै बजेट खर्च गर्छ । त्यस्तो बजेट, जसको कुनै अडिट देखाउनु पर्दैन । अमेरिकी कंग्रेसमा सुनुवाइ गर्नु पर्दैन । आफ्ना करदातालाई त्यसबारे कुनै जानकारी दिनु पर्दैन । योजना जहाँबाट पनि कोर्न सकिन्छ र जहाँबाट पनि अपरेट गर्न सकिन्छ ।

सन् १९४७ मा एजेन्सीको स्थापना गर्दैगर्दा कल्पना गरिएकोभन्दा आज यो पूर्णतया भिन्न स्तर र हैसियतमा छ । हालैका दिनहरूमा सार्वजनिक भएका केही अतिगोप्य दस्तावेजहरूले एजेन्सीसँग नयाँ आक्रामक साइबर क्षमताहरू रहेको, ड्रोन अप्रेसनहरूमा पोख्त रहेको, सिलिकन भ्यालीका टेक जाइन्टहरूसँग राम्रो साझेदारी गरेको तथा छद्म युद्धमा महारथ हासिल गरेको देखाएका छन् । युक्रेन र गाजामा भएका युद्धहरूले सीआईएको क्षमतामा थप निखार ल्याएको छ ।

तर, यसैबिच सोभियत संघको गतिलाई बिर्साउने गरी अर्को शक्ति उदाइरहेको छ– चीन । हाइपर्सोनिक वेपन्स, एडभान्स एआई सर्भिलान्स र क्वान्टम कम्युनिकेशन सिस्टममा पोख्त । एजेन्सीलाई थाहा छ, चीनलाई कमजोर शक्तिका रूपमा मूल्याङ्कन गर्न मिल्दैन । आजका दिन चीन झन्डै–झन्डै बराबरीको प्रतिस्पर्धी हो, तर अबको भिडन्त शीतयुद्धमा जस्तो नहुने पक्का छ ।

आजको संसार अत्यधिक जटिल प्रद्योगिकी र अत्यन्तै घातक हतियारको युगमा प्रवेश गरिसकेको छ । आर्थिक असमानता पहिलेभन्दा कयौँ गुणा बढेर चरममा छ र एकअर्कासँग अन्तरसम्बन्धित छ । यस्तोमा सीआईएको वास्तविक परीक्षाको घडी झन्–झन् नजिकिँदैछ । एउटा सानोभन्दा सानो गल्तीले पनि सिङ्गो मानव सभ्यतालाई त्यस्तो अँध्यारो युगमा प्रवेश गराउने क्षमता राख्छ, जहाँबाट फर्कन सम्भव छैन ।

(एजेन्सीहरूको सहयोगमा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप