शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

सिङ्गा तातोपानीमा स्नान गर्नेको भीड

सोमबार, २७ असोज २०८२, १३ : ४४
सोमबार, २७ असोज २०८२

सारांश

  • म्याग्दीको तातोपानीमा स्नान गर्न आउनेको संख्या बढेको छ, जसले गर्दा होटल र होमस्टे भरिभराउ भएका छन्।
  • दसैँयता दैनिक १५०० जनाले तातोपानीमा स्नान गरिरहेका छन्, र यसले गर्दा कोठाहरू पाउन मुस्किल भएको छ।
  • यहाँ छाला, ग्यास्ट्रिक, बाथ, र चोटपटक निको हुने जनविश्वासका साथ मानिसहरू स्नान गर्न आउने गर्छन्।

म्याग्दी । बेनी नगरपालिका–४ मा रहेको सिङ्गा तातोपानीका होटल तथा घरबास ‘होमस्टे’ केही दिनयता भरिभराउ भएका छन् । तातोपानी कुण्डमा स्नानका लागि देशका विभिन्न ठाउँबाट आएका पाहुनाहरूले त्यहाँका होटल र होमस्टे भरिएका हुन् । 

तातोपानीका होटल व्यवसायी जीवन केसीले दसैँयता होटल र घरबासका कोठा खाली नभएका बताएका छन् । ‘सानाठूला २० भन्दा धेरै होटलका कोठा एक हप्तायता भरिभराउ भएका छन्’, उनले भने, ‘होमस्टेमा पाहुनाहरूले आफैँ पकाएर खाने र बस्नका लागि घरका कोठा पनि पाउन मुस्किल भएको छ ।’ 

व्यवसायीका अनुसार तातोपानीमा हाल बास बस्ने पाहुनाको सङ्ख्या दैनिक एक हजार ५०० जनाको हाराहारीमा छ । असोज–कात्तिक, मङ्सिर, पुस, माघ, फागुन, चैत र वैशाख महिना तातोपानी कुण्डमा स्नान गर्ने याम हो । जेठदेखि भदौसम्म तातोपानी सुनसान थियो । चिसो बढेको, विद्यालय र क्याम्पसमा लामो बिदा भएको तथा बाली भित्र्याउने चटारो भइनसकेको हुँदा तातोपानी स्नान गरेर उपचारका लागि आउनेको चाप बढेको छ । 

तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव अम्मरबहादुर खत्रीले स्नान गर्न आउनेहरूको चाप बढेकाले बिहान साढे ५ः०० देखि साँझ ५ः०० बजेसम्म महिला, पुरुषको छ वटा समूह बनाएर स्नानको व्यवस्था मिलाइएको जानकारी दिए । 

‘सात सय महिला र चारदेखि पाँच सय पुरुष तातोपानी स्नानका लागि आएका छन्’, उनले भने, ‘महिला र पुरुषको छुट्टाछुट्टै समूह बनाएर दुई/दुई घण्टाका दरले स्नान गर्ने व्यवस्था मिलाइएको छ ।’

म्याग्दी नदीको किनारमा प्राकृतिक रूपमा बिरेनुनको गन्ध आउने ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानीलाई सङ्कलन गरेको पोखरीमा स्नानको व्यवस्था मिलाइएको छ । बिरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । 

बागलुङका सुमन निउरेले चोट लागेपछि खुट्टाको दुखाइ कम गराउन तातोपानीमा स्नानका लागि आएको बताए । तातोपानी सङ्कलन गरिएको तलाउमा १० दिन स्नान गर्न प्रतिव्यक्ति रु ३५० शुल्क तिर्नुपर्छ । प्रवेश शुल्कको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको छ । 

गत वर्ष नेपालका ६६ जिल्लाका साथै कोरिया, पोल्यान्ड, युक्रेन, स्कटल्यान्ड, रसिया, जापान र भारतका २० हजार ३४७ जना तातोपानी कुण्डमा स्नानका लागि आएका थिए । समितिका कर्मचारी रेशम कार्कीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १९ हजार ४०३ र २०७९/८० मा १८ हजार जनाले स्नान गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप