कृष्णबहादुर महराको बयान– ‘सञ्चारमन्त्री हुँदा बधाई दिन आएपछि चिनियाँ वाङलाई चिनेको हुँ’
सारांश
- पूर्वसभामुख कृष्णबहादुर महरामाथि सुन तस्करीमा संलग्न भएको आरोप लागेको छ, जसमा चिनियाँ नागरिकसँगको सम्बन्ध रहेको छ।
- सीआईबी अनुसन्धानका अनुसार, महराले चिनियाँ सुन तस्कर दाओजिन वाङसँगको सम्बन्ध स्वीकारेका छन्, जसले सुन तस्करीमा भूमिका खेलेको देखिन्छ।
- महराले आफूले वाङलाई फलफूल व्यापारीको रूपमा चिनेको र भन्सार प्रमुखलाई भेप प्रकरणमा सहयोग गर्न दबाब दिएको स्वीकारेका छन्।
काठमाडौँ । पूर्वसभामुख कृष्ण बहादुर महराविरुद्धको अभियोग उपर आजबाट थुनछेक सुरु हुँदै छ । बहस हुनुअघि काठमाडौँ जिल्ला अदालतमा उनीसँग बयान लिइने छ ।
२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरमा महरालाई प्रतिवादी कायम गरिएको हो ।
चिनियाँ सुन तस्कर दाओजिन वाङसँगको सम्पर्कको कारण महरा सुन तस्करीमा संलग्न देखिएको सीआइबीको अनुसन्धान निष्कर्ष छ । सरकारी वकिल र सीआईबीका अनुसन्धान अधिकृतहरूसँगको बयानमा महराले वाङसँगको आफ्नो ‘कनेक्सन’ स्विकारेका छन् ।
सञ्चारमन्त्री भएको बेला चिनियाँ नागरिक वाङ आफूलाई बधाई दिन आएको र त्यसबेलादेखि नै उनलाई चिनेको महराले बताएका छन् । ‘म सञ्चार मन्त्री हुँदा चिनियाँ नागरिक वाङ फलफूल लिएर मलाई बधाई दिन आएका थिए, सोही बेला मैले निजालाई चिनेको हुँ’ उनले बयानमा भनेका छन्, ‘आफू फलफूल व्यापारी हुँ भनी चिनाएको हुँदा मैले फलफूल व्यापारीको रूपमा मात्र निजलाई चिनेको हुँ ।’
वाङले विद्युतीय सामग्रीको व्यापार गर्नेबारे आफूलाई थाहा नभएको उल्लेख गर्दै महराले भनेका छन्, ‘निजको व्यापारमा मेरो कुनै पनि प्रकारको साझेदारी छैन ।’
लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन दाओजिन वाङको समूहले पठाएको सीआईबीको अनुसन्धान निष्कर्ष छ । वाङ फरार छन् । त्यसबेला सो भेप छुटाउन महराले विमानस्थल भन्सार कार्यालयका तत्कालीन भन्सार प्रमुखलाई दबाब दिएका थिए ।
वाङले आफ्नो ७३० थान भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको भनेपछि सामान वैध वा अवैध के हो त्यसबारे हेरिदिन भनेर भन्सार प्रमुलाई फोन गरेको महराले जिकिर गरेका छन् । बयानमा महराले भनेका छन्, ‘सामान वैध वा अवैध के हो ? कानुन बमोजिम के गर्न मिल्छ गरिदिनु मात्र भनेको हुँ ।’
महराले भेप प्रकरणमा आफ्नो लगानी र संलग्नता अस्वीकार गरेका छन् । सरकारी वकिलले उनीविरुद्ध सङ्गठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गतको कसुरमा ८ करोड ५५ लाख २८ हजार बिगो मागदाबी लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण