शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ललितपुर महानगरको सहयोगमा जुम्लामा गणेश मन्दिर निर्माण

मङ्गलबार, २८ असोज २०८२, १३ : ५३
मङ्गलबार, २८ असोज २०८२

सारांश

  • ललितपुर महानगरपालिकाले जुम्लामा गणेश मन्दिर निर्माणका लागि ३५ लाख रुपैयाँ सहयोग गरेको छ।
  • मन्दिर चन्दननाथ नगरपालिकाको वडा नं ५ मा बन्ने छ, जसको निर्माणमा ललितपुरका कालिगढहरू संलग्न छन्।
  • मेयर चिरिबाबु महर्जनले भगिनी सम्बन्ध कायम भएका पालिकालाई सहयोग गर्नु कर्तव्य भएको बताए।

ललितपुर । ललितपुर महानगरपालिकाको सहयोगमा जुम्लामा मन्दिर निर्माण हुने भएको छ । त्यसका लागि मेयर चिरिबाबु महर्जसहितको प्रतिनिधिमण्डल जुम्ला पुगेका छन् ।

उक्त प्रतिनिधिमण्डलमा मेयर महर्जनसहित प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ, महानगरका निर्देशक देवप्रसाद गुरागाईं, वडा नं २८ का अध्यक्ष वीरेन्द्र महर्जन छन् । 

चन्दननाथ नगरपालिकामा गणेश मन्दिर निर्माणका लागि महानगरले ३५ लाख रुपैयाँ सहयोग गरेको प्रमुख महर्जनले बताए । चन्दननाथका मेयर राजु सिंह कठायतका अनुसार मन्दिर १९ लाख ७५ हजार रुपैयाँमा निर्माणसम्पन्न भएको हो भने बाँकी रकम मन्दिरको गेट निर्माणमा गरिने उनले जानकारी दिए ।

महानगरका अनुसार गणशेको मूर्ति बनाउने ढुंगा खोकनाबाट लगिएको थियो भने मन्दिर निर्माणका लागि ललितपुरकै कालिगढहरूलाई लगाइएको थियो । मन्दिर चन्दननाथ नगरपालिकाको वडा नं ५ मा अवस्थित छ ।

१० वटा वडा रहेको चन्दननाथसँग ललितपुर महानगरले तीन वर्षअघि भगिनी सम्बन्ध कायम गरेको थियो । चन्दननाथसँग मिलेर ललितपुर महानगरले विभिन्न परियोजना कायम गर्दै आएको छ । मेयर महर्जनले भगिनी सम्बन्ध कायम भएका पालिकालाई सहयोग गर्नु जिम्मेवारी सम्झिएको बताए ।

मेयर महर्जनले भने, ‘भगिनी सम्बन्ध कायम भएपछि हामी मित भयौँ, एउटा मितले अर्को मितलाई सहयोग गर्नु कर्तव्य हो ।’

ganesh-mandir-jumla

महर्जनले भगिनी सम्बन्ध भएका पालिकाहरूलाई महानगरले सम्पदा र वातावरणमैत्री परियोजनालाई सहयोग गर्दै आएको पनि बताए । मेयर महर्जनका अनुसार ललितपुर महानगरको आकृति झल्कने संरचना निर्माणलाई प्राथमिकतामा राखिएको छ । यस्तो परियोजनामा आगामी दिनमा पनि महानगरको सहयोग रहने महर्जनले प्रतिबद्धता जनाए ।

चन्दननाथका मेयर कठायतले दुर्गम जिल्लामा रहेका पालिकालाई उपत्यकाको सुगम र सम्पदायुक्त महानगरले सहयोग गरेकोमा धन्यवाद दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप