शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कडा रोग लागेका बीमितका लागि पुनः ‘रिफर’ आवश्यक नपर्ने

बुधबार, २९ असोज २०८२, ०० : २९
बुधबार, २९ असोज २०८२

सारांश

  • स्वास्थ्य बिमा बोर्डले कडा रोगका बिरामीलाई फलोअपमा पुनः रेफर आवश्यक नपर्ने व्यवस्था गरेको छ।
  • बोर्डले क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी जस्ता रोगका बिरामीलाई एक पटक रेफर भएपछि सोही अस्पतालमा उपचार गर्न सकिने जनाएको छ।
  • गरिबी परिचयपत्र प्राप्त, अपाङ्गता, ज्येष्ठ नागरिकलगायतका बिरामीलाई पनि सोही अस्पतालमा फलोअप गराउँदा रिफर आवश्यक पर्दैन।

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा विन्दुबाट एक पटक प्रेषण भई सोही अस्पतालमा ‘फलोअप’ गराउँदा पुनः प्रेषण (रिफर) आवश्यक नपर्ने जनाएको छ । 

बोर्डले बीमित व्यक्ति प्रथम सेवा विन्दुको सेवा अपुग भई रिफरल केन्द्रमा जाँदा विभिन्न समस्या पर्ने भएकाले पुनः रिफर गर्नु नपर्ने व्यवस्था गरेको हो । बोर्डका उपसचिव पुण्यमाया गुरागाईँले एक पटक प्रथम सेवा विन्दुबाट रिफर गरिसकेको बिरामीलाई पुनः रिफर आवश्यक नभएको बताए । उनका अनुसार बोर्डअन्तर्गतका सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी सो विषयमा जानकारी गराइसकिएको छ । 

बोर्डले क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल, एनिमिया, पार्किन्सन, अल्जाइमर जस्ता कडा रोग लागेका बिरामीलाई एक पटक रिफर गरिसकेको अवस्थामा सोही अस्पतालमा उपचार गर्न जाँदा पुनः रिफर आवश्यक नपर्ने जनाएको हो । 

त्यसैगरी अति गरिबीको परिचयपत्र प्राप्त परिवार, अति अशक्त, अपागङ्ता, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, जटिल खालका क्षयरोग र ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको हकमा पनि एक पटक रिफर भई सोही अस्पतालमा फलोअप गराउँदा पुनः रिफर आवश्यक नपर्ने निर्णय गरिएको उपसचिव गुरागाईँले जानकारी दिए । 

आँखा स्वास्थ्यसम्बन्धीको जटिल समस्या, गर्भवती तथा सुत्केरी, दम, कडा किसिमका मानसिक रोग हकमा पनि रिफर आवश्यक नपर्ने जनाइएको छ । देशभरि बोर्डमा प्रथम सेवा विन्दु ३७७ वटा स्वास्थ्य संस्था र रिफरल स्वास्थ्य संस्था ९८ वटा छन् । बोर्डले सङ्घीय अस्पताल, विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानलाई प्रेषण केन्द्रका रूपमा राखेको छ । बोर्डमा हाल ९४ लाख बीमित आबद्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप