बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पर्सामा एक अर्ब ६२ करोड लगानीका ९६३ घरेलु उद्योग दर्ता

बिहीबार, ३० असोज २०८२, ०१ : ०६
बिहीबार, ३० असोज २०८२

सारांश

  • पर्सा जिल्लामा गत आर्थिक वर्षमा ९६३ वटा नयाँ घरेलु उद्योग दर्ता भएका छन्, जसले १ अर्ब ६२ करोड लगानी गर्ने लक्ष्य राखेका छन्।
  • यी उद्योगहरूले २,८९८ जनालाई रोजगारी दिने अनुमान छ, जसमा १,७३७ पुरुष र १,१६१ महिला रहेका छन्।
  • पछिल्ला वर्षहरूमा पर्सामा घरेलु उद्योग दर्ता गर्ने उद्यमीहरूको संख्यामा निरन्तर वृद्धि भएको छ।

पर्सा । गत आर्थिक वर्षमा पर्सा जिल्लामा कुल एक अर्ब ६२ करोड ५६ लाख ८५ हजार ५०० रुपैयाँ लगानी गर्ने उद्देश्यले ९ सय ६३ वटा नयाँ घरेलु उद्योग दर्ता भएका छन्।

घरेलु तथा साना उद्योग कार्यालय वीरगन्जका प्रमुख उद्योग अधिकृत पवन पञ्जीयारका अनुसार ती उद्योगहरूको स्थिर पुँजी एक अर्ब पाँच करोड ७७ लाख नौ हजार ३६० रुपैयाँ र चालु पुँजी ६७ करोड ४४ लाख सात हजार ५४० रुपैयाँ रहेको छ।

पञ्जीयारका अनुसार गत आवमा दर्ता भएका ती उद्योगहरूले दुई हजार ८९८ जनालाई रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ। रोजगारी पाउनेमध्ये एक हजार ७३७ पुरुष र एक हजार १६१ जना महिला रहेका छन्।

उनले भने, “पर्सा जिल्लामा घरेलु उद्योग दर्ता गर्ने उद्यमीहरूको सङ्ख्यामा पछिल्ला वर्षमा निरन्तर वृद्धि हुँदै आएको छ।”

कार्यालयका तथ्यांकअनुसार गत आर्थिक वर्षमा उत्पादकमूलक उद्योगतर्फ २१८ वटा नयाँ उद्योग दर्ता भएका छन्, जसको कूल पुँजी ४३ करोड ८२ लाख रुपैयाँ रहेको छ। त्यस्तै, कृषि तथा वन उद्योगतर्फ १४४ वटा उद्योग दर्ता हुँदा ती उद्योगहरूको कूल पुँजी ३९ करोड ३५ लाख रुपैयाँ रहेको छ।

निर्माण क्षेत्रतर्फ ७५ वटा उद्योग दर्ता भएका छन्, जसको पुँजी १० करोड ३३ लाख रुपैयाँ छ। पर्यटन उद्योगतर्फ एक सय छ वटा उद्योग दर्ता भएका छन्, जसको पुँजी दुई करोड २३ लाख रुपैयाँ रहेको छ।

त्यसैगरी, सेवाक्षेत्रमा ४२० वटा नयाँ उद्योग दर्ता भएका छन्, जसको कूल पुँजी ६६ करोड ८२ लाख रुपैयाँ रहेको कार्यालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप