किसानलाई धान काट्ने चटारो
सारांश
- लमही नगरपालिकाका किसानहरू धान पाकेपछि बिहानैदेखि खेतमा धान काट्न व्यस्त छन्।
- दसैँ लगत्तै धान काट्न सुरु गरेका किसानहरू तिहार नजिकिँदै गर्दा धान भित्र्याउन चटारोमा छन्।
- मौसम परिवर्तन भई पानी पर्ने डरले किसानहरूले धानबाली जोगाउन खेतमै काम गरिरहेका छन्।
दाङ । लमही नगरपालिका–३ की ४२ वर्षीया सीता चौधरी सोमबार बेलुका ५ः०० बजे खेतमा धान काट्दै थिइन् । धान काट्दै गरेको अवस्थामा भेटिएकी उनले भनिन्, “अहिले मौसम खुलेको छ । धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै धान काट्न व्यस्त हुने गरेका छौँ ।”
चौधरीले भनिन्, “देउखुरी क्षेत्रमा अधिकांश ठाउँमा सिँचाइ सुविधा पुगेकाले समयमै धान रोपाइँ हुने र छिट्टै पाक्दा दसैँ लगत्तै धान काट्न तथा काटेको धान सुकाएर दाइँ गर्न थालिसकेका छौँ ।”
दसैँअगाडि नै धान पाकेर पहेँलै भएकाले किसानले काट्न सुरु गरेका छन् । अहिले मौसम अनुकूल भएपछि भित्र्याउन सुरु गरेको उनीहरूको भनाइ छ । धान स्याहार्ने समयमा दाङसहित देशका विभिन्न ठाउँमा परेको अविरल वर्षाले पाकेको धानमा केही क्षति पुगेको किसान बताउँछन् । वर्षा भए पनि बाढी नआएकाले ठुलो नोक्सानी व्यहोर्नु नपरेको चौधरी बताउँछिन्।
“अहिले त्यस्तै वर्षा भएमा ठुलो क्षति हुने डरले बिहानदेखि बेलुकासम्म धान काट्न व्यस्त छौँ”, उनले भनिन् ।
सीतामात्र होइन अहिले देउखुरी क्षेत्रका अधिकांश किसान बिहानैदेखि बेलुकासम्म धान काट्न तथा बाली भित्र्याउन व्यस्त देखिन्छन् । तिहारको समय नजिकै आइरहँदा किसानलाई धान काट्न चटारो छ । उनीहरूले काटेको धान चाँडै भित्र्याउनका लागि खेतसँगैका सडक किनारामा सुकाउन थालेका छन् ।
यतिखेर दाङको देउखुरी क्षेत्रमात्र नभई सिँचाइ सुविधा पुगेका जिल्लाका अन्य क्षेत्रमा पनि बिहानैदेखि बेलुकासम्म किसान खेतमा धान काट्न व्यस्त देखिन्छन् । कतै काटेको धान थ्रेसरबाट दाइँ गर्न लागेका देखिन्छन् । बिहानैदेखि खेतमा धान काट्न आउने गरेको र बेलुका मात्र घर फर्कने गरेको लमही नगरपालिका–३ का ६० वर्षीया सावित्रा भण्डारी बताउँछिन्।
उनी भन्छिन्, “मौसम परिवर्तन भई पानी परेमा पाकेको धानमा क्षति हुन्छ । वर्षभरि खानपुग्ने खेती बिग्रिएमा कसरी परिवार पाल्ने भन्ने पिरलो लाग्छ । तिहारका लागि रोटी पकाउने, घर सरसफाइलगायतका सबै काम छाडेर सबै जना बिहानदेखि बेलुकासम्म खेतमै व्यस्त छौँ ।”
देउखुरीमा मात्र होइन, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, पश्चिम दाङका दङ्गीशरण, शान्तिनगर, बबई गाउँपालिकामा पनि धान पाकेर पहेँलै भएको छ । त्यहाँका किसानले पनि धान काट्न सुरु गरिसकेका छन् । दङ्गीशरण गाउँपालिका–३ रावत गाउँका माइली चौधरी बिहानैदेखि धान काट्न सुरु गरेको बताउँछिन् । तीन बिघा जमिन भाडामा लिएर धानखेती गरेको बताउने उनी पानी पर्छ कि भन्ने डरले बिहानैदेखि बेलुकासम्म खेतमै हुने गरेको बताइन् ।
जिल्लामा ३७ हजार दुई सय २५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यहाँका किसानले यस वर्ष सावित्री, राधा–४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२ लगायतका वर्णशङ्कर जातका धान लगाएका थिए । यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२, सुक्खा–३ जातका धान लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण