बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्वास्थ्य प्रणाली ध्वस्त भएपछि गाजामा अनियन्त्रित रोग फैलिने डब्ल्यूएचओको चेतावनी

शुक्रबार, ३१ असोज २०८२, १३ : ०३
शुक्रबार, ३१ असोज २०८२

सारांश

  • डब्ल्यूएचओले गाजामा स्वास्थ्य प्रणाली ध्वस्त भएको र रोगको प्रकोप नियन्त्रण बाहिर गएको चेतावनी दिएको छ।
  • गाजामा मेनिन्जाइटिस, गुइलेन-बार्रे सिन्ड्रोम र श्वासप्रश्वास सम्बन्धी रोगहरुको अनियन्त्रित फैलावटको चेतावनी दिइएको छ।
  • डब्ल्यूएचओले घाइतेहरूको उपचारका लागि वेस्ट बैंक वा छिमेकी देशहरूमा तत्काल कारबाही गर्न अपिल गरेको छ।

कायरो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले स्वास्थ्य प्रणाली ध्वस्त भए पछि गाजामा रोगको प्रकोप नियन्त्रण बाहिर सर्दै गएको चेतावनी दिएको छ । हाल यस क्षेत्रका ३६ मध्ये १३ वटा अस्पतालहरू मात्र चलिरहेको द्वन्द्व र विनाशको बीचमा आंशिक रूपमा काम गरिरहेका छन् । 

पत्रकारहरूसँग कुरा गर्दै पूर्वी भूमध्यसागरका लागि डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा.हनान बाल्खीले गाजाको स्वास्थ्य प्रणाली ध्वस्त भएको आवश्यक पूर्वाधारको अवशेष मात्र बाँकी रहेको बताएका छन् ।

गाजामा स्वास्थ्य संस्थाहरु थोरै बाँकी रहेको बताउँदै उनले मेनिन्जाइटिस, गुइलेन–बार्रे सिन्ड्रोम, र श्वासप्रश्वास सम्बन्धी रोगहरू लगायत सङ्क्रामक रोगहरूको अनियन्त्रित फैलावटको चेतावनी दिएका छन् । डब्ल्यूएचओको तथ्याङ्क अनुसार गाजा सहरमा हाल आठवटा स्वास्थ्य केन्द्रहरू मात्र सञ्चालनमा छन भने कर्मचारी अभावको कारण आंशिक रूपमा मात्र सेवा दिइरहेका छन् ।  

डा.बाल्कीले गाजाको स्वास्थ्य क्षेत्रको पुनर्निर्माण गर्न अरबौँ डलर र दशकौँको काम लाग्ने कुरामा जोड दिँदै आवागमनमा चलिरहेको प्रतिबन्ध र द्रुत गतिमा परिवर्तन भइरहेको अवस्थाका कारण क्षतिको मूल्याङ्कन गर्नेसमेत चुनौती रहेको बताएका छन् ।

सन् २०२३ अक्टोबर–७ देखि, संयुक्त राष्ट्रको तथ्याङ्कअनुसार स्वास्थ्य सुविधाहरूमा ८०० भन्दा बढी आक्रमणहरू रिपोर्ट गरिएको छ । बाल्खीले विगत दुई वर्षमा जन्मेका बच्चाहरूप्रति पनि चिन्ता व्यक्त गर्दै उनीहरुले बाल्यकालका आवश्यक खोपहरूसमेत गुमाएको बताएका छन् ।

चालु महिनाको सुरुमा विश्व स्वास्थ्य सङ्गठनको एक रिपोर्टले अक्टोबर २०२३ देखि युद्धमा कयौँ घाइते तथा अपाङ्गताबाट ग्रस्त रहेको र घाइते भएका मध्ये एक चौथाइ बालबालिका रहेको खुलासा गरेको थियो ।

गाजामा मानसिक स्वास्थ्यको आवश्यकता पनि दोब्बर भन्दा बढी भएको छ, तैपनि हालको सेवाहरूमा निकै कमी आएको एजेन्सीले जनाएको छ ।

डा.बाल्खीले घाइते व्यक्तिहरूलाई वेस्ट ब्याङ्क वा छिमेकी देशहरूमा उपचारका लागि तत्काल कारबाही गर्न अपिल गर्दै इन्धन, खाना, चिकित्सा आपूर्ति र कर्मचारीहरूको पहुँच बढाउन आह्वान गरे । 

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको सैन्य कारबाही सुरु भएदेखि कम्तीमा ६७ हजार ९६७ जनाको मृत्यु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप