शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
जेनजी आन्दोलनको प्रभाव

होटलमा ५० प्रतिशतमात्रै अकुपेन्सी, व्यवसायी भन्छन्– ट्रेकिङ र हिमाल आरोहणमा पर्यटक वृद्धिले थोरै राहत

शुक्रबार, ३१ असोज २०८२, १७ : ००
शुक्रबार, ३१ असोज २०८२

सारांश

  • जेनजी आन्दोलनले पर्यटन सिजनको मुखैमा होटल अकुपेन्सीमा गिरावट ल्यायो, जसले गर्दा पर्यटक आगमनमा कमी आयो।
  • गत वर्षको सेप्टेम्बरको तुलनामा यस वर्ष १८.३ प्रतिशतले पर्यटक घटेका छन्, जसका कारण होटल व्यवसायी चिन्तित छन्।
  • व्यवसायीहरूले सरकारलाई नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न र पर्यटन क्षेत्रको पुनरुत्थानका लागि पहल गर्न आग्रह गरेका छन्।

काठमाडौँ । जेनजी आन्दोलनको प्रत्यक्ष प्रभावले नेपालको प्रमुख पर्यटन सिजनको मुखैमा होटल अकुपेन्सी (कोठा भरिने दर) मा भारी गिरावट आएको छ । पर्यटक आउने सिजनमै भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण समग्र पर्यटन क्षेत्रमा गम्भीर असर पुर्‍याएको छ । आन्दोलनपछि दिनचर्या करिब सामान्य अवस्थामा फर्किसके पनि पर्यटक आगमनमा वृद्धि हुन सकेको छैन ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्ष सेप्टेरम्बर महिनाको तुलनामा यो वर्ष सेप्टेम्बर महिनामा पर्यटक आगमन १८.३ प्रतिशतले घटेको छ । जसका कारण काठमाडौं लगायत पर्यटकीय क्षेत्रका तारे होटलहरूको औसत अकुपेन्सी ५० प्रतिशतमा खुम्चिएको होटल व्यवसायी बताँउछन् ।

व्यवसायीहरूका अनुसार चितवनलगायतका प्रमुख पर्यटकीय क्षेत्रमा अकुपेन्सी दर ४० प्रतिशतभन्दा तल झरेको छ । पर्यटक घटेकै कारण होटलहरूको अकुपेन्सी दरमा असर परेको देखिन्छ । पिक सिजनमा पर्यटक घट्दा होटलहरूको समग्र अकुपेन्सी ह्वात्तै घटेर औसत ५० प्रतिशतमा खुम्चिएको व्यवसायी बताउँछन् ।

व्यवसायीहरूले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा चेन होटलका रूपमा स्थापना भएको हिल्टन होटल, वर्णवास, हायात लगायतमा भएको तोडफोड र आगजनीका घटनाकै प्रत्यक्ष प्रभावले होटल अकुपेन्सीमा भारी गिरावट आएको व्यवसायीहरूको दाबी छ ।

जेनजी आन्दोलनका क्रममा आन्तरिक लगानीका होटलहरू मात्र नभई बहुराष्ट्रिय लगानीका चेन होटलहरू समेत निसानामा परेका थिए । होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान)का अनुसार, जेनजी आन्दोलनका कारण होटल उद्योगमा करिब २५ अर्ब रुपैयाँ बराबरको भौतिक तथा आर्थिक क्षति पुगेको अनुमान छ । यो क्षतिले व्यवसायीहरूलाई ठुलो मार पारेको छ ।

होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाह जेनजी आन्दोलनको प्रभावबाट होटल क्षेत्रमा परेको असरलाई सकारात्मक सन्देश दिन आवश्यक रहेको बताउँछन् । उनका अनुसार आन्दोलनपछि हाल पर्वतारोहण र पदयात्राको सिजन सुरु भएकाले केही चहलपहल बढेको देखिए पनि त्यो सन्तोषजनक छैन ।

अध्यक्ष शाहले भने, ‘विभिन्न देशले नेपाल भ्रमणका लागि जारी गरेको ट्राभल एडभाइजरी (यात्रा चेतावनी) अझै हटेको छैन, जसले पर्यटकहरूलाई आउनबाट रोकिरहेको छ ।’

विशेषगरी अमेरिका र क्यानडाजस्ता ठुला पर्यटन बजारले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्दा सतर्कता अपनाउन आग्रह गर्दै ‘ट्राभल एडभाइजरी’ जारी गरेपछि त्यसले थप समस्या सिर्जना गरेको उनको भनाइ छ ।

अध्यक्ष शाहले हाल काठमाडौँका तारे होटलहरूको औसत अकुपेन्सी करिब ५० प्रतिशत रहेको बताए । धेरै होटल भएकाले यसलाई खासै नराम्रो भन्न नमिल्ने तर विगतमा पनि पर्यटन आगमनको पिक सिजनमा सामान्यतया ७० प्रतिशतभन्दा बढी अकुपेन्सी हुने गरेको उनले प्रस्ट पारे । अहिले २० प्रतिशतले कमी आएर ५० प्रतिशतमा झरे पनि सकारात्मक मान्नुपर्ने उनले बताए ।

अध्यक्ष शाहले अब स्थितिलाई सामान्य बनाउन र विदेशी पर्यटकको विश्वास जित्न सरकारले विभिन्न देशका दूतावास र एयरलाइन्ससँग समन्वय गरेर नेपाल सुरक्षित गन्तव्य हो भन्ने सकारात्मक सन्देश सशक्त रूपमा प्रवाह गर्नुपर्नेमा जोड दिए । ‘यसलाई बेलैमा ट्याकल गरेन भने पर्यटन उद्योगमा दीर्घकालीन असर पर्ने निश्चित छ । त्यसैले सरकारले समयमै विश्वभर नेपाल सुरक्षित रहेको सन्देश दिन जरुरी छ,’ उनले भने ।

शाहले हाल नेपालमा रहेका पर्यटकलाई घुमफिर वा पर्यटन गतिविधि गर्न कुनै पनि खालको समस्या नरहेको दाबी गरे । तर, अन्तर्राष्ट्रिय बजारमा फैलिएको नकारात्मक सन्देशले नयाँ पर्यटक आउन हिचकिचाइरहेको उनको भनाइ छ ।

उनले नेपालमा पर्यटकस्तरदेखि तारेसम्म गरी १० हजारभन्दा बढी होटल सञ्चालनमा रहेको बताए । पिक सिजनमै होटल अकुपेन्सीमा भारी गिरावट आउँदा देशको अर्थतन्त्रमा समेत ठुलो धक्का पुग्ने जोखिम रहेको उनले प्रस्ट पारे ।

काठमाडौँस्थित म्यारियट होटलका सञ्चालक शशीकान्त अग्रवालले भने बुकिङहरू पूर्ण रूपमा रद्द हुनुको साटो ‘होल्ड’मा राखिएको बताए । उनले अहिले ट्रेकिङ र हिमाल आरोहण गर्ने पर्यटकमा वृद्धि भएकाले केही वृद्धि भएको बताए । उनले काठमाडौँका पाँच तारे होटलमा ५० प्रतिशतमात्रै अकुपेन्सी रहेको जिकिर गरे ।

नेपालमा रहेका पर्यटकहरूले कुनै समस्याविना नै भ्रमण गरिरहे पनि नयाँ पर्यटक आउन हिचकिचाइरहेको उनको तर्क छ । उनका अनुसार पर्यटकले नेपाल आगमनलाई ‘होल्ड’ गरेको अवस्थाले अझै पनि परिस्थितिलाई सकारात्मक दिशामा फर्काउन सकिने आशा देखिन्छ ।

अग्रवालले भने, ‘ठुला ट्राभल एजेन्सीहरू अन्तर्राष्ट्रिय यात्रा चेतावनी र यहाँको अवस्थालाई लिएर चिन्तित छन् । यसले बुकिङहरूलाई अगाडि बढाउन ढिलाइ गरिरहेको छ,’ उनले थपे, ‘अहिलेको अवस्थामा सरकारले सक्रियता देखाउनु जरुरी छ । विशेषगरी भारत र चीनजस्ता प्रमुख बजारहरूमा रहेका नेपाली दूतावासहरूले नेपाल सुरक्षित छ भन्ने सन्देश दृढताका साथ दिनुपर्छ ।’

आन्दोलनको असर सहरकेन्द्रित होटलमा बढी देखिए पनि ट्रेकिङ क्षेत्रमा तुलनात्मक रूपमा कम रहेको अग्रवालको विश्लेषण छ । ट्रेकिङ गन्तव्यहरू प्रायः सहरी क्षेत्रबाट टाढा हुन्छन् र आन्दोलनको प्रत्यक्ष प्रभाव कम पर्ने भएकाले आन्दोलनको प्रभाव कम पर्न गएको हो ।

जेनजी आन्दोलनले सहरकेन्द्रित होटलहरूमा बढी असर पारेको भए पनि यसको प्रभाव देशभरका पर्यटकीय क्षेत्रमा देखिएको छ । काठमाडौँदेखि चितवनसम्मका प्रमुख पर्यटकीय क्षेत्रका होटल व्यवसायीहरूले आन्दोलनपछि पर्यटकको आगमनमा कमी आएको र भएका बुकिङसमेत रद्द भएको बताएका छन् ।

उनीहरूले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि तत्काल सरकारी पहल आवश्यक रहेकोमा जोड दिएका छन् । क्षेत्रीय होटल संघ सौराहा, चितवनका पूर्वकोषाध्यक्ष माधव दवाडीले पनि जेनजी आन्दोलनले चितवन, सौराहामा पनि असर परेको बताए । उनका अनुसार जेनजी आन्दोलनले गर्दा पहिले नै भएका बुकिङ धामाधम रद्द हुँदा सौराहाका होटल खाली अवस्थामा छन् ।

जेनजी आन्दोलन र वर्षाको कारण सडकको अवस्था बिग्रिँदा चितवनका होटलहरूमा अहिले ६० प्रतिशत कोठा खाली रहेको दवाडीले बताए । ‘चितवन सौराहा लगायत अन्य पर्यटकीय क्षेत्रका होटलमा अहिले ४० प्रतिशतभन्दा बढी अकुपेन्सी छैन,’ उनले भने, ‘नयाँ बुकिङहरू पनि आन्दोलनको अवस्था के हुने हो भन्ने अन्योलले गर्दा रोकिएका छन् ।’

चाडपर्व र बाटोको अवस्थामा केही सुधार भए पनि समग्र स्थिति चिन्ताजनक रहेको उनको भनाइ छ । सौराहाजस्ता पर्यटकीय स्थलहरूमा मुख्य आम्दानीको स्रोत नै विदेशी पर्यटक हुने भएकाले त्यहाँका व्यवसायीहरू निकै मर्कामा परेको उनले बताए ।

नेपाल सुरक्षित छ भन्ने सन्देश दिन सरकारले ढिला गर्नु हुँदैन

पर्यटन व्यवसायीहरूले यो विषम परिस्थितिलाई सामान्य बनाउन र अन्तर्राष्ट्रिय बजारमा नेपाल सुरक्षित छ भन्ने सन्देश पुर्‍याउनका लागि तत्काल सरकारी तथा कूटनीतिक पहलको आवश्यकतामा जोड दिएका छन् ।

नेपालको पर्यटन उद्योगका लागि अंग्रेजी पात्रोका सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनालाई ‘पिक सिजन’ अर्थात् मुख्य पर्यटकीय मौसम मानिन्छ ।

होटल व्यवसायीहरूका अनुसार यी तीन महिनामा जति संख्यामा पर्यटक नेपाल भित्रिन्छन् र उनीहरूले जति खर्च गर्छन्, त्यसले बाँकी नौ महिनाको खर्च धान्न पनि मद्दत पुर्‍याउने गरेको छ । यसपालि यो सिजनको पहिलो महिनामै पर्यटक आगमन सन्तोषजनक भएन । त्यसले पनि पर्यटन उद्योगमा निराशा छाएको छ ।

विगतका पिक सिजनहरूमा अपवादबाहेक सायदै पर्यटक आगमन संख्या नकारात्मक हुने गरेको थियो । सन् २०१९ को विश्वव्यापी कोभिड महामारी र सशस्त्र द्वन्द्वमा पनि पर्यटन क्षेत्रमा धेरै असर परेको थिएन । तर, यसपालि कुनै महामारी वा द्वन्द्व नभए पनि आन्तरिक राजनीतिक घटनाक्रमले पर्यटनमा गम्भीर धक्का दिएको उनीहरूको ठम्याई छ ।

म्यारियट होटलका सञ्चालक अग्रवालले पर्यटन क्षेत्रमा दीर्घकालीन असर पर्न नदिन सरकारले तत्काल प्रभावकारी योजनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । व्यवसायीहरूले आफ्नो स्तरबाट सामाजिक सञ्जालमार्फत पर्यटकीय स्थलहरूमा अवस्था सामान्य रहेको देखाउने प्रयास गरिरहेको पनि उनको भनाइ छ ।

२०२५ को सेप्टेम्बरमा नेपालमा पर्यटक संख्या १८.३ प्रतिशतले घटेको तथ्यांक सरकारसँग छ । यो महिना नेपालमा ७८ हजार ७११ विदेशी पर्यटक आएका छन् । जबकि, गत वर्षको सेप्टेम्बरमा ९६ हजार ३ सय २ पर्यटकले नेपाल घुमेका थिए । यो गिरावट विगतको भन्दा फरक प्रकृतिको र अप्रत्याशित रहेको व्यवसायीहरूको भनाइ छ ।

सन् २०२५ को जनवरीदेखि सेप्टेम्बरसम्मको नौ महिना अवधिको पर्यटक आगमन तथ्यांक केलाउँदा पनि नकारात्मक स्थिति देखिन्छ । पछिल्लो नौ महिनामा ८ लाख १५ हजार २ सय ७३ पर्यटक नेपालको पाहुना बनेका थिए, तर गत वर्ष सोही अवधिमा ८ लाख १६ हजार ६ सय ३३ जनाले नेपाल भ्रमण गरेका थिए ।

वार्षिक तथ्यांकमा पनि सामान्य गिरावट देखिएको छ, तर पिक सिजनको पहिलो महिना पर्यटक घट्दा समग्र पर्यटन उद्योगलाई नै चिन्तित बनाएको व्यवसायी बताउँछन् ।

नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको ठुलो योगदान रहेकोले यसलाई पुनर्जीवित गर्न सरकारले तत्कालै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश प्रवाह गर्दै सुरक्षाको प्रत्याभूति दिलाउन अपरिहार्य देखिएको छ । अन्यथा, यसको दीर्घकालीन असरले समग्र नेपाली अर्थतन्त्रलाई नै नकारात्मक रूपमा प्रभावित गर्न सक्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप