शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

मेरो काँधमा जिम्मेवारी छ, त्यो पूरा नगरी छोड्दिनँ : केपी ओली

‘सुशीला कार्की प्रधानमन्त्री बन्नु हुँदैनथ्यो’
शुक्रबार, ३१ असोज २०८२, १८ : १०
शुक्रबार, ३१ असोज २०८२

सारांश

  • केपी शर्मा ओलीले आफ्नो काँधमा जिम्मेवारी रहेको र त्यो पूरा नगरी नेतृत्व नछोड्ने बताए।
  • ओलीले पार्टीलाई तिक्ततासाथ नभई मित्रतासाथ लैजान आग्रह गर्दै अपराधीहरू बाहिर रहेको बताए।
  • उनले पूर्वराष्ट्रपति विद्या भण्डारीले अप्ठ्यारो स्थितिमा आफूलाई साथ दिनुपर्ने बताए।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो काँधमा जिम्मेवारी रहेको उल्लेख गर्दै त्यो पूरा नगरी नेतृत्व नछोड्ने बताएका छन् । 

शुक्रबार दसौँ केन्द्रीय कमिटी बैठकलाई समापन गर्दै निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् । 

'५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ, मेरो काँधमा जिम्मेवारी छ , त्यो पूरा नगरी छोड्दिनँ । मेरो राजीनामा महाधिवेशनमा छलफल गरौला, प्रतिनिधीहरुसँग फैसला मागौँला । पार्टीलाई तिक्तता साथ नलगौँ, मित्रतासाथ जाऔँ । अपराधीहरू बाहिर छन्, हतियार बाहिर छ, 'ओलीले भने । 

पूर्वराष्ट्रपति विद्या भण्डारीले अहिले अप्ठ्यारो स्थितिमा आफूलाई साथ दिनुपर्ने उनले बताए । अहिले भएको परिवर्तन सकारात्मक नभएको समेत ओलीले बताए ।  

उनले जबरजस्ती नभई नीति,विधिले सञ्चालन हुने बताए । ओलीले सुशीला कार्की नेतृत्वको सरकारले आफूलाई थुन्ने प्रयास गरिरहेको समेत बताए । नेतृत्व र पार्टीमाथि निरन्तर हमला भइरहेको समेत उनले बताए । 

उनले भने,'हामीले गरेका कामहरू देखिएकै छ, विकासहरु देखिएकै छ, त्यसै भएर हमला गरेका होलान् , साथीहरूले मौका पाउनु भएको छ र हमला गर्नु भएको छ, मैले यो भन्दा चर्को हमला सुनेको छु ! ७६ मा सुनेको छु ,७८ मा पनि सुनेको छु । बाहिर जग हँसाई नगरौँ, बाहिर जे पनि नबोलौँ ? पार्टी भित्र छलफल गरौँ ।आलोचनाबाट बाहिर कोही पनि हुन्न ।' 

उनले पार्टीभित्र मतभेद नरहेको समेत बताए । पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री नबन्नुपर्ने भए पनि उनी प्रधानमन्त्री बनेको ओलीले बताए । 

उनले फागुन २१ मा चुनाव नहुने समेत बताए । उनले भने,'अब बाँकी ४ महिना छ, चुनाव हुँदैन, नहुने चुनावमा हामी जानु हुन्न ?'

उनले संसद् पुनर्स्थापना हुनुपर्नेमा समेत जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप