शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर: सञ्चारमन्त्री खरेल

शुक्रबार, ३१ असोज २०८२, २२ : ५०
शुक्रबार, ३१ असोज २०८२

सारांश

  • मन्त्री खरेलले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत हुने बताए।
  • उनले जेनजी आन्दोलनका क्रममा क्षति भएका संरचनाको पुनर्निर्माण र पीडितलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरे।
  • मन्त्री खरेलले विद्यालयको वार्षिकोत्सवमा सम्बोधन गर्दै शिक्षाको महत्वबारे चर्चा गरे।

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत हुने बताएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित गम्भीर समुद्र सेतु मा.वि.को ७३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री खरेलले सुशासन सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे ।

सञ्चारमन्त्री खरेलले भने, ‘जेनजी आन्दोलनको जगमा बनेको नागरिक सरकारको ‘क्लियर म्यान्डेट’ निर्धारित समयभित्रै निर्वाचन गर्ने, सुशासन कायम र भ्रष्टाचार नियन्त्रण रहेको छ, जेनजीले उठाएको आवाज सुशासन र भ्रष्टाचार नियन्त्रण हो, यो सरकारले त्यो आवाजलाई मुखरित गर्छ । त्यसैले हामी (सरकार) ले भनेका छौ सुशासन प्राथमिकतामा छ ।’

विशेष परिस्थितिमा फरक भूमिकामा आफू मन्त्रीको जिम्मेवारीमा आएको भन्दै मन्त्री खरेलले सकेसम्म जनताले परिणाम अनुभूत गर्ने गरी काम गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘म मन्त्रीको रूपमा कति काम गर्न सकुँला या नसकुँला तपाईँहरूले खोतल्दै जाँदा बदनाम हुने काम चाहिँ गर्ने छैन । जस्तो गएको छु त्यस्तै फर्कन्छु सकेसम्म राम्रो गर्नेछु तर बिगार्ने र बिग्रिने छैन ।’

मन्त्री खरेलले जेनजी आन्दोलनका क्रममा क्षति भएका सिंहदरबार, राष्ट्रपति भवन, संसद् भवन, सर्वोच्च अदालतलगायतको पुनः निर्माणको कार्य अगाडि बढाउनुपर्ने अपरिहार्यता रहेको बर्ताए। उनले जेनजी आन्दोलनका क्रममा मृत्युभएका परिवार शोकमा रहेको तथा घाइते भएकाहरू अझै अस्पतालमा रहेको भन्दै पीडितको न्याय हुने गरी जनधनको क्षतिको अनुसन्धान गरी कारबाहीको दायरामा ल्याइने विश्वास व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक नीराकुमारी श्रेष्ठले विद्यालयले शैक्षिक पाठ्य सामग्रीको अलावा विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा प्रदान गर्दै आएको बताइन् । उनले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र पठनपाठनलाई सहज बनाउन आवश्यक भौतिक पूर्वाधार र स्रोतसाधनको सुनिश्चितताका लागि पहल गरिने बताइन् । विद्यालयमा तीन वर्षे प्रारम्भिक बाल शिक्षा देखि १२ कक्षासम्म अध्ययन हुन्छ। कक्षा ११ र १२ मा व्यवस्थापन र कानुन विषयमा पढाई हुन्छ भने सिटिइभिटीको सम्बन्धन प्राप्त गरी सिभिल र जियोम्याटिक्स इन्जिनियरिङका तीन वर्षे डिप्लोमाका कक्षाहरू सञ्चालनमा रहेको छ। विद्यालयमा हाल एक हजार चार सय विद्यार्थी अध्ययनरत छन् । सो अवसरमा विद्यालयको शैक्षिक विकास र उन्नयनमा विभिन्न तवरबाट योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई विद्यालयकोतर्फबाट मन्त्री खरेलले सम्मान गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप