६० किलो सुन प्रकरण : १० चिनियाँसहित १८ जना सुन तस्कर कारागार बाहिर
सारांश
- २०८० मा ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धानका क्रममा उच्च तहका प्रहरीमाथि कारबाहीको सिफारिस गरिएको थियो।
- हङकङबाट तस्करी गरी ल्याएको सुन प्रकरणमा संलग्न १८ जना विभिन्न कारागारबाट फरार भएका थिए, जसमा चिनियाँ र अन्य देशका नागरिकहरू थिए।
- फरार हुनेहरूमा सुन तस्करीमा मुख्य भूमिका रहेका व्यक्तिहरू र वाल्डो क्यासिनोका मेनेजर लगायत रहेका थिए।
काठमाडौँ । ६० किलो सुन तस्करी र त्यसबारेको अनुसन्धानमा प्रश्न उठेपछि २०८० मा मुलुकको राजनीति नै सुन प्रकरणमा केन्द्रित थियो ।
जाँचबुझ आयोगले पुनः त्यसमाथि अनुसन्धान र उच्च तहका प्रहरी कर्मचारीमाथि कारबाही गर्न सिफारिस गरेको थियो ।
हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन २०८० साउन ३ मा राजस्व अनुसन्धान विभागले विमानस्थलबाट बरामद गरेको थियो । सो सुनको तस्करीमा संलग्न १८ जना सुन तस्कर जेनजी प्रदर्शनमा कारागारबाट भागेका छन् ।
भदौ २४ मा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका उनीहरू सरकारले पटक–पटक सूचना जारी गर्दा पनि फर्केका छैनन् । फरार हुनेमा सुन तस्करीमा मुख्य भूमिकामा देखिएका याओ पुचेङ ‘एलेक्स’ सहित १० जना चिनियाँ नागरिक छन् ।
बेल्जियन नागरिक दावा छिरिङ पनि कारागारबाट फरार भएका छन् । २०८० साउनमा दोस्रो साता छिरिङ पक्राउ परेपछि अमला रोका फरार भएकी थिइन् । तिब्बतीयन मूलका बेल्जियन छिरिङकी पत्नी हुन् रोल्पा घर भएकी अमला रोका ।
सुन तस्करीमा संलग्न छिरिङ पक्राउ परेको झण्डै दुई वर्षपछि टोखाबाट पक्राउ परेकी अमला धरौटीमा रिहा भएकी थिइन् । २०८२ असार ९ मा अमला धरौटीमा रिहा भइन् । पत्नी रिहा भएको दुई महिनापछि दावा जेलबाट फरार भएका हुन् ।
अमला र दावा माओवादी केन्द्रका उप–महासचिव वर्षमान पुन ‘अनन्त’ सँग निकट छिन् । रोल्पा–काठमाडौँ सम्पर्क मञ्चको पूर्व उपाध्यक्ष भएर काम गरेकी अमला र अनन्तको बिचमा ‘पारिवारिक सम्बन्ध’ रहेको सो पार्टीका कार्यकर्ताहरू बताउँछन् ।
प्रदर्शनको मौका छोपेर भाग्नेमा चिनियाँ नागरिकहरू याओ पुचेङ ‘एलेक्स’, ली वेन सुङ्ग, जीक्वान लिन, ली–नेङकाई, डीङ सेग्फा, याङ वेन, राजु भोटे भन्ने कङ्का चासी, सोनाम गुरुङ र टीयान मि छन् । टीयान मि ठमेलस्थित केटीबी रेष्टुरेण्टका सञ्चालक हुन् ।
वाल्डो क्यासिनोका मेनेजर टेरेन्स टिएसई पनि कारागारबाट भागेका छन् । उनलाई सुन तस्करी जाँचबुझ आयोगको सिफारिसको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेर दोस्रो चरणमा अनुसन्धान गरेको थियो ।
भोजपुरको अरुण गाउँपालिका घर भएका हर्कराज राई र बाराको कलैया उपमहानगरपालिका वडा नम्बर–१ घर भएका भोला साह सोनार पनि जेलबाट भागेका छन् ।
सुन तस्करीमा संलग्न ५ जना भारतीय नागरिकहरू फरार छन् । भारतीय नागरिकहरू प्रशान्त गणेश बजबलकार, सिद्धनाथ अशोक गायकवाड, धिरज दिनेश भोइटे, थुप्तेन छिरिङ ‘टासी’ र बैजनाथ ब्रह्मादत्त गोयल छन् ।
तस्करीको सुन ‘रेडी ट्रेड प्राली’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँ ल्याएको थियो ।त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट बरामद सुन सङ्गठित तरिकाले तस्करी भएको भन्दै राजस्व अनुसन्धान विभागले अनुसन्धानको जिम्मेवारी सिआईबीलाई हस्तान्तरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण