बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

मिथिलामा सुखरातीको उल्लास, पूजा र पारिवारिक मिलनको पर्व

सोमबार, ०३ कात्तिक २०८२, १५ : २९
सोमबार, ०३ कात्तिक २०८२

मधेस । मिथिला क्षेत्रमा धूमधामका साथ मनाइँदै छ सुखराती पर्व । दीपावलीको दोस्रो दिनका रूपमा चिनिने यो पर्वले मिथिलावासी घर आँगन लिपपोत, सरसफाइ गरी नव दुलही जस्तै सिँगारिन्छ । 

बिहानैदेखि जनकपुरधाम मटिहानी जलेश्वर, मलंगवा राजविराज सिरहा लगायत का गाउँ–सहरमा रमाइलो र पूजापाठको माहोल छ।सुखराती मिथिलामा केवल दीपावलीको भाग मात्र नभई आर्थिक सामाजिक र धार्मिक रूपमा महत्त्वपूर्ण दिन हो। 

यो दिनलाई लक्ष्मी पूजाको अघिल्लो तयारीको दिनका रूपमा मानिन्छ। घर घरमा सरसफाइ आँगन नयाँ सरसामान किनमेल र लक्ष्मीदेवीलाई स्वागतका लागि तयारी गरिन्छ।

यसले घरमा शुभ र पवित्रता ल्याउने विश्वास गरिन्छ । यहाँका राम चोक, जानकी चोक, रामान चोक र गंगासागर क्षेत्रका पसलहरूमा पूजा सामग्री,फुल बत्ती मिठाई र कपडाको किनमेल गर्नेहरूको भिड नै लागेको छ।

स्थानीय व्यापारी जिबछ साहका अनुसार यस समयमा राम्रो व्यापार हुने गरेको छ । त्यस्तै बजारमा फुलमालाको सुगन्ध, मिठाईको मीठो स्वाद र बिजुलीका झिलमिल बत्तीहरूले उत्सवमा चमक थपेको व्यापारीहरू बताउँछन् । 

मिथिलामा सुखराती धन र समृद्धिको प्रतीक पर्व हो। धार्मिक दृष्टिले यो दिनलाई धनदेवी लक्ष्मीको आगमनको पूर्वसन्ध्या मानिन्छ। 

सुखरातीको अर्को विशेषता घर–घरमा बनाइने मिथिला परिकार हुन्। आजको दिन मिठाई, पूरी, तरकारी, मैदाबाट खाजा र मालपुवा बनाइन्छ। छिमेकी र आफन्तबिच मिठाई आदान–प्रदान गर्ने चलनले सामाजिक सम्बन्ध अझ सुदृढ बनाउँछ।

सुखराती केवल धार्मिक पर्व नभई यसलाई सामाजिक एकताको दिनका रूपमा लिइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप