सडक बालबालिकामुक्त सहर बनाउन लागिपरेका हेटौँडाका ‘मामा’
सारांश
- अर्पण पराजुलीलाई सडक बालबालिकाहरूको उद्धार र संरक्षणमा पुर्याएको योगदानको लागि 'मामा' उपनाम दिइएको हो।
- उनले सडक बालबालिकाको जीवनशैली र समस्या बुझ्नका लागि सडकमा ३ महिना बिताए, जसले 'मामाघर नेपाल' स्थापना गर्न सहयोग गर्यो।
- मामाघर नेपालले सडक बालबालिकाको शिक्षा, स्वास्थ्य र सामाजिक दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेलेको छ।
हेटौँडा । अर्पण पराजुलीलाई उनको वास्तविक नामभन्दा ‘मामा’ उपनामले बढी चिनिन्छ । मकवानपुरको बकैया गाउँपालिका–४ जुरेलीका स्थायी बासिन्दा पराजुली सडकमा जीवन बिताउन बाध्य बालबालिकाका मात्र नभई, हेटौँडाका अधिकांशका लागि प्रिय मामा हुन् ।
‘मामा’ उनको कर्मले दिएको उपनाम हो । हेटौँडालाई ‘सडक बालबालिकामुक्त सहर’ बनाउने अभियानको थालनीसँगै उनलाई मामा उपनामले सम्बोधन थालिएको हो ।
औपचारिक अनौपचारिक कार्यक्रममा उनलाई भेट्नेले मामा नै भन्छन् । सामाजिक कार्यसहित हेटौँडा क्याम्पसमा अध्यापन गराउँदै आएका उनले सडक बालबालिकाको व्यवस्थापनको अभिभावकत्व ग्रहण गर्ने गरेका छन् ।
उनी घरविहीन मानव र भोकाहरूको व्यवस्थापनको मुद्दामा सार्वजनिक वकालत गर्छन् । ‘घरबारविहीन, असहाय तथा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरूका लागि खाना बैंक स्थापना, घरवारविहीन मानव व्यवस्थापनको नीति नभएसम्म समृद्धिको यात्रा अधुरो रहन्छ,’ उनी भन्छन्, ‘समाजका अतिविपन्न वर्गको पीडालाई सम्बोधन गर्ने मात्र नभई, खेर गइरहेको खानाको सदुपयोग गरी सामाजिक एकता र सहयोगको भावनालाई पनि प्रवर्द्धन गर्दछ । स्थानीय सरकारले उक्त मानवीय कार्यमा सकारात्मक रहेको र आवश्यक परेको खण्डमा सहयोग गर्नुपर्छ ।’
कसरी पाए मामा उपनाम ?
२०६८ सालतिरको अर्पण स्नातकोत्तर सकेर पीएचडीको तयारीमा थिए । पीएचडीका लागि अर्पण काठमाडौँ जान हेटौँडा बसपार्कमा बस कुरिरहेका थिए । ‘एउटा दृश्यले जीवनको बाटो नै मोडिदियो,’ उनी भन्छन्, ‘केही सडक बालबालिका अरुले मःम खाएर फालेको टपरीमा बचेको अचार चाटिरहेका थिए । कोही दूधको प्याकेटमा डेनड्राइट सुँघ्दै थिए भने कोही फोहोरको थुप्रोबाट हड्डीका टुक्रा निकालेर चपाउँदै थिए ।’
त्यस दृश्यले अर्पणलाई रातभर निदाउन दिएन र भोलिपल्टै ती बालबालिकाका लागि केही गर्ने अठोट लिएर उनी बसपार्क पुगे । सुरुमा बालबालिकाहरू उनीसँग डराए । मःम खुवाउने सर्तपछि भने ती बालकहरू नजिक हुन थाले ।
_QCG5ilne6C.jpg)
उक्त क्रममा एकदिन परिचय गर्दैगर्दा सडक बालबालिकाको तत्कालीन ‘डन’ प्रशान्त ढकालको मामा पनि पराजुली रहेको थाहा भयो । उनै ढकालले अर्पणलाई देखाउँदै अन्य बालकहरूलाई आदेश दिए, ‘आजबाट सबैले मामा भन’ । त्यसपछि प्रशान्तको आदेशमा सबैले उनलाई मामा भन्न थाले र उनी सडक बालबालिकाका साझा मामा बने ।
सडकबाटै अनुसन्धान पछि मामाघर नेपाल
बालबालिकाको समस्यालाई नजिकबाट बुझ्न अर्पणले आफै सडकमा ३ महिना बिताउने निर्णय गरे । उनी ५२ रात हेटौँडाको सडकपेटीमा र बाँकी दिन देशका अन्य सहरहरूमा सडक बालबालिकासँगै सुते । त्यस अवधिमा उनले बालबालिका सडकमा आउनुको कारण, उनीहरूको जीवनशैली र भविष्यबारे गहिरो अध्ययन गरे । अनि २३ पृष्ठको विस्तृत रिपोर्ट तयार पारे ।
उनले उक्त रिपोर्ट तत्कालीन हेटौँडा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र अन्य सरोकारवाला निकायमा प्रस्तुत गरे । उनको अध्ययन र समर्पणबाट प्रभावित भएर सरकारी निकायहरूले उनलाई नै सडक बालबालिका व्यवस्थापनको नेतृत्व लिन आग्रह गरे र आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
र सरकारी र स्थानीयको सहयोगको आश्वासनपछि २०६८ कात्तिक २७ गते ‘मामाघर नेपाल’ संस्था स्थापना भयो । तत्कालीन समयमा हेटौँडा–४, जीएस चोकमा ५ कोठाको घर भाडामा लिएर ‘मामाघर नेपाल’ को सुरुवात गरिएको थियो । पहिलो दिन एक जना ‘भान्जा’ (सडक बालक) लाई आश्रय दिएर सुरु भएको मामाघरमा दोस्रो दिन १४ जना आइपुगेका अर्पण स्मरण गर्छन् ।

२०७० सालमा विधिवत् रूपमा दर्ता भएको सो संस्थाले हेटौँडाको मुख्य चुनौतीको रूपमा रहेको सडक बालबालिकाको समस्या समाधानमा महत्त्वपूर्ण भूमिका खलेको छ । ‘मामाघर नेपाल’ मा तत्कालीन समयमा स्थानीय २–४ जना युवा सक्रिय थिए । अर्पणसहित संस्थामा आबद्ध युवाहरूले हेटौँडाका विभिन्न स्थानबाट सडक बालक खोजी गर्दै उनीहरूलाई आश्रय दिने काम सुरु गरेका थिए ।
संस्था सुरु गरेको एक वर्षमा सडक बालबालिकाको सङ्ख्या बढ्दै गएपछि भाडाको घर साँघुरो भयो । त्यसपछि हेटौँडा–४ कान्तिलोक पथमा १५ कोठा भएको सिंगै घर नै भाडामा लिनुपर्ने बाध्यता आयो । आर्थिक अभावबिच मामाघर नेपालले १३ वर्ष पूरा गरिसकेको छ ।
सुरुवाती दिनमा भाडाको घरमा चलेको मामाघर अहिले हेटौँडा–११, डाङडुङेमा आफ्नै बालमैत्री भवनमा सञ्चालित छ । दानमा प्राप्त २ कठ्ठा १४ धुर जग्गामा ‘एक व्यक्ति एक इँटा’ जस्ता अभियान र विभिन्न संस्थागत सहयोगबाट सो भवन निर्माण गरिएको अर्पण बताउँछन् ।
_733RcGhziJ.jpg)
उनका अनुसार आश्रित बालबालिकाहरूलाई भुटनदेवी माध्यमिक विद्यालयले निःशुल्क शिक्षा प्रदान गरेको छ भने एक निजी क्लिनिकले निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाएको छ ।
अर्पण भन्छन्, ‘संस्थाले बालबालिकाको उद्धार र संरक्षण मात्र होइन, उनीहरूलाई हेर्ने सामाजिक दृष्टिकोणमा समेत सकारात्मक परिवर्तन ल्याएको छ ।’
आश्रममा आश्रित भए बालक हाल युवा भइसके । आश्रमका बालक राजु अधिकारीले हाल घरजम गरेर हेटौँडा–११ स्थित डाङडुङेमा आफ्नै घर बनाएका छन्, उनी रोजगारीका सिलसिलामा विदेशमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण