बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सल्यानमा लागुऔषध, पटका, अवैध च्याउ, काठ र मर्चा बरामद, ५४ फरार प्रतिवादी पक्राउ

मङ्गलबार, ०४ कात्तिक २०८२, १० : ४८
मङ्गलबार, ०४ कात्तिक २०८२

सारांश

  • सल्यान प्रहरीले लागुऔषध, पटका, च्याउ, काठ र घरेलु मदिरा बनाउने मर्चासहित अवैध सामग्री बरामद गरेको छ।
  • प्रहरीले ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ, भने विभिन्न स्थानबाट पटका र च्याउ बरामद गरेको छ।
  • सल्यान प्रहरीले ५४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा पेश गरेको छ।

‎सर्खेत । जिल्ला प्रहरी कार्यालय सल्यानले हालै गरेको विभिन्न कारबाहीहरूबाट लागुऔषध, अवैध पटका, जंगली च्याउ, काठ र घरेलु मदिरा बनाउने मर्चासहित ठूलो परिमाणमा अवैध सामग्री बरामद गर्नुका साथै ५४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। 

‎प्रहरीका अनुसार, साेमबार सल्यानको छत्रेश्वरी गाउँपालिका-६ लान्तीबाट ९ ग्राम ६५० मिलिग्राम खैरो पदार्थ (ब्राउन सुगर) र दुई वटा मोटरसाइकलसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

‎पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका-६ का ३६ वर्षीय कृष्णबहादुर वली र शारदा नगरपालिका-२ का २८ वर्षीय संगीत परियार रहेका छन्।

‎ प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीको कमाण्डमा खटिएको ७ जनाको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सल्यानमा राखी थप अनुसन्धान गरिरहेको छ।

‎यस्तै, शारदा नगरपालिका-१ श्रीनगर बजारस्थित स्पन्दन गिफ्ट एण्ड कस्मेटिक पसलमा बिक्रीका लागि राखिएका विभिन्न किसिमका ६८ प्याकेट पटका बरामद गरिएको छ ।
‎ बरामद पटकाहरूमा मुन्ना कम्पनीको ४८ पिस, पाण्डा ४ प्याकेट, उजला ५ प्याकेट, सानो साउण्ड ४ प्याकेट, दप बराम २ प्याकेट, फ्यान्सी रकेट २ प्याकेट, बिग फ्लास १ प्याकेट र ठूलो साउण्ड रकेट २ प्याकेट रहेका छन्।

‎यस्तै, बनगाड कुपिण्डे नगरपालिका-१ सल्लीबजारस्थित जाजरकोट-सुर्खेत सडकखण्डमा जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको भे.१ ज ३९३८ नम्बरको फोर्स गाडी चेकजाँच गर्दा करिब ४८ केजी रातो च्याउ बरामद भएको छ। बर्दियाको बारबर्दिया नगरपालिका-८ का ३२ वर्षीय चालक शुक्रराज विकले चलाएको गाडी, च्याउ र चालकलाई आवश्यक कारबाहीका लागि बनगाड कुपिण्डे सब डिभिजन वन कार्यालय अम्रा, सल्यानमा पठाइएको छ।

‎९४०० केजी अवैध सल्लाको आँख्ला बरामद
‎प्रहरीका अनुसार, साेमबार नै बनगाड कुपिण्डे नगरपालिका-१ सल्ली बजारमै जाजरकोटबाट नेपालगञ्ज, बाँकेतर्फ लग्दै गरिएका सु.प्र. ०१-००१ ख २४९४ र ना.७ ख ९१०० नम्बरका दुई वटा ट्रकलाई चेकजाँच गर्दा कागजपत्र नभएको करिब ९४०० केजी सल्लाको आँख्ला बरामद भएको छ। 

‎गाडी, सामान र चालकसहित आवश्यक कारबाहीका लागि बनगाड कुपिण्डे सब डिभिजन वन कार्यालय अम्रा, सल्यानमा पठाइएको छ।

‎बनगाड कुपिण्डे नगरपालिका-१ सल्ली बजारस्थित सुर्खेत-छिन्चु-जाजरकोट सडकखण्डमा सुर्खेतबाट जाजरकोटतर्फ जाँदै गरेको क.प्र.० २-००१ ख ७८२ नम्बरको फोर्स गाडी चेकजाँच गर्दा स्याउको कार्टुनभित्र र अन्य स्थानमा लुकाइछिपाइ राखिएको जम्मा २१ कार्टुन घरेलु मदिरा बनाउन प्रयोग हुने औषधी (मर्चा) बरामद भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ का करिब ३६ वर्षीय अमर सिजालीले चलाएको गाडीबाट उक्त मर्चा बरामद गरिएको हो।

‎५४ जना फरार प्रतिवादी पक्राउ

‎जिल्ला प्रहरी कार्यालय सल्यानले विभिन्न मुद्दामा फरार रहेका ५४ जना प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा पेस गरेको छ। 

‎पक्राउ पर्नेमा 'जेनजी' आन्दोलनमा फरार रहेका २ जना कैदी र फैसला कार्यान्वयनको सिलसिलामा फरार रहेका ५२ जना प्रतिवादीहरू रहेका छन्।

‎प्रहरीले फरार प्रतिवादीहरूको खोजी कार्यलाई तीव्रता दिइरहेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप