शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

सरकार र दलहरूबिच संवादहीनताको अन्त्य, निर्वाचनको वातावरण बन्ला ?

मङ्गलबार, ०४ कात्तिक २०८२, ११ : ४४
मङ्गलबार, ०४ कात्तिक २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले पद सम्हालेको ३९ दिनपछि राजनीतिक दलहरूसँग औपचारिक छलफल गर्दैछिन्।
  • निर्वाचनको म्यान्डेट पाएकी कार्कीले दलहरूसँग लामो समय संवाद नगरेपछि आलोचना भएको थियो।
  • दलहरूले छलफलमा दोस्रो तहका नेता पठाउने निर्णय गरेका छन्, जसले शंका उत्पन्न गरेको छ।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पद सम्हालेको ३९ दिनपछि राजनीतिक दलसँग पहिलो पटक औपचारिक छलफल गर्दैछन् । 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन गर्ने म्यान्डेटसहित भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले एक महिना भन्दा बढी समयपछि दलहरूसँग औपचारिक संवादको थालनी गर्न लागेकी हुन् । 

मंगलबार अपराह्न चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने छलफलसँगै राजनीतिक दलहरू र सरकारबिचको संवादहीनताको अन्त्य हुनेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले दिएको बाधा अड्काउ फुकाऊ अधिकार प्रयोग गरी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । कार्कीले प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रतिनिधिसभा विघटन र आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्न सिफारिस गरेकी थिइन् । कार्कीले सिफारिस गरेलगत्तै राष्ट्रपतिले स्वीकृत गरेका थिए ।

निर्वाचनको म्याण्डेट पाएको सरकारले निर्वाचनका ‘स्टेक होल्डर’ राजनीतिक दलहरूसँग लामो समय औपचारिक संवाद नगरेपछि आलोचना भइरहेको थियो । दलहरूलाई कार्कीले संवादका लागि बोलाएपछि निर्वाचनको वातावरण केही हदसम्म निर्माण हुने आकलन गर्न सकिन्छ । 

तथापि उनले बोलाएको छलफलमा राजनीतिक दलहरूले दोस्रो तहका नेतालाई पठाउने तय गरेका छन् । 

विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले महामन्त्री गगन थापा र प्रवक्ता डा.प्रकाशशरण महतलाई छलफलमा पठाउने निर्णय लिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । त्यस्तै एमालेले महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली तथा नेकपा (माओवादी केन्द्र)ले नेताहरू पम्फा भुसाल र वर्षमान पुनलाई पठाउने भएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीले महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहनकुमार श्रेष्ठलाई पठाउन लागेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राजनीतिक दललाई प्रधानमन्त्री कार्कीसँग संवादका लागि भनेर पत्र पठाएको थियो, तर दलहरूका  अध्यक्ष सहभागी नभएर दोस्रो तहका नेता पठाउने भएपछि कतै प्रधानमन्त्रीलाई विश्वास नगरेका त होइनन् भन्ने प्रश्न भने बाँकी नै छ । 

प्रधानमन्त्रीको सचिवालयले भने आफूहरूले दललाई सम्बोधन गरेर पत्र पठाएकाले संवादमा कसलाई पठाउने भन्ने उनीहरूको विषय रहेको बताएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावललाई रातोपाटीले राजनीतिक दलका पहिलो तहका नेता अथवा सभापति/अध्यक्षहरूलाई नबोलाएर दोस्रो तहका नेताहरूलाई किन बोलाउनु भयो भनेर सोधेको थियो । 

जवाफमा रावलले भने, ‘हामीले कुन नेता भनेर बोलाएका होइनौँ । दललाई चिन्ने हो । दललाई उपस्थित भइदिइनु हुन भनेर अनुरोध गरेको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप