सयपत्री फूलको माग धान्न धौ–धौ
तनहुँ । यहाँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ को याञ्चोकटार लघु उद्यमी महिला समूहमा आबद्ध महिलाहरूले सामूहिक रूपमा सयपत्री फूलखेती गरेका छन् ।
याञ्चोक आमा समूह र आँधीमूल आमा समूहलाई ‘मर्ज’ गरी यहाँका महिलाहरूले विसं २०८० देखि व्यावसायिक फूलखेती गरिरहेका हुन् ।
अन्य बालीनाली लगाउँदा बाँदरले खाएर दुःख दिन थालेपछि फूलखेती सुरु गरेका उद्यमीहरूले जनाएका छन् । समूहकी अध्यक्ष सुन्तली गुरुङले विशेष गरी तिहारका समयमा यस खेतीबाट बढी आम्दानी हुने गरेको बताइन् ।
यसपटकको तिहारको भाइटिका नजिकिँदै गर्दा फूल र मालाका माग धान्न भ्याइनभ्याइ भएको उनले जानकारी दिइन् ।
अध्यक्ष गुरुङले भनिन्,“हाल दैनिक ४० जना जनशक्ति फूल टिप्न र माला बनाउन खटिइरहेका छन् । माग धान्न धौ धौ भएको छ । कतिपय व्यवसायीहरू फूल खोज्दै बारीमा पुग्न थालेपछि बजारीकरणमा केही सहज भएको छ । गत वर्ष रु चार लाख ३० हजार बराबरको फूल बिक्री भएकामा यस वर्ष रु पाँच लाखभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।”
आँबुखैरेनी कृषि शाखा प्रमुख सन्तोष केसीले हाल यहाँ थोरै फूलखेती गरेका किसानले पनि रु ३५ देखि ४० हजारसम्म फूल बिक्री गरेको बताए ।
उनले मागअनुसार फूल आपूर्ति गर्न नसकिएको बताए । “सुरुमा जसजसले बुकिङ गरे उनीहरूलाई दिन मात्रै सकिएको छ, अरूलाई फूल र माला बिक्री गर्न सकिरहेका छैनौँ”, शाखा प्रमुख केसीले भने,“यस क्षेत्रमा मात्रै ५० रोपनी क्षेत्रफलमा फूलखेती गरिएको छ । करिब रु १५/१६ लाखको फूल उत्पादन हुनुपर्ने भए पनि सोचेअनुरूप उत्पादन भने भइरहेको छैन ।”
यहाँ प्रतिमाला रु ८० देखि १०० सम्म बिक्री मूल्य तोकिएको छ । सयपत्री फूल प्रतिकिलोग्राम रु ३५० देखि ४०० सम्म कायम गरिएको छ ।
गत वर्षको तुलनामा यस वर्ष प्रतिमालामा रु ५० बढी मूल्य पाइएको पुष्प व्यवसायीहरू बताउँछन् । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा सयपत्रीको खेती प्रविधि र बजारीकरणमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए ।
“माग धान्न सकिएको छैन । अर्को वर्ष एक महिनादेखि नै बुकिङ काउन्टर खुला गर्ने योजना बनाउँछौँ”, उनले भने, “फूल खेतीले यस क्षेत्रका महिलाहरू आत्मनिर्भरतर्फ उन्मुख बन्दै गएका छन् । पालिकाले यसलाई थप व्यवस्थित बनाउँछ ।”
यस वर्ष फूल कतार नपठाइने
यस वर्ष आन्तरिक माग बढी भएकाले अन्य देशहरूमा फूल निर्यात नगरिने गाउँपालिकाले जनाएको छ । गत वर्ष माला तयार गरी बिक्रीका लागि कतारमा पठाइएको थियो ।
यसैगरी कात्तिक ८ देखि १५ गतेसम्म आँबुखैरेनीमा हुन गइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका लागि एक हजार माला ‘बुकिङ’ गरिसकेको कृषि शाखा प्रमुख केसीले जानकारी दिए ।
छिम्केश्वरी–बूढीदेवी मन्दिरको बृहत्तर विकासका लागि छिम्केश्वरी पर्यटन विकास समितिले महायज्ञको आयोजना गर्दैछ । महायज्ञमा पण्डित दीनबन्धु पोख्रेलले कथा वाचन गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण