बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पर्वतमा ६५ करोडको कृषिजन्य वस्तुको कारोबार

शुक्रबार, ०७ कात्तिक २०८२, ११ : २१
शुक्रबार, ०७ कात्तिक २०८२

सारांश

  • पर्वतमा कृषिजन्य वस्तुको कारोबारबाट ६५ करोड ३० लाख बढी भित्रिएको छ।
  • आर्थिक वर्ष २०८१/८२ मा आलु, धान, अलैँची, तरकारी, मकै र सुन्तलाको बिक्रीबाट कृषकले कारोबार गरेका हुन्।
  • कृषि ज्ञान केन्द्रले कृषकलाई विभिन्न अनुदान वितरण गरेको छ, जसमा मिनी पावरटिलर, कुटानी मिल लगायत छन्।

पर्वत । खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्दै गएको पर्वतमा कृषिजन्य वस्तुको कारोबारबाट रु ६५ करोड ३० लाख बढी भित्रिएको छ । मुख्य छ वटा बालीनालीलाई प्राथमिकता दिएर उत्पादन गरिएको कृषिजन्य वस्तुबाट आर्थिक वर्ष २०८१/८२ मा सो परिमाणको कारोबार भएको हो । 

कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीका अनुसार आलु, धान, अलैँची, तरकारी बाली, मकै र सुन्तला जात फलफूलको बिक्रीबाट जिल्लाभरका कृषकले उक्त कारोबार गरेका हुन् । जिल्लामा मुख्यतया आलु र सुन्तलाको बढी कारोबार हुने गर्दछ ।

धान, मौसमी तथा बेमौसमी तरकारी, अलैँची र मकै तथा काँक्रोको मूल बीउ समेत उत्पादन गरी बिक्री गरिँदै आएको छ । गत आर्थिक वर्षमा जिल्लामा खाद्यान्न बाली ७२ हजार ९५० मेट्रिक टन उत्पादन भएको थियो । मकै ३३ हजार १२० मेट्रिक टन, गहुँ पाँच हजार २२० मेट्रिक टन उत्पादन भएको छ । 

प्रमुख अधिकारीका अनुसार जौ ५४ मेट्रिक टन, फापर एक सय मेट्रिक टन, कोदो सात हजार ८५० मेट्रिक टन र दलहनबाली ५२७ मेट्रिक टन उत्पादन भएको थियो । जिल्लाभर तेलहनबाली ३६२ मेट्रिक टन, आलु २० हजार ३३० मेट्रिक टन, तरकारी १२ हजार ६१० मेट्रिक टन र सुन्तला चार हजार १५ मेट्रिक टन उत्पादन भएको प्रमुख अधिकारीले बताए ।

जिल्लामा सुन्तलासहित अन्य जातका फलफूहरु गत आर्थिक वर्षमा १३ हजार ३०७ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ । आलुबाट गत आर्थिक वर्षमा रु सात करोड ७३ लाख, बीउ तथा तरकारीबाट रु करोड ११ करोड, सुन्तलाबाट रु २४ करोड ८४ लाख, मौरीको महबाट रु चार करोड ५० लाख र अलैँचीबाट रु एक करोड ८१ लाख रकम भित्रिएको छ ।

कृषकलाई हरेक कार्यक्रममा ५० देखि ९० प्रतिशतसम्म अनुदान वितरण गरिएको छ । केन्द्रले आर्थिक वर्ष २०८१÷८२ मा रु चार करोडभन्दा बढी अनुदान वितरण गरेको जनाएको छ । 

केन्द्रले गत वर्ष २०३ वटा मिनि पावरटिलर, २५ वटा कुटानी–पिसानी मिल, ४१ वटा स्पे्रयर, पाँच वटा ब्रसकटर वितरण गरेको छ । यस्तै सिँचाइका लागि पाँच हजार ९३५ मिटर लामो पाइप, ७०० वटा हिलट्याङ्क र ३६७ मिटर लामो कुलो मर्मतका लागि समेत अनुदान वितरण गरेको प्रमुख अधिकारीले जानकारी दिए ।

गण्डकी प्रदेशअन्तर्गतको उक्त कार्यालयमा चालु आर्थिक वर्षका लागि रु पाँच करोड ६४ लाख बजेट विनियोजन भएको छ भने सङ्घतर्फ रु २१ लाख ४३ हजार विनियोजन भएको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप