बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राज्यको उपेक्षाबिच विश्व कराँते च्याम्पियनसिपको तयारीमा सानुमाया

शुक्रबार, ०७ कात्तिक २०८२, ११ : २९
शुक्रबार, ०७ कात्तिक २०८२

सारांश

  • नेपाल तेस्रोपल्ट आईसीसी टी-ट्वान्टी विश्वकपमा छनोट हुँदा राष्ट्रव्यापी उत्सव मनाइयो र खेलाडीलाई पुरस्कृत गरियो।
  • कराँते खेलाडी सानुमाया थिङ विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछिन्, तर राज्यबाट आवश्यक सहयोग र प्रोत्साहन कम छ।
  • प्रशिक्षक मण्डेकाजी श्रेष्ठको नेतृत्वमा सानुमाया ऐतिहासिक पदक जित्ने लक्ष्यका साथ प्रशिक्षणमा छिन्।

काठमाडौँ । गत महिना नेपाल तेस्रोपल्ट आईसीसी टी-ट्वान्टी विश्वकपमा छनोट हुँदा राष्ट्रव्यापी उत्सव छायो। नेपाली क्रिकेट टोलीले दिलाएको यो सफलतामा राज्यले खेलाडीलाई पुरस्कृत गर्ने घोषणा गर्दै थप उत्साह जगायो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विश्वकपमा पुर्‍याउन सफल हरेक खेलाडीलाई १९ लाख ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गर्‍यो। खेलाडीको सफलतामा राज्यले प्रोत्साहन गर्नु सकारात्मक पक्ष हो र यसले खेल विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ। यसबाट खेलाडीको मनोबल बढ्नुका साथै उनीहरूको प्रदर्शनमा पनि सुधार आउँछ।

तर, खेल र खेलाडीप्रति राज्यको हेराइ फरक देखिन्छ। जुन खेल र नतिजामा आम मानिसको चासो हुन्छ, त्यसमा मात्र राज्यले लगानी गर्छ। क्रिकेट जस्ता लोकप्रिय खेलमा हरेकजसो राजनीतिक दल, व्यावसायिक घराना र राज्यले नै चासो दिएको पाइन्छ। यद्यपि, चर्चा मात्र होइन, उनीहरूको सफलताका लागि ठोस आधार बनाउनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

अर्कोतर्फ, आम मानिसमा लोकप्रियता नभएका खेलहरूमा भने राज्यले खासै चासो राख्दैन, किनभने ती खेलाडीलाई खेलप्रेमीले खासै पछ्याएका हुँदैनन्। नेपाली खेलकुदमा मार्सल आर्ट्सले ऐतिहासिक सफलता दिलाउनेमा अग्रभागमा पर्छ। पछिल्ला समयमा कराँते सबैभन्दा सफल खेलको रूपमा उभिएको छ, र यसमा पनि कराँतेकी एरिका गुरुङले एकपछि अर्को सफलता दिलाइरहेकी छिन्। उनीजस्तै कराँतेकै खेलाडी सानुमाया थिङको पनि देशका लागि ठुलो सफलता दिलाउने लक्ष्य छ। आगामी नोभेम्बर २७ देखि इजिप्टको काइरोमा तय कराँते विश्व च्याम्पियनसिप हुँदैछ, जहाँ सानुमायाले खेल्नेछिन्।

सानुमाया विश्व वरीयताको आधारमा छनोट भएकी हुन्। छनोट चरण पार गरेर नेपाली कराँतेले पहिलोपल्ट विश्व च्याम्पियनसिप खेल्दैछ। केही वर्षअगाडि सिधै विश्व च्याम्पियनसिप खेल्न पाउने प्रावधान हुँदा पनि नेपालका कुनै खेलाडीले विश्व च्याम्पियनसिप खेलेका थिएनन्। अहिले विश्व वरीयता र छनोट भएर मात्र विश्व च्याम्पियनसिप खेल्न पाउने प्रावधान छ। सानुमाया केही महिनाअगाडि विश्वका उत्कृष्ट २४ खेलाडीका रूपमा सिधै छनोट भइन्। उनको विधामा कुल ३२ खेलाडी खेल्नेछन्। पेरिसमा भएको छनोटबाट बाँकी खेलाडीले स्थान बनाए, तर एरिकासहित नेपाली खेलाडीले पेरिसमा खेले पनि कोही पनि सफल भएनन्।

अब आगामी विश्व च्याम्पियनसिपमा नेपालको एक मात्र प्रतिस्पर्धी सानुमाया हुनेछिन्। क्रिकेट टोलीले जस्तै उनले पनि विश्व च्याम्पियनसिप खेल्दैछिन्, तर राज्य र खेलकुद निकाय बेखबर जस्तै छन्। विश्व च्याम्पियनसिपको तयारीका लागि उनीमाथि गरिने लगानी शून्य छ। क्रिकेटका खेलाडीले उस्तै सफलतामा ठुलो रकम पाए, तर सानुमायाले पुरस्कार त परै जाओस्, म्याच एक्सपोजरका लागि सहयोग पनि पाएकी छैनन्। उनीमा म्याच एक्सपोजरको कमी छ, त्यसैले प्रशिक्षक मण्डेकाजी श्रेष्ठले उनलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउने प्रयास गरेका थिए, तर उनको योजना सफल भएन। आफ्नो पहिलो अफिसियल प्रतियोगिताबाट नै प्रमाणित गर्दै सानुमायाले विश्व च्याम्पियनसिप खेल्दैछिन्, तर सम्बन्धित निकायले चासो दिएनन्।

देशमै गरेको प्रशिक्षणका भरमा ऐतिहासिक पदक जित्ने उनको अठोट छ। लोकप्रियताकै आधारमा राज्यको खेलाडीप्रति हेर्ने दृष्टिकोण फरक हुनुले उनीहरूमा निराशा छाएको छ। तर सानुमायामा भने छुट्टै जोश र जाँगर छ, र राज्यको शून्य लगानीमै पदक जित्ने आत्मविश्वास उनीमा स्पष्ट देखिन्छ। त्यसैले त उनी अहिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कडा प्रशिक्षणमा छिन्। प्रतियोगिता आउन धेरै समय बाँकी नरहेकोले आफ्नो कमजोर पक्ष सुधार गर्न प्रशिक्षकले प्रेरित गरेको उनले बताइन्। विश्व च्याम्पियनसिपका लागि उनी धेरै उत्साहित पनि छिन्। एसियन कराँते फेडेरेसनद्वारा आयोजित पहिलो खेलमा राम्रो प्रदर्शन गरेपछि उनले वरीयतामा धेरै सुधार गरिन्, र त्यसैको आधारमा छनोट हुँदा उनी उत्साहित छिन्।

एसियन गेम्स खेल्ने लक्ष्य राखे पनि विश्व च्याम्पियनसिपमा छनोट हुँदा आत्मविश्वास बढेको उनले महसुस गरेकी छन्। त्यहाँ पदक जित्ने लक्ष्यसहित तयारी गरिरहेको उनी बताउँछिन्। अब विदेशी भूमिमा तयारी गर्ने सोचमा नरहेको र यहीँ प्रशिक्षण गर्दै पदक जित्ने उनको लक्ष्य छ। यसका लागि प्रशिक्षक मण्डेकाजीले आफूलाई धेरै उत्प्रेरणा दिएको सानुमाया बताउँछिन्। वर्षभरिको मिहिनेत दुई मिनेटमा देखाउने भएकाले त्यसका लागि तयार हुन आफ्ना गुरु मण्डेकाजीले भन्ने गरेको उनी सुनाउँछिन्। विश्वका एकसे एक खेलाडी आउनेमा उनी तयार छिन्, र आफू पनि त्यसका लागि तयार रहेको उनको भनाइ छ।

विश्वका चर्चित खेलाडीसँग खेल्न गुरुले नै प्रोत्साहन गरिरहेको र आफूमा डर हराएको सानुमायाको विश्वास छ। आफ्ना गुरुले ३२ वर्षको उमेरमा दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेको र आफू अहिले युवा अवस्थामा रहेकाले सफलता दिलाउने आशामा सानुमाया छिन्। मिसन–२६ का लागि छनोट हुनु र विश्व च्याम्पियनसिपमा पदक जित्नु नै जीवनमा उनको लक्ष्य बनेको छ। हप्ताको एक दिन फिटनेस ट्रेनिङ गरिरहेको उनले उल्लेख गरिन्। चाडपर्व पनि नभनी प्रशिक्षण गरिरहेकाले सफलता मिल्ने आशामा उनी छिन्।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा कातातर्फ दोहोरो स्वर्ण विजेता मण्डेकाजी केही वर्षयता राष्ट्रिय टोलीको जिम्मेवारीमा छन्। उनको प्रशिक्षणमा नेपाली कराँते र सानुमायाले ऐतिहासिक सफलता प्राप्त गरेका छन्। त्यसमा अर्को इँटा थप्न प्रशिक्षक र खेलाडी दुवै मिहिनेत गरिरहेका छन्। विश्व च्याम्पियनसिपमा जित निकाल्दै पदक जितोस् र वरीयतामा पनि सुधार गर्ने हिसाबले तयारी गरिरहेको मण्डेकाजीले बताए। हरेक दिन उनले धेरै पक्षमा सुधार गरेको र अहिले फिटनेसमा ध्यान दिइएको प्रशिक्षक मण्डेकाजी बताउँछन्। कातामा इन्डुरेन्स, ब्यालेन्स, समय, स्ट्यान्ड र फिटनेस सबै पक्षमा राम्रो हुनुपर्ने उनको भनाइ छ।

पछिल्लो एक वर्षमा सानुमायाले धेरै सुधार गरेको उनको विश्वास छ। पहिलोपल्ट छनोट भएको क्षणलाई ऐतिहासिक पदकसम्म पुर्‍याउने प्रशिक्षक मण्डेकाजीको लक्ष्य छ। त्यसका लागि सहज नरहेको उनी बताउँछन्। एसियन च्याम्पियनसिपमा तीन बाउट जित्दै सानुमायाले आफ्नो क्षमता देखाएको प्रशिक्षक मण्डेकाजीले उल्लेख गरे। तर, मेडल बाउटमा उनी चुके पनि विश्व च्याम्पियनविरुद्ध सानुमायाको प्रदर्शनले उनमा धेरै आशा पलाएको प्रशिक्षक मण्डेकाजीको बुझाइ छ। उनले उब्जेकिस्तानमा भएको एसियन च्याम्पियनसिपपछि सानुमायामा धेरै सम्भावना देखेका छन्। तर, उनमा अन्तर्राष्ट्रिय एक्सपोजरको कमी रहेको उनी पनि स्वीकार गर्छन्।

प्रशिक्षक मण्डेकाजी र खेलाडी सानुमाया दुवै पदक जित्ने आशासहित पछिल्लो एक महिनादेखि प्रशिक्षणमा छन्। सफल खेलाडी भएर पदक जितेका मण्डेकाजीमा अब प्रशिक्षकको भूमिकामा पनि ऐतिहासिक पदक जित्ने महत्त्वाकाङ्क्षा छ। विश्व च्याम्पियनसिपसँगै सन् २०२६ को एसियन गेम्सका लागि पनि पदक जित्ने खेलाडी तयार पार्ने योजनामा नेपाली टोलीका काता प्रशिक्षक मण्डेकाजी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप