बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

माओवादी र एकीकृत समाजवादीबिच एकता : बहुपदीय नहुने, नयाँ नाम नेकपा(समाजवादी) !

एकताबारे संस्थापन एकमत, इतरपक्षको फरक मत
शुक्रबार, ०७ कात्तिक २०८२, १९ : ००
शुक्रबार, ०७ कात्तिक २०८२

सारांश

  • माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच एकता अन्तिम चरणमा पुगेको छ, नेताहरूको दाबी।
  • पार्टी एकताका लागि निर्वाचन आयोगको अन्तिम मिति अगावै टुङ्गो लगाउने गरी प्रक्रिया अघि बढाइएको छ।
  • एकता प्रक्रियामा विप्लव नेतृत्वको नेकपा र केही नेताहरूले असहमति जनाएका छन्, तर अन्य दलहरू सहमत छन्।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहितको पार्टी एकता अन्तिम चरणमा पुगेको दुवै पक्षका नेताहरूले दाबी गरेका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको अन्तिम मिति कात्तिक ३० गते अगावै एकता सम्बन्धमा टुङ्गो लगाउनेगरि प्रक्रिया अगाडि बढेको उनीहरूले दाबी गरेका हुन् । 

पार्टी एकता सम्बन्धमा थप निर्णय लिन माओवादीले शनिबार वा आइतबार महाधिवेशन आयोजक समितिको सचिवालय बोलाउने तयारी भएको एक उच्च नेताले बताए । एक हप्ताभित्र एकीकृत समाजवादी लगायत दलहरूसँग एकता घोषणा हुन सक्ने ती नेताले जिकिर गरे ।

‘पहिला पार्टी एकता टुङ्गो लगाएपछि मात्र एकता महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्ने विषयमा छलफल हुन्छ । एकताका लागि विप्लवजीको पार्टी, एकीकृत समाजवादी लगायत कम्युनिस्ट घटकसँग छलफल तीव्र भइरहेको छ’, रातोपाटीसँग ती नेताले भने, ‘अहिलेसम्म एकीकृत समाजवादीसँग एकताबारे टुङ्गो लागेको छ । एक हप्ता भित्र एकता घोषणा गर्ने तयारीसाथ अगाडि बढेका छौँ । महिन्द्रजी त पहिल्यै एकताका पक्षमा रहनुभएको छ ।’

एकीकृत समाजवादीका एक पदाधिकारीले पनि एकता प्रक्रिया निकै अगाडि बढेको जिकिर गरे । माओवादीले दाबी गरेजस्तै एक हप्ता भित्रै एकता घोषणा हुने भन्दा पनि कात्तिक ३० गतेभित्र निर्वाचन आयोगमा दल दर्ता गरिसक्नुपर्ने बाध्यता भएकाले दुवै पक्षबिच छलफल तीव्र गतिमा भइरहेको उनले जिकिर गरे ।

‘पार्टी एकता गर्नेमा दुई मत छैन । वैचारिक र सैद्धान्तिक विषयमा पनि कुनै विवाद छैन । एकतापछि बहुपदीय हुँदैन । सङ्क्रमणकालीन अवस्थामा संयोजक वा संरक्षक रहेर एकता घोषणा हुन्छ । पार्टीको नाम नेकपा(समाजवादी) रहने गरी छलफल भइरहेको छ । निर्वाचन आयोगमा दल दर्ता भइसकेकाले ती पार्टीका संयोजकसँग पनि छलफल भइरहेको छ’, ती नेताले भने ।

पछिल्लो समय पार्टी एकताको विषयमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग सकारात्मक नदेखिएको दुवै पक्षका नेताहरूले बताएका छन् । समाजवादी मोर्चाका संयोजक समेत रहेका विप्लवले पछिल्लो केन्द्रीय समितिको विशेष बैठकले आफ्नै नेतृत्वमा नयाँ कम्युनिस्ट केन्द्र बनाउने र राजनीतिक दलकै नेतृत्वमा सर्वपक्षीय अन्तरिम सरकार बनाउने निर्णय गरेकाले तत्काल एकता हुने सम्भावना नदेखिएको नेताहरूको भनाइ छ ।

ती नेताले भने–‘विप्लवजीले आफ्नै नेतृत्वमा नयाँ कम्युनिस्ट केन्द्र बनाउने प्रस्ताव गर्नुभएको छ । पछिल्लो समय उहाँको जोड सरकारमा जाने देखिन्छ । राजनीतिक चरित्रको सर्वपक्षीय सरकार गठन गर्नुपर्ने निर्णय गर्नुभएको छ । त्यसैले नेकपासँग तत्काल एकता हुने सम्भावना देखिँदैन । यद्यपि नेकपासहित विभिन्न कम्युनिस्ट घटकसँग एकताका लागि पहल भइरहेको छ । एकता घोषणासम्म उहाँहरू पनि जोडिनु हुन्छ होला ।’

यता एकीकृत समाजवादीका वरिष्ठ नेता तथा वार्ता टोलीका संयोजक डा. वेदुराम भुसालले माओवादीसहित विभिन्न कम्युनिस्ट घटकसँग एकता गर्ने निर्णय पार्टीले गरिसकेको जिकिर गरे । एकतापछि पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवाद रहने, पार्टीको नाम नेकपा(समाजवादी) राख्ने गरी त्यस पार्टीका संयोजक राजु कार्कीसँग समेत छलफल भइरहेको भुसालले बताए । राजनीतिक दस्तावेजीकरण, नियमावाली र पार्टी विधानबारे वार्ता टोली र दुवै पक्षका शीर्ष नेताहरूसँग घनिभूत छलफल भइरहेको उनले  जानकारी दिए ।

‘माओवादीसहित समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता गर्ने सम्बन्धमा पार्टीले निर्णय गरिसकेको छ । एकता त हुन्छ नै । यसबारे ठोस निर्णय गर्नै कात्तिक १२, १३ र १४ गते स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाएका छौँ’, उनले भने, ‘हामीले पार्टीको मार्गदर्शक सिद्धान्त जबज छोड्ने र माओवादीले माओवाद छोडेर मार्क्सवादी लेनिनवादी राख्नेमा सहमति भइसकेको छ । एकीकृत पार्टीको कार्यदिशा वैज्ञानिक समाजवादी रहन्छ । पार्टीको नाम नेकपा समाजवादी रहनेमा पनि लगभग कुरा मिलिसकेको छ । संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता रहन्छ । एकतामा बाँध्ने मुख्य विषय राजनीतिक दस्ताबेज, नियमावली र विधान हो । यी नै विषय टुङ्गो लाग्न  बाँकी छ । सायद एक दुई हप्तामा एकताबारे ठोस निर्णय हुनसक्छ ।’

माओवादीले एकता नभए विशेष महाधिवेशन गर्ने निर्णय गरेकाले पहिल्यै घोषणा भएकाले केही फरक नपर्ने भुसालले जिकिर गरे । एकतापछि पार्टी संयोजक राखेर जाने विषयमा लगभग सहमति जुटेको उनले बताए । दुवै पक्षबिच एकता महाधिवेशन नभई राष्ट्रिय सम्मेलन गरेर एकता घोषणा हुने समझदारी बनेको उनको जिकिर छ ।

भुसालले एकताको विपक्षमा देखिएका महासचिव घनश्याम भुसाल र सम्मानित नेता झलनाथ खनालसँग पनि माओवादीका संयोजक प्रचण्ड, पार्टी अध्यक्ष माधव नेपाल र वार्ता टोली सदस्यहरूले निरन्तर छलफल भइरहेको जानकारी दिए । असोज २६ गते बसेको एकीकृत समाजवादीको  सचिवालय बैठकमा एकताको विपक्षमा उभिएको अपिल पठाएका खनाल अध्यक्ष नेपालसँग कुराकानीपछि सकारात्मक देखिएको उनले दाबी गरे । एकताको पक्षमा सर्वसम्मत निर्णय गर्नका लागि महासचिव भुसालसँग पनि दुवै पार्टीका शीर्ष नेताहरूले छलफल गरिरहेको उनले बताए ।

‘सम्मानित नेताले एकताको विपक्षमा अपिल पठाउनुभएपछि पार्टी अध्यक्षले भोलिपल्टै उहाँसँग लामो कुराकानी गर्नुभएको छ । एकताको स्पष्ट खाका सहितको राजनीतिक दस्ताबेजबारे जानकारी गराएपछि आफू पनि विचार र सिद्धान्त सहितको वामपन्थी एकताको पक्षमा रहेको र पार्टीको निर्णयको विपक्षमा नउभिने स्पष्ट पार्नु भएको छ’, उनले भने ।

  • एकताका लागि प्रचण्ड र माधवले नेतृत्व त्याग्नुपर्ने घनश्यामको सर्त

यद्यपि वेदुराम भुसालको भनाइलाई खनालले खण्डन गरेका छन् । हाल श्रीमतीको उपचारको क्रममा भारतको नयाँ दिल्लीमा रहेका उनले आफ्नो पूर्ववत् अडान यथावत् रहेको बताएका छन् । 

उनीनिकट एक जना पदाधिकारीका अनुसार यी सबै षड्यन्त्रपूर्ण प्रचार भएको बताएका छन् । ‘झलनाथ खनालले मसँग म एकतामा जाने होइन भनेका छन् । यो सबै षड्यन्त्रपूर्ण प्रचार मात्रै हुन्’, ती पदाधिकारीले भने ।

महासचिव भुसाल पक्षका एक नेताले एकता सम्बन्धमा नेतृत्वमाथि  धेरै प्रश्न उठेका भए पनि स्पष्ट जवाफ नआएको बताएका छन् । प्रचण्ड र माधवसँग भएको  छलफलमा भुसालले नेतृत्वले राजीनामा दिएर आजको आवश्यकता अनुसार पार्टी पुनर्गठन गर्नुपर्ने न्यूनतम बटम लाइन रहेको स्पष्ट पारे ।

‘आजको वाम पार्टी कस्तो हुन्छ ? यससँग जोडिएका धेरै राजनीतिक सैद्धान्तिक पक्ष छन् । यी सबै प्रश्नको हल नभई हामी एकताको पक्षमा जानेवाला छैनौँ’, ती पदाधिकारीले भने, ‘प्रचण्ड र माधवसँग भएको छलफलमा पनि न्यूनतम सर्त नै त्यही राखेका छौँ । नेतृत्वले राजीनामा गर्ने बटम लाइन हो । त्यसमा प्रस्ट जवाफ आएन ।’

यसै गरी नेकपाको असोज २५–३० सम्म बसेको केन्द्रीय समितिको विशेष बैठकले नयाँ कम्युनिस्ट केन्द्र निर्माण गर्ने निर्णय गरेको थियो । भदौ २३ र २४ गतेको जेनजी विद्रोहले कम्युनिस्ट केन्द्र निर्माणको वस्तुगत आधार र आवश्यकतालाई बलियो बनाएर जाने गरी पार्टी एकताका लागि पुराना नेतृत्वले मार्ग प्रशस्त गर्नुपर्ने सर्त पार्टीले अगाडि सारेको थियो । पुरानै दल, नेतृत्व र कार्यशैलीबाट कम्युनिस्ट पार्टी अगाडि बढ्न नसक्ने वस्तुगत र घटनाक्रमले पुष्टि गरेको नेताहरूले बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप