मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
सरकार

जेनजी आन्दोलनको नाममा अनावश्यक धर्ना–प्रदर्शन नगर्न सरकारको आग्रह

अस्थिरता निम्त्याउने समूहबाट सचेत रहन चेतावनी
शनिबार, ०८ कात्तिक २०८२, १७ : ३७
शनिबार, ०८ कात्तिक २०८२

सारांश

  • गृह मन्त्रालयले निर्वाचनको वातावरण बनाउन धर्ना, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ।
  • सामाजिक सञ्जालमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक भएकोमा मन्त्रालयले ध्यानाकर्षण जनाएको छ।
  • अस्थिरता निम्त्याउने स्वार्थ समूहबाट जोगिन र वार्ता तथा संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरिएको छ।

काठमाडौं । गृह मन्त्रालयले जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनपछि गठित वर्तमान सरकार फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउन क्रियाशील रहेको भन्दै अनावश्यक धर्ना, जुलुस र प्रदर्शनका कार्यक्रम नगर्न आग्रह गरेको छ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी प्रेस विज्ञप्तिमा निर्वाचनकेन्द्रित वातावरण निर्माण हुँदै गरेको स्थितिमा हाल सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्ति तथा समूहका नाममा आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

‘देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति एवम् अराजकता निम्त्याउन सक्ने हुँदा त्यसतर्फ आयोजकहरू समेत सचेत हुनुपर्ने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

सरकारले निर्वाचनसम्बन्धी कानुनमा संशोधन, श्रोत–साधनको व्यवस्थापन र राजनीतिक दलहरूसँग वार्ता गरिरहेको विषय सबैमा अवगतै रहेको उल्लेख गरिएको छ।

मन्त्रालयले माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने अधिकारहरू कुण्ठित हुन नदिन आग्रह गरेको छ।

सबैको जायज माग र चासोलाई सम्बोधन गर्न सरकार सदा तत्पर रहेको भन्दै यस्ता धर्ना, जुलुस र आन्दोलनका कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट विधिसम्मत समाधान खोज्न सबैमा हार्दिक अनुरोध गरिएको छ।

Control10252025

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप