बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चिप्सको प्याकेटलाई एआई सुरक्षा प्रणालीले बन्दुक देखेपछि...

सोमबार, १० कात्तिक २०८२, ११ : ०१
सोमबार, १० कात्तिक २०८२

सारांश

  • अमेरिकामा एक विद्यार्थीले चिप्सको प्याकेट बोकेको अवस्थामा एआई सुरक्षा प्रणालीले गल्तीले बन्दुक ठानेको घटना घट्यो।
  • बाल्टिमोर काउन्टीको केनवुड हाईस्कुलमा भएको घटनामा, सुरक्षाकर्मीले विद्यार्थीलाई बन्दुक देखाएर जमिनमा सुत्न लगाए।
  • पछि, फुटेज हेर्दा चिप्सको प्याकेट बन्दुक जस्तो देखिएका कारण एआईले गल्ती गरेको पुष्टि भयो, जसको लागि विद्यालय प्रशासनले माफी माग्यो।

एजे‍न्सी । प्रविधिको तीव्र विकास कहिलेकाहीँ कति जोखिमपूर्ण हुन सक्छ भन्ने एउटा वास्तविक उदाहरण अमेरिकामा देखिएको छ । जब एक विद्यालयका १६ वर्षीय विद्यार्थीको हातमा रहेको चिप्सको प्याकेटलाई एआई आधारित सुरक्षा प्रणालीले गल्तीले बन्दुक भनेर पहिचान गर्‍यो ।

द गार्जियन तथा बीबीसीको रिपोर्टअनुसार यो घटना अमेरिकाको म्यारिल्यान्ड राज्यको बाल्टिमोर काउन्टीस्थित केनवुड हाईस्कुलमा भएको हो। टाकी एलन नामका विद्यार्थी सोमबार राति आफ्ना साथीहरूसँग स्कुल बाहिर खाजाको तयारी गर्दै थिए । त्यही बेला विद्यालयमा जडान गरिएको एआई सुरक्षा प्रणालीले उनलाई ‘सम्भावित खतरा’ मान्यो र तुरुन्तै अधिकारीहरूलाई चेतावनी पठायो ।

अलर्ट पाएको केही क्षणमै विद्यालयका सुरक्षाकर्मीहरू घटनास्थलमा पुगे र बन्दुक तानेर विद्यार्थीलाई जमिनमा सुत्न आदेश दिए । रिपोर्टअनुसार पीडित विद्यार्थी एलनले स्थानीय न्युज च्यानलसँग कुरा गर्दै भने, ‘पहिले त मलाई के भइरहेको हो भन्ने थाहा नै भएन । अचानक उनीहरू बन्दुक लिएर मेरोतिर आउँदै चिच्याउन थाले, जमिनमा सुत् भने, त्यतिबेला म निकै डराएको थिएँ।’

सुरक्षा अधिकारीहरूले उनलाई हथकडी लगाएर तलासी गरे, तर केही पनि नपाएपछि छोडिदिए । पछि फुटेज हेर्दा थाहा भयो, एलनको हातमा ‘डोरीटोस’ नामक चिप्सको प्याकेट थियो, जसको मोडिएको भाग बन्दुकको आकार जस्तो देखिएको थियो। यही भ्रमकै कारण एआई प्रणालीले त्यसलाई बन्दुक ठानेर अलर्ट पठाएको थियो ।  

विद्यालय प्रशासनले माग्यो माफी

घटनापछि विद्यालय प्रशासनले गल्ती स्वीकार गर्दै एलन र उसका साथीहरूसँग माफी मागेको छ। विद्यालयले यस घटनाबाट शिक्षा लिएको बताउँदै भविष्यमा एआई सुरक्षा प्रणालीको ‘सटीकता सुधार्ने’ प्रतिबद्धता पनि जनाएको समाचारमा उल्लेख छ । 

यो घटनाले‍ प्रविधिको प्रयोगमा सावधानी कति आवश्यक हुन्छ भन्ने कुराको ठोस उदाहरण दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप