नवलपुरबाट राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति
सारांश
- नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति प्राप्त भएको छ, जसले पर्यटन व्यवसाय फस्टाउनेछ।
- नवलपुर पर्यटन समितिले आर्थिक वर्ष २०८२र८३ का लागि ‘जङ्गल ड्राइभ’ जिप सफारी सञ्चालन अनुमति पाएको छ।
- सफारीका लागि सातवटा सवारी साधनलाई अनुमति दिइएको छ र पर्यटकले बोटिङको आनन्द पनि लिन सक्नेछन्।
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति प्राप्त भएको छ । योसँगै पर्यटन व्यवसाय फस्टाउनुका साथै पर्यटन प्रवर्द्धन हुने विश्वासमा यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले नवलपुर पर्यटन समितिलाई आर्थिक वर्ष २०८२र८३ का लागि ‘जङ्गल ड्राइभ’ जिप सफारी सञ्चालन गर्न अनुमति दिएको हो । उक्त अनुमतिले पर्यटकीय गतिविधि थप बढ्ने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताए ।
निकुञ्ज र नवलपुर पर्यटन समितिबिच नवलपुरको मार्ग हुँदै निकुञ्जमा जिप सफारीको सम्झौता भएको जनाउँदै उनले उक्त सहमति अनुसार आधा दिन र पूरै दिन जिपबाट निकुञ्ज क्षेत्र भ्रमण गर्न सकिने जानकारी दिए ।
आधा दिनको निकुञ्जभित्रको सफारीमा नवलपुरको अमलटारीघाट हुँदै टेम्पलटाइगर–मुन्डा ताल–देवीताल हुँदै सोही बाटो फर्कने तथा अमलटारीघाट–मुन्डा ताल–टाइगर टप्स हुँदै फर्कने मार्ग तोकिएको समितिका अध्यक्ष महतोले जानकारी दिए ।
उनका अनुसार पूरै दिनको भ्रमण मार्ग घडियाल प्रजनन केन्द्र पुग्नेका लागि मात्र प्रदान गरिएको छ । जसअन्तर्गत घडियाल प्रजनन केन्द्र हुँदै प्रमुख वनमार्ग भएर अमलटारी फर्किने अनुमति प्राप्त भएको महतोले बताए । नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारीका लागि सातवटा सवारी साधनलाई अनुमति दिइएको जनाउँदै उनले समितिले प्रयोग गर्ने सवारी साधनको विवरणसमेत निकुञ्जले स्वीकृत गरेको उल्लेख गरे ।
अध्यक्ष महतोका अनुसार सवारीसाधनमा ‘भेइकल ट्र्याकिङ एन्ड मोनिटरिङ सिस्टम’ (जिपिएस) अनिवार्य जडान गर्न निकुञ्जले अनुरोध गरेको छ । निकुञ्जको निर्देशनअनुसार शीघ्र सवारीमा जिपिएस जडान गरिने बताउँदै उनले निकुञ्जसँगको सम्झौतामा आगामी मङ्सिर १५ गतेभित्र सवारीमा जिपिएस जडान गर्ने समय सीमा तोकिएको जानकारी दिए ।
नवलपुर पर्यटन समितिमार्फत नवलपुरको मार्ग हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी गर्न चाहने पर्यटकलाई अमलटारीघाटस्थित नारायणी नदीमा डुङ्गाबाट तारेर निकुञ्ज क्षेत्रमा जिप सफारी गराइने छ । समितिले स्वीकृत प्राप्त सवारी भने नदीपारि निकुञ्जमै राख्ने छ । नवलपुरबाट निकुञ्जमा जिप सफारी गर्ने पर्यटकले नारायणीमा बोटिङको आनन्दसमेत लिन पाउनेछन् ।
नवलपुरबाट निकुञ्ज क्षेत्रमा जिप सफारीको अनुमतिले यहाँको पर्यटनमा थप चहलपहल बढ्ने पर्यटन व्यवसायी धनिराम गुरौले बताए । नवलपुरको मध्यवर्ती सामुदायिक वन गैँडा अवलोकनका लागि उपयुक्त गन्तव्य रहेको भन्दै उनले यहाँका सामुदायिक वनमा जिप सफारी सञ्चालन रहिरहेको अवस्थामा चालु आवमा यहाँ पर्यटकीय गतिविधि बढ्ने विश्वास व्यक्त गरे ।
‘यहाँका सामुदायिक वन गैँडा अवलोकनका लागि प्रख्यात छ, अब निकुञ्ज जान्छु भन्ने पर्यटकसमेत अमलटारी हुँदै घुम्न पाउने हुँदा पर्यटकीय गतिविधि पक्कै थप बढ्नेछन्’, गुरौले भने । यसबाट पर्यटन प्रवर्द्धन हुनुका साथै आर्थिक गतिविधि बढ्ने र रोजगारीका अवसर सृजना हुने उनले विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले खुम्चिँदै मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक लक्ष्य
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण