बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रुस–युक्रेन युद्ध

रुस–युक्रेन युद्धमा हालसम्म १०१ नेपालीको मृत्यु, १२५ बेपत्ता

अझै रोकिएको छैन भर्ना
बिहीबार, १३ कात्तिक २०८२, २० : ००
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • रुस-युक्रेन युद्धमा हालसम्म १०१ जना नेपालीको मृत्यु भएको र १२५ जना बेपत्ता भएको सरकारलाई जानकारी प्राप्त भएको छ।
  • रुसी सेनामा भर्ती भएका नेपालीको विषयमा सरकारले तथ्याङ्क लुकाएको र क्षतिपूर्ति प्रक्रियामा सहजीकरण नगरेको आरोप लागेको छ।
  • रुसमा रहेका नेपाली सैनिक र मृतकका परिवारलाई उचित क्षतिपूर्ति र सहयोगका लागि पहल गर्नुपर्ने माग गरिएको छ।

काठमाडौँ । रुस–युक्रेन युद्धमा हालसम्म १०१ जना नेपाली मारिएको र १२५ जना बेपत्ता रहेको जानकारी नेपाल सरकारलाई प्राप्त भएको छ । रुसी सरकारले त्यहाँको नेपाली दूतावासमार्फत नेपाल सरकारलाई मृतकको बारेमा जानकारी गराएको हो । 

रुस र युक्रेनबिच युद्ध जारी छ । नेपाली युवा रुसी सेनाका तर्फबाट युद्धमा सहभागी छन् । तीमध्ये केही दसैँ–तिहारको अवसरमा नेपाल आए पनि फेरि रुसमै फर्किएका छन् ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभागका महानिर्देशक दुरपदा सापकोटाले रुसी सेनामा भर्ना भएका १०१ जनाको मृत्यु भएको जानकारी आफूहरूलाई प्राप्त भएको बताइन् ।

durrpada-sapkota

उनले भनिन्, ‘हामीलाई प्राप्त जानकारी अनुसार अहिलेसम्म १०१ जनाको मृत्यु भएको छ भने रुसी सेनामा भर्ती भएका १२५ जना बेपत्ता छन् ।’ 

मृत्यु कति ? 

युद्धका क्रममा मारिएका केही नेपालीको आधिकारिकता पुष्टि हुन बाँकी छ । सनाखतका लागि रुस सरकारले माग गरेअनुसार यताका आफन्तहरूको डीएनए पनि रुस पठाएको उनले सापकोटाले बताइन् ।

मृतक, घाइते तथा बेपत्ता भएकाको परिवार विभागको सम्पर्कमा आएको र उनीहरूलाई आवश्यक सहजीकरण गर्ने काम आफूहरूबाट भइरहेको उनको भनाइ छ ।

रुसबाट नेपाली फर्काउने अभियानमा लागेकी कृतु भण्डारी सरकारको यो तथ्याङ्क गलत रहेको दाबी गर्छिन् । उनले भनिन्, ‘१५६ जना मृतकको त यहाँ काजकिरिया नै भइसकेको छ भने सरकारले कसरी १०१ जनाको मृत्यु भएको भन्यो ? सरकारले तथ्याङ्क लुकाइरहेको छ । मृतकको सङ्ख्या धेरै बढी छ ।’ 

man

आफ्नो जानकारीमा आए अनुसार रुसले पाँच जना नेपाली मृतकको अस्तुमात्र नेपाल पठाएको भण्डारीले बताइन् । उनले भनिन्, ‘रुसी सेनामा भर्ना भएकामध्ये हाम्रो सम्पर्कमा आएका ६९९ जनाको नाम तत्कालीन परराष्ट्रमन्त्री नारायकाजी श्रेष्ठलाई बुझाएका थियौँ, तर त्यसमा कुनै सुनुवाइ भएन ।’ 

त्यतिबेला नै सरकारबाट प्रभावकारी पहल भइदिएको भए यति नेपाली मर्ने थिएनन् भन्ने उनको तर्क छ । रुसी सेनामा भर्ना भएकामध्ये तीन सयभन्दा बढी हराइरहेको तथ्याङ्क आफूसँग रहेको भण्डारीले बताइन् ।

उनले युक्रेनको कब्जामा ११ जना नेपाली रहेको दाबी गरिन् । नेपालले पहल सुरु गरेपछि रुसी सेनामा भर्ना भएका धेरै नेपाली घर फर्केका थिए । त्यसमध्ये कतिपय अहिले रुस नै फर्किसकेको उनको भनाइ छ । रुसी सेनामा रहेका कतिपय नेपालीले उतैको नागरिकता प्राप्त गरिसकेको उनले बताइन् । 

महानिर्देशक सापकोटा भने मृतक तथा घाइतेका परिवारले पाउने क्षतिपूर्ति लिन उतै जानुपर्ने बताउँछिन् । त्यसका लागि आफूहरूले सहजीकरण गरिरहेको उनको भनाइ छ । उनका अनुसार हालसम्म ३–४ जना मृतक परिवारले मात्र पूर्ण क्षतिपूर्ति पाएका छन् । बाँकीको हकमा भने प्रक्रिया चलिरहेको उनले बताइन् । 

अभियन्ता भण्डारीका अनुसार क्षतिपूर्तिका लागि २१ जना मृतक परिवारसँग रुसी सरकारको सम्झौता भइसकेको छ । त्यसमध्ये केहीले क्षतिपूर्ति पाइसकेका छन् भने कतिपयले एक–दुई किस्ता पाएका छन् । रुसी सरकारले चार किस्तामा क्षतिपूर्ति दिने गरेको छ । 

नेपाली कसरी जान्छन् रुस ? 

महानिर्देशक सापकोटाका अनुसार नेपालीहरू रुसी सेनामा अवैधानिक ढंगबाट भर्ना भएका हुन् । रुसी सेनामा नेपाली पनि रहेको कुरा रुसले स्वीकार गरिसकेको छ अवस्थामा नेपालले आफ्नो नागरिकका लागि सहजीकरणको काम गरिरहेको उनले बताइन् ।

‘अवैधानिक ढंगबाट गए पनि उनीहरू नेपाली नै हुन् । उनीहरूलाई नेपाल फर्काउनु, मृतक तथा घाइते परिवारलाई क्षतिपूर्ति दिलाउनु नेपाल सरकारको कर्तव्य हुनजान्छ । त्यसमा हामीले सहजीकरणको काम गरिरहेका छौँ ।’

रुसी सेनामा भर्ना हुन नदिन नेपालको तर्फबाट कडाइ गरेपछि पछिल्लो समय नेपाली युवा भर्ना नभएको तर लुकिछिपी भर्ना भइरहेको भए आफूहरूलाई कुनै जानकारी नरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए ।

lok-kshetri

उनले भने, ‘नेपालको तर्फबाट एकदमै कडाइ गरिएको छ । नेपाली युवालाई सेनामा भर्ना नलिन रुस सरकारलाई पटक–पटक आग्रह गरिएको छ । नेपालीहरूलाई पनि भर्ना नहुन सचेत गराएका छौँ ।’

बेलायत र भारतको सेनामा बाहेक अन्य कुनै पनि देशको सेनामा नेपाली भर्ना हुने व्यवस्था छैन । सन् २०२२ मा रुस–युक्रेन युद्ध सुरु हुँदा रुसले अन्य देशका नागरिकलाई सेनामा भर्ना लिन थालेपछि नेपालीहरू पनि विभिन्न बाटोबाट रुस पुगेर सेनामा भर्ना हुन थालेका थिए । सन् २०२४ यता नेपालबाट रुसी सेनामा कोही पनि भर्ना नभएको महानिर्देशक सापकोटाको दाबी छ । उनले भनिन्, ‘सरकारले कडाइ गरेपछि नेपाली रुस गएका छैनन् । ६–७ महिनादेखि त्यस्तो कुनै गुनासो र उजुरी पनि आएको छैन ।’

नेपालको स्विकारोक्ति

सुरुमा रुसी सेनामा नेपाली पनि भर्ना भएको कुरा न रुसले स्वीकार गरेको थियो, न त नेपालले । जब भटाभट नेपालीहरू मर्न थाले, समाचारहरूमा नाम आउन थाले, तबमात्र दुवै देशले स्वीकार गरेका थिए । युक्रेन–रुस युद्धमा सबैभन्दा पहिले मारिने नेपाली गोरखाका सन्दिप थपलिया हुन् । उनी २०८० असार २९ गते युद्धमा मारिएका थिए । 

नेपाल सरकारले धेरैपछि त्यसलाई पुष्टि गरेको थियो । ६ जना नेपाली मरिसकेपछि मात्र परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर त्यसको पुष्टि गरेको थियो ।

त्यतिबेला नै तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले रुसी राजदूतलाई बोलाएर कूटनीतिक नोट दिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

युद्धमा मारिएका नेपालीको शव नेपाल पठाउन, रुसी सेनामा रहेका नेपालीलाई नेपाल फर्काउन, रुसी सेनामा नेपालीलाई भर्ना नगर्न परराष्ट्र मन्त्रालयले भने पनि रुसले त्यसमध्ये कुनै पनि काम गरेको थिएन ।

np-saud

अझै हुन्छ भर्ना 

सन् २०२६ सम्म एक लाखभन्दा बढी विदेशी नागरिकलाई सेनामा भर्ना गर्ने रुसको घोषणाले नेपालीहरू आकर्षित भएको बताइएको छ । अभियन्ता भण्डारीका अनुसार नेपाल आएर रुस फर्केका १६ जना फेरि रुसी सेनामा भर्ना भएका छन् । चोर बाटो प्रयोग गरेर नेपाली अझै रुस पुगिरहेका छन् । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभियन्ता कृतु भण्डारीले दिएको खुला पत्रमा भनिएको छ, ‘रुसी सेनामा भर्ती भएका करिब ३०० नेपाली युवा आजसम्म पनि परिवारको सम्पर्कमा आएका छैनन्, बेपत्ताहरू कुन र कस्तो अवस्थामा छन् ? उनीहरूको वास्तविक स्थिति के हो ?सरकारले परिवारलाई जानाकारी गराउनु पर्दैन प्रधानमन्त्रीज्यू ?’ बेपत्तामध्ये युक्रेनले ५ जना युद्धबन्दी सार्वजनिक गरे पनि आफूसँग ११ जना युद्धबन्दी भएको प्रमाण रहेको अभियन्ता भण्डारीले बताइन् ।

पीडित बेपत्ताका परिवारलाई रुस गएर आफैँ खोजतलास गर भन्दै नेपाल सरकारले एनओसी दिनु गलत भएको भन्दै भण्डारीले नेपाल सरकारले रुस सरकारसँग समन्वय गरेर पीडित परिवारको क्षतिपूर्ति नेपालबाटै उपलब्ध गराउनुपर्ने व्यवस्था हुनुपर्ने बताइन् । 

भण्डारीका अनुसार रुसमा रहेका घाइतेहरूको उचित उपचार भएको छैन । नेपालमा फर्किएका घाइतेहरूको त झन् आर्थिक अभावका कारण उपचार नपाएर मृत्युसँग जुधिरहेको उनको भनाइ छ ।

केही मृतकका परिवारले रुसी सेनामा रहेका सहयोद्धाको सूचना र फोटोको आधारमा काजकिरियासमेत गरिसकेका छन् तर नेपाल सरकारले औपचारिक रूपमा मृत्यु पुष्टि नगरेका कारण रुसी सरकारद्वारा प्रदान गरिने सेवा सुविधा र क्षतिपूर्तिबाट वञ्चित हुनुपरेको उनले बताइन् । 

रुसी सेनामा भर्ती भएर एक वर्षे करार सम्झौताको अवधि सकिएका नेपाली नागरिकलाई पुनः युद्धमा जबरजस्ती होमिएको भण्डारीको गुनासो छ । यसबारे रुससँग वार्ता गरेर उनीहरूलाई नेपाल फर्काउने वतावरण बनाउनुपर्ने उनले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप