बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

५६ हजारभन्दा बढी काठमाडौँ महानगरवासी स्वास्थ्य बिमामा आबद्ध

शुक्रबार, १४ कात्तिक २०८२, ११ : २४
शुक्रबार, १४ कात्तिक २०८२

सारांश

  • काठमाडौँ महानगरपालिकाले वार्षिक समीक्षा गर्दै स्वास्थ्य सेवाको प्रगति विवरण सार्वजनिक गरेको छ।
  • महानगरले स्वास्थ्य बिमा कार्यक्रममा ५६ हजारभन्दा बढी मानिसलाई समेटेको छ, जसमा ज्येष्ठ नागरिक पनि छन्।
  • महानगरले स्वास्थ्य सेवाको गुणस्तर बढाउन विभिन्न स्वास्थ्य संस्थाहरूको दर्ता र अनुगमन गरेको छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा गर्दै महानगरवासीको स्वास्थ्य सेवाको प्रगति विवरण सार्वजनिक गरेको छ ।  विवरणअनुसार अहिलेसम्ममा ५६ हजार ६७३ जना काठमाडौँ महानगरवासी स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् ।

 यस वर्ष १ लाख ९४ हजार १९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरिनुका साथै स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको महानगरले जनाएको छ ।

स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका कुल ५६ हजार ६७३ जनामध्ये १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपाङ्गता भएका व्यक्ति र एचआइभी सङ्क्रमित २ जनासहितका व्यक्ति रहेका छन् । यो कार्यक्रमले विशेष गरी कमजोर वर्गलाई स्वास्थ्य सेवामा पहुँच पु-याउन सहयोग गरेको छ ।

महानगरपालिकाले १ लाख ९४ हजार १९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । उनीहरुमध्ये ८४ हजार ७०४ जनाले बहिरङ्ग सेवा लिएका हुन् । स्वास्थ्य सेवाको गुणस्तर र पहुँच बढाउन ३० वटा स्वास्थ्य संस्था दर्ता र नवीकरण गरियो भने १२० वटा स्वास्थ्य संस्थाको अनुगमन भएको महानगरले जनाएको छ ।

पूर्वाधार विकासमा पनि महानगरले प्रगति गरेको छ । वडा नम्बर १, ८, १०, १२, २६ र ३० बाट भिडियो एक्स रे सेवा प्रारम्भ भएको छ । महानगरपालिकाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना गरेको छ भने ३१ वटा वडामा प्रयोगशाला र फिजियोथेरापी सेवा समेत सञ्चालन गरेको छ । यी केन्द्रसँगै महानगरपालिकाभित्र एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ वटा सुरक्षित गर्भपतन सेवा केन्द्र, १ वटा वैकल्पिक चिकित्सा तथा आयुर्वेदिक संस्था र एउटा अक्युपङ्चर सेवा सञ्चालनमा रहेका छन् ।

महानगरले विभिन्न विशेष स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गरेको छ । यस वर्ष १ हजार ८७ जनाको विपन्न नागरिक उपचार सिफारिस हुनुका साथै बेवारिसे, विपन्न र बेसहाराको निःशुल्क उपचार अन्तर्गत २१० जनालाई निःशुल्क उपचार सेवा प्रदान गरेको महानगरले जनाएको छ  । नसर्ने रोग स्क्रिनिङ् महाअभियान अन्तर्गत २६ हजार १९ जनाको जाँच गरेको छ  । किशोरीहरुको रक्तअल्पता स्क्रिनिङ् कार्यक्रममा २ हजार ३ सय किशोरीहरुको परीक्षण गरियो । १ हजार २२२ पिन्ट निःशुल्क रगत र रक्त तत्त्व उपलब्ध गराइएको महानगरको प्रगति विवरणमा उल्लेख छ ।

यसै वर्षदेखि ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरूले सेवन गर्ने दीर्घ रोगका उपचारका लागि प्रयोग गरिने औषधिहरूको लगत सङ्कलन थालनी गरिएको छ । २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइएको महानगरले जनाएको छ । पर्व र विभिन्न अवसर पारेर २५ वटा स्वास्थ्य शिविर सञ्चालन गरेर करिब १५ हजार सेवाग्राहीलाई स्वास्थ्य सेवा र परामर्श प्रदान गरिएको उल्लेख छ ।

मातृ तथा शिशु स्वास्थ्यलाई प्राथमिकतामा राख्दै १६ हजार १८८ जनाले खोप सेवा प्राप्त गरे भने स्वयम् सेविका मार्फत ५९ हजार ६२० जनालाई सेवा प्रदान गरिनुका साथै किशोरकिशोरी र महिला स्वास्थ्य तथा विद्यालय स्वास्थ्य र जीवनशैली सर्वेक्षणसमेत गरिएको महानगरले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप