अदालतको तारिख धाउँदै, मोटरसाइकल हाँकेर सिक्री लुट्दै
सारांश
- नागार्जुन क्षेत्रमा मोटरसाइकलमा आएका व्यक्तिहरूले सुनको सिक्री लुटेर भाग्ने घटना बढेपछि प्रहरीले अनुसन्धान सुरु गर्यो।
- प्रहरीले सीसीटीभी फुटेजको आधारमा राज लामा र दुर्गा बहादुर मगरलाई पक्राउ गर्यो, जसले काठमाडौं र ललितपुरका ७ स्थानमा डकैती गरेका थिए।
- सुन लुटेको आरोपमा संलग्न सुन पसलेसहित ५ जना पक्राउ परेका छन् र उनीहरूको साथबाट चोरीमा प्रयोग भएका मोटरसाइकलहरू बरामद गरियो।
काठमाडौँ । जेनजी प्रदर्शनपछि नागार्जुन क्षेत्रमा पैदल हिँड्नेहरूलाई मोटरसाइकल रोकेर ठाउँको बारेमा सोधखोज गर्ने र घाँटीमा लगाएको सुनको चेन (सिक्री) लुटेर भाग्ने घटना बढ्दै थिए । नागार्जुन नगरपालिकास्थित सिङ्गल ट्री, राधाकृष्ण मन्दिर, टेम्पो पार्क र थापाचोकमा लगातार ४ वटा घटना भएपछि प्रहरीले सीसीटीभी फुटेजको आधारमा उनीहरूलाई पछ्याउन थाल्यो ।
कात्तिक १० मा सिन्धुली घर भएर भक्तपुर बस्ने २८ वर्षीय राज लामा र उदयपुर घर भएर भक्तपुर बस्ने दुर्गा बहादुर मगर उर्फ विशाल पक्राउ परे । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ स्थित तीनधारे बस्ने राजले मोटरसाइकल चलाउँथे । विशालले पछाडि बसेर पैदलयात्रुको सिक्री तानेपछि उनीहरू मोटरसाइकल हुइँक्याएर भाग्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
उनीहरूले ललितपुर र काठमाडौँका ७ ठाउँमा सिक्री लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रहरीका अनुसार ती दुई जनाको बयानका आधारमा लुटेको सुन किन्ने र बेच्न सघाउने सुन पसलेसहित थप ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ घर भएर सल्लाघारीमा लक्ष्मी ज्वेलर्स सञ्चालन गर्ने ३२ वर्षीय दिल बहादुर बिक, बुढानीलकण्ठ नगरपालिका–६ स्थित बाग्लुङ कालिका ज्वेलर्सका सञ्चालक ४० वर्षीय गोविन्द सुनार र काठमाडौँ–२२ मा सञ्चालित मनु जेम्स एण्ड ज्वेलर्सका सञ्चालक २२ वर्षीय दिपेश रसाइली छन् । दिल बहादुरले सिक्री बेच्न सघाएको र अन्य दुई जना सुन पसलेहरूले खरिद गरेको प्रहरीको आरोप छ ।
मोटरसाइकल चलाउने राज लामा र पछाडि बसेर लुट्ने दुर्गा बहादुर मगर दुवै जना पटके कसुरदार हुन् । प्रहरीको सीआरएस रेकर्ड अनुसार राज लामालाई प्रहरीले यसअघि ४ पटक पक्राउ गरेर मुद्दा चलाएको पाइएको छ । उनीविरुद्ध प्रहरी वृत्त जनसेवाबाट २०८० साउन र भदौमा चोरी मुद्दा चलाइएको थियो । ललितपुरबाट पनि उनीविरुद्ध २०८० साउनमा चोरी र २०७९ पुसमा अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलेको भेटिएको छ ।
पुराना मुद्दामा राज अदालतमा तारिख धाइरहेका छन् । उनको साथमा अदातलको तारिख पर्चा भेटिएको प्रहरी वृत्त स्वयम्भुका डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए । अदालतको तारिख धाउँदै उनले नयाँ अपराध गरिरहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
दुर्गा बहादुर मगरविरुद्ध पनि यसअघि ३ वटा मुद्दा चलेको भेटिएको छ । प्रहरी वृत्त सोह्रखुट्टेबाट २०८२ जेठमा चोरी मुद्दा, प्रहरी वृत्त चापागाउँबाट २०८१ भदौमा अभद्र व्यवहार र सातदोबाटो वृत्तबाट २०७९ असारमा चोरी मुद्दा चलेको भेटिएको छ ।
७ ठाउँमा लुटपाट
राज र दुर्गा बहादुरले मोटरसाइकल चढेर पछिल्लो समय ७ ठाउँबाट सिक्री लुटेको भेटिएको छ । असोज ७ मा उनीहरूले ललितपुरको नख्खुबाट साढे १ तोलाको सिक्री एक जनाको गलाबाट चुँडालेर भागेको सीसीटीभी फुटेजबाट पुष्टि भएको छ ।
-...._esCSPapF7c.jpg)
असोज २३ मा नागार्जुन–३ स्थित सिङ्गल ट्री, असोज २६ मा ललितपुरको बुद्धचोक र कार्तिक १ मा उनीहरूले नागार्जुन नगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर नजिकैबाट सिक्री लुटेको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् ।
त्यस्तै, उनीहरूले कात्तिक १ गते नै रामकोटस्थित टेम्पोपार्क नजिकबाट र नागार्जुन नगरपालिका–५, थापचोकबाट पैदलयात्रुको झोला र सामसङ कम्पनीको मोबाइल लुटेर भागेका थिए । कात्तिक १ मै बालाजुको नेपालटारबाट उनीहरूले २ तोलाका सिक्री चुँडालेर फरार भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
आरोपितहरू विरुद्ध अदालतबाट म्याद लिएर प्रहरी वृत्त स्वयम्भुले अनुसन्धान गरिरहेको एसपी भट्टराईले जानकारी दिए । उनीहरूको साथबाट चोरीमा प्रयोग भएको दुई वटा मोटरसाइकल र थप दुई वटा मोटरसाइकलको कागजात प्रहरीले बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण