कर्णाली प्रदेश सभा भवनको पुनर्निर्माण तत्काल असम्भव
सारांश
- जेनजी आन्दोलनका कारण कर्णाली प्रदेश सभा भवन ध्वस्त भएपछि हिउँदे अधिवेशनका लागि स्थान अभाव भएको छ।
- सचिवालयले अस्थायी सभाहल बनाउन अध्ययन थालेको छ, र सभामुख निवासबाटै कर्मचारीले काम गरिरहेका छन्।
- कार्यव्यवस्था समितिको बैठकले तत्काल वैकल्पिक व्यवस्था गर्न अध्ययन गर्ने निर्णय गरेको छ, र नियमित बजेटबाटै काम चलाउने तयारी छ।
सुर्खेत । भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा कर्णाली प्रदेश सभा भवन ध्वस्त भएपछि हिउँदे अधिवेशन सञ्चालन गर्न स्थान अभाव भएको छ । प्रदेश सभा सचिवालयले तत्काल पुनर्निर्माण सम्भव नरहेकाले कामचलाउ भवन निर्माणको तयारी थालेको छ ।
प्रदेश सभा सचिवालय परिसरभित्रै अस्थायी सभाहल निर्माणका लागि अध्ययन सुरु गरेको गरिएको हो ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार हाल सभामुखको सरकारी निवासबाटै कर्मचारीले कामकाज गरिरहेका छन् । निवासमा तोडफोड भए पनि आगजनी नभएकाले त्यहीँबाट कार्यालय सञ्चालन गरिएको उनको भनाइ छ ।
एउटै कोठामा दुई कम्प्युटर जडान गरी पालैपालो काम गरिरहेको पौडेलले जानकारी दिए ।
कामकाज सुचारु राख्न र संवैधानिक प्रावधानअनुसार हिउँदे अधिवेशन बोलाउनका लागि कार्यव्यवस्था समितिको बैठकले तत्काल वैकल्पिक व्यवस्थाका लागि अध्ययन गर्ने निर्णय गरेको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले रातोपाटीलाई बताए ।
‘पुरानो मुख्य भवन पूर्णतः ध्वस्त भएकाले त्यहाँ कामचलाउ सभा बनाउन पनि सम्भव छैन,’ उनले भने, ‘त्यसैले सभामुख, उपसभामुखको कार्यकक्षको पूर्वतर्फ रहेको सानो हललाई कामचलाउ सभा बनाउनेबारे अध्ययन भइरहेको छ ।’
प्रदेश सभा भवन ध्वस्त भएपछि बुधबार पहिलो पटक सभाबारे छलफल गर्न कार्य व्यवस्था समितिको बैठक बसेको थियो । सो बैठकमा विभिन्न विकल्पबारे छलफल भएको थियो । सोही अनुसार कामचलाउ सभा भवन बनाउने तयारी सुरु गरिएको हो ।
सो हलमा ४० जना सदस्यलाई सामान्य कुर्सी राखेर सभा सञ्चालन गर्न सकिने प्रारम्भिक अनुमान छ । बुढाथोकीका अनुसार अहिले दर्शक दीर्घाजस्ता सुविधाको अपेक्षा नगरिएको र सांसदहरूलाई बस्ने व्यवस्था मिलाउनेमात्र लक्ष्य छ ।
कामचलाउ सभा निर्माणका लागि बजेटबारे पनि कार्यव्यवस्था परामर्श समितिमा छलफल भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले नियमित बजेटबाटै काम चलाएर भए पनि सभा बनाउनुपर्नेमा जोड दिएका थिए ।
आवश्यक परेमा ‘प्रि–फ्याब’ संरचना जोडेर थप सुविधा प्रदान गर्न सकिनेबारे पनि अध्ययन भइरहेको उनको भनाइ छ । इन्जिनियरहरूको टोलीले यसको लेआउटबारे अध्ययन गरिरहेको छ । कामचलाउ व्यवस्थाले कम्तीमा एक–दुईवटा अधिवेशन (हिउँदे र बर्खे) सञ्चालन गर्न मद्दत पुग्नेछ भने दीर्घकालीन पुनर्निर्माणको विषयमा पछि छलफल हुने जनाइएको छ ।
कतिपयले प्रदेश सभा परिसर बाहिर कुनै भवनमा प्रदेश सभा बैठक राख्न सकिन्छ कि भन्नेबारे चर्चा गरिरहेका छन् । सचिव बुढाथोकी भने प्रदेश सभा परिसरभन्दा बाहिर कामचलाउ हल बनाउन सम्भव नहुने तर्क गर्छन् ।
उनका अनुसार प्रदेश सभा सञ्चालनका लागि हल बनाउन सके पनि सुरक्षा, पार्किङ, सांसदहरू, आगन्तुक र पत्रकारका लागि बस्ने, चिया–खाजा खाने ठाउँजस्ता अन्य महत्त्वपूर्ण पूर्वाधारका लागि ठाउँ अभाव हुन सक्छ । बैठक लामो समयसम्म चल्न सक्ने भएकाले सदस्यहरूलाई बस्ने र आधारभूत सुविधा आवश्यक हुने भन्दै उनले प्रदेश सभा सचिवालय परिसर नै उपयुक्त स्थान हुने बताए ।
यसबाहेक, विपक्षी दलको नेता, मुख्यमन्त्री, सभामुख, उपसभामुख, सचिवलगायतका पदाधिकारीका कार्यकक्षहरू पनि आवश्यक पर्छन्, जुन बाहिरको सामान्य हलमा उपलब्ध गराउन असम्भवप्रायः हुने बुढाथोकीको भनाइ छ ।
नियमित बजेटबाटै सुरुवाती खर्च
कामचलाउ सभा निर्माणका लागि बजेटबारे पनि कार्यव्यवस्था परामर्श समितिमा छलफल भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले नियमित बजेटबाटै काम चलाएर भए पनि सभा बनाउनुपर्नेमा जोड दिएका थिए ।
सचिव बुढाथोकीका अनुसार प्रारम्भिक चरणमा नियमित बजेटको मर्मत सम्भार शीर्षकबाट फर्निचर, विद्युतीय सामान खरिद तथा अन्य सामान्य मर्मतमा २० देखि ३० लाख रुपैयाँसम्म खर्च हुने अनुमान छ । यो रकम अपुग भएमा सरकारसँग माग गरिने उनले बताए ।
सभामुख नन्दा गुरुङले पनि कम खर्चमा तत्कालका लागि काम चलाउन र ठुलो तामझाम नगर्न निर्देशन दिएको बुढाथोकीको भनाइ छ ।
प्रदेश सभा भवनको पूर्ण रूपमा निर्माण गर्न कठिन हुने सचिव बुढाथोकीको तर्क छ । ध्वस्त भएका संरचनाको प्राविधिक जाँचबुझ, डिजाइन, बजेट विनियोजन र निर्माण प्रक्रिया पूरा गर्न लामो समय लाग्ने उनले बताए ।
संवैधानिक प्रावधानअनुसार एक अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबिचको अन्तर ६ महिनाभन्दा बढी हुन मिल्दैन ।
सचिव बुढाथोकीले कामचलाउ सभालाई उक्त समय सीमाभन्दा अगाडि नै तयार पारिसक्ने लक्ष्य राखिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण