भेरी-बबई डाइभर्सन समस्याग्रस्त बन्दै, विशेष पहलको लागि सङ्घीय सरकारलाई आग्रह
सारांश
- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भेरी-बबई डाइभर्सन आयोजनालाई समस्याग्रस्त बन्न नदिन सङ्घीय सरकारको ध्यानाकर्षण गराएका छन्।
- मुख्यमन्त्री कँडेलले आयोजनाको प्रगति सुस्त भएको र थप समयमा पनि सम्पन्न नहुने चिन्ता व्यक्त गर्दै संघीय सरकारलाई पहल गर्न आग्रह गरे।
- भेरी-बबई डाइभर्सन आयोजना आर्थिक वर्ष २०७१/७२ मा सुरु भई हालसम्म ५७ प्रतिशत मात्र प्रगति भएको छ।
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई ‘समस्याग्रस्त आयोजना’ बन्न नदिन सङ्घीय सरकारले विशेष पहल गर्नुपर्ने बताएका छन् ।
हालै सङ्घीय सरकारले यस आयोजनालाई समस्याग्रस्त आयोजनाको सूचीमा राख्ने तयारी गरिरहेको चर्चाका बिच मुख्यमन्त्री कँडेलले आयोजनास्थल पुगेर सम्बन्धित पक्षहरूसँग छलफल गरेका हुन् ।
उनले अहिलेको कामको गति कायम रहेमा थपिएको समयमा पनि आयोजना सम्पन्न हुन नसक्ने भन्दै आयोजनाको भविष्यप्रति चिन्ता व्यक्त गरे । मुख्यमन्त्री कँडेलले यो सङ्घीय सरकारको कार्यक्षेत्रभित्र पर्ने भए तापनि प्रदेशको यसमा चासो र चिन्ता हुनु स्वाभाविक भएको बताए ।
उनले भने, 'थपिएको समयमा पनि काम करिब साठी प्रतिशतको हाराहारीमा मात्र भएको रहेछ, यही गतिले अर्को चार वर्षमा पनि आयोजना सम्पन्न हुने देखिँदैन ।' राष्ट्रिय गौरवको आयोजना भए पनि सङ्घीय सरकारले पर्याप्त पहल नगरेको उनको भनाइ थियो ।
मुख्यमन्त्री कँडेलले शुक्रबार आयोजनास्थल बबई पुगेर आयोजना प्रमुखलगायत निर्माण व्यवसायीका प्रतिनिधिहरूसँग स्थलगत अवलोकन र छलफल गरेका थिए ।
छलफलका क्रममा उनले आयोजनाको अहिलेको कार्यप्रगति हेर्दा यसलाई समस्याग्रस्त आयोजनाका रूपमा राख्ने तयारी गर्नुभन्दा कामको गति बढाउने विशेष योजना बनाउन सङ्घीय सरकारले पहल गर्नुपर्ने बताए ।
यस सम्बन्धमा सङ्घीय सरकारको ध्यानाकर्षण गराइने जानकारी पनि उनले दिए । छलफलमा आयोजना प्रमुख सुरेन्द्र पौडेलले आयोजनाको कार्यप्रगति अपेक्षाभन्दा कमजोर रहेको र थपिएको समयमा काम सम्पन्न हुन नसक्ने बताए ।
उनले आयोजनाका सन्दर्भमा आफूहरूको अधिकार सीमित रहेकाले माथिल्लो निकायबाट विशेष पहल हुनुपर्नेमा जोड दिए । आर्थिक वर्ष २०७१–७२ मा सुरु भएको भेरी–बबई डाइभर्सन आयोजनाको समग्र प्रगति हालसम्म करिब ५७ प्रतिशत पुगेको छ।
आयोजनाको अन्तिम म्याद २०८२ चैतसम्म रहेको छ, जसका लागि अब करिब साढे पाँच महिना मात्र बाँकी छ। आयोजनामा अझै १० जना उच्च तहका प्राविधिक पद रिक्त छन्, जसले कामको गतिमा प्रभाव पारेको छ।
सुर्खेतको भेरीगङ्गा नगरपालिका–११ चिप्लेमा अवस्थित यो आयोजनाले भेरी नदीको पानी १२.२ किलोमिटर लामो सुरुङमार्फत बर्दिया जिल्लाको बबई नदीमा ल्याउने लक्ष्य राखेको छ ।
यसबाट ४६.६ मेगावाट विद्युत् उत्पादनका साथै बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्य छ ।
आयोजनाको पहिलो चरणअन्तर्गत सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी कोभेकले तोकिएको समयभन्दा एक वर्षअघि नै २०७६ वैशाखमा सुरुङ खन्ने काम सम्पन्न गरेको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सोही वर्ष चिप्लेमा सुरुङको ‘ब्रेकथ्रु’ उद्घाटन गरेका थिए । तर, दोस्रो चरणको काम भने पछिल्ला वर्षहरूमा सुस्त गतिमा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण