लेखक सामाजिक चिकित्सक हो : डा. नवराज केसी
सारांश
- डा. नवराज केसीको दोस्रो गैरआख्यान कृति ‘स्वस्पर्श’ पाठकमाझ आएको छ, र उनले किताब र जीवनको सम्बन्धबारे कुराकानी गरेका छन्।
- उनले पुस्तकले मानिसलाई लेख्न सिकाउने र जीवनमा ठूलो परिवर्तन ल्याउने बताउँदै नयाँ पुस्तालाई अध्ययन गर्न सुझाव दिए।
- केसीले लेखक र चिकित्सकको सम्बन्धबारे चर्चा गर्दै नेपाली साहित्यलाई विश्व बजारमा लैजानुपर्नेमा जोड दिए।
डा. नवराज केसी बाल रोग विशेषज्ञ हुन् । कर्णाली प्रदेश अस्पतालमा बालरोग विभाग प्रमुखका रूपमा काम गरिसकेका केसी हाल कर्णाली केयर अस्पतालमा कार्यरत छन् ।
उनको पहिलो कृति ‘शून्यको मूल्य’ले निकै चर्चा पाएको थियो । केसी भर्खरै आफ्नो दोस्रो गैरआख्यान कृति ‘स्वस्पर्श’ पाठकसामु लिएर आएका छन् । रातोपाटीको ‘किताबका कुरा’ शृङ्खलाका लागि रमा सुवेदीले उनै केसीसँग गरेको कुराकानी ।
- कक्षा कोठाको अध्ययन र आफूले रुचि मानेर गरिने अध्ययनबिच के भिन्नता रहेछ ?
मानिसको मापन गर्ने धेरै विधिहरू हुन्छन् । मानिस नै त्यस्तो प्राणी हो, जसले आफूले आफैलाई मापन वा मूल्याङ्कन गर्न सक्छ । आफूलाई कस्तो ज्ञान चाहिएको हो र कुन ज्ञानलाई तिखार्न मिल्छ भनेर मानिसले अवचेतन रूपमै मूल्याङ्कन गरिरहेको हुन्छ । त्यसैले अरूले ‘यो पढ्’, ‘यसरी पढ्’ भनेको भन्दा आफैले रुचिकर मानेर अध्ययन गरेको विषय मस्तिष्कमा बस्छ । त्यसले आफूलाई तिखार्न प्रेरित गरिरहेको हुन्छ ।
त्यसैले मलाई के लाग्छ भने आफैले खोजेर अध्ययन गरेको विषय ज्ञानका रूपमा मन–मस्तिष्कमा बीउ जसरी रोपिन्छ । र, कुनै न कुनै समय त्यो बीउ अङ्कुरित हुन्छ । म पेसाले बच्चाको डाक्टर हुँ । उनीहरूको रोग निदान मात्रै होइन, उनीहरूको विकासमा पनि मेरो उत्तिकै चासो छ । त्यसैले बालबालिकालाई सानै उमेरदेखि नै अध्ययनमा रुचि जगाउनु पर्छ । आफ्नो रुचि अनुकूलको अध्ययन र लेखन अति नै महत्त्वपूर्ण हुन्छ ।

- कुनै पनि मानिसको जीवनमा पुस्तकको के महत्त्व हुन्छ ? घोक्नु, पढ्नु वा चिन्तन गर्नुको बिचमा के अन्तर छ ?
भर्खरै जन्मिएको बच्चा, छेउछाउमा अरू कोही सानो बच्चा रोएको आवाज सुन्यो भने पनि रुन्छ । पहिले मलाई के लाग्थ्यो भने अरू रोएको आवाज सुनेर तर्सिएर वा डराएर रोएको होला । तर उ त रोएको बच्चाले आफ्नो आमाको दूध खाइदिने पो हो कि भनेर पो रुने रहेछ । मलाई लाग्थ्यो– मानिस सबैभन्दा बढी रिसाउने, विद्रोह गर्ने जवानीमा हो । तर त्यस्तो नहुने रहेछ । मान्छे सबैभन्दा बढी विद्रोही साढे दुई वर्षको उमेरमा हुँदो रहेछ ।
बच्चाले आफ्नो घरपरिवारलाई हेर्छ, सम्बन्धहरू हेर्छ, ऊ विद्यालय जान थाल्छ । विद्यालयमा उसलाई धेरै कुराहरू सिकाइन्छ, लाइनमा बसालिन्छ, समूहमा खेलाइन्छ फलतः बिस्तारै उसको विद्रोही स्वभाव हराउँदै जान्छ । यो विकासक्रमसँगै हुँदै जान्छ । अर्थात् जोकोहीलाई पनि सुरुमा लेख–पढ गर्न जोर बल लगाउनै पर्छ । जब उसले आफ्नो स्वेच्छाले, स्वप्रेरणाले खोजेर पढ्न थाल्छ, त्यसपछि उसले बिस्तारै चिन्तन–मनन गर्न थाल्छ । मान्छेलाई मान्छे बनाउन पुस्तकले महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।
पुस्तककै माध्यमबाट मानव जगतले एक पुस्तादेखि अर्को पुस्ता र त्यसपछिका आगामी कयौँ पुस्तासम्म ज्ञान हस्तान्तरण गरिरहेको हुन्छ । हाम्रा बाऊ–बाजेहरूले आफ्नो ज्ञानलाई जनश्रुति र पुस्तकमा लिपिबद्ध गरेर नराखिदिएको भए सायद आज हामीले जुन प्रगति देखिरहेका छौँ, त्यो सम्भव थिएन ।
- पेसागत रूपमा तपाईं चिकित्सक हुनुहुन्छ । तर ‘स्टेथेस्कोप’ र ‘प्रेस्क्रिप्सन डायरी’ छोडेर साहित्यका पानाहरूमा अल्झिन पुग्नु भयो, लेखक–साहित्यकारहरूको दुनियाँ रुन्चेहरूको दुनियाँझैँ लाग्दैन ?
मेरो दिनको धेरै समय अस्पतालमा बित्छ । अस्पताल हाम्रो समाजको अन्तिम पाइला हो । अस्पतालमा आँखासँगै मन पनि खोलेर बस्दा अनेकौँ मानिसका अनगिन्ती कथा, ती कथाले देखाउने समाजको अनुहार त्यहाँबाट पनि प्रस्ट देख्न सकिन्छ । सुरु–सुरुमा म औषधिको नाम लेखेर, रोग मात्रै निदान गरेर पठाउने काम गर्थेँ । तर जब म कर्णाली प्रदेशमा आएँ, बिरामी र रोगलाई हेर्ने मेरो दृष्टिकोण फेरियो । म उभिएको जमिन मात्रै होइन, मेरो सोच्ने दृष्टिकोण पनि फरक भयो ।
दूरदराजबाट मानिसहरू सामान्य समस्या बोकेर आउँथे । कहाँदेखि आउनु भएको भनेर सोध्दा उनीहरूले बयान गरेको दैनन्दिनको घटना नै मेरा लागि एउटा छुट्टै कथाझैँ भइदियो । पछि कर्णालीका दुर्गम गाउँ–गाउँ पुगेर बालबालिका र महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्यौँ । त्यसक्रममा त्यहाँसम्म जसरी हामी पुग्थ्यौँ, फर्किन्थ्यौँ, अनि शिविरमा आएका गाउँलेसँग जे संवाद हुन्थ्यो त्यो नै मेरा लागि कथा भइदिन्थ्यो ।
प्रत्येक कथा आफैँमा उत्कृष्ट थिए । यसरी चिकित्सकीय यात्राकै क्रममा मभित्र कथा/साहित्य हुर्कियो । त्यसो त सानै उमेरदेखि मलाई लेखनमा रुचि थियो । तर त्यो प्रस्फुटित हुन पाइरहेको थिएन । डाक्टरको चोलामा अस्पताल जान थालेपछि म भित्र लुकेर बसेको साहित्य बाहिरिन थालेको मात्र हो ।

- लेखक हुनु र चिकित्सक हुनुको बिचमा के फरक रहेछ ? त्यस्तो कुनै प्रसङ्ग वा सन्दर्भ सुनाउनुस् न, जुन हाम्रा पाठकहरूलाई थाहा छैन ।
लेखक एक प्रकारको चिकित्सक नै हो र चिकित्सक पनि एक प्रकारको लेखक हो । लेखकले कुराहरूलाई जुन गहिराइमा पुगेर लेख्छ यस क्रममा उसले समाजको ‘डायग्नोसिस’ गरिरहेको हुन्छ । मानव सभ्यताको इतिहासको चिरफार गरिरहेको हुन्छ, समाजमा देखापरेका रोगहरूको निदानका लागि कलम चलाई रहेको हुन्छ । त्यसैले मलाई लाग्छ लेखक सामाजिक चिकित्सक हो ।
कसैले गोरेटो बाटोमा गिट्टी बालुवा, सिमेन्ट वा तारकोल हालेर बाटो बनाइरहेका हुन्छन् । तर कसै–कसैले भने मानिसले नाङ्गो आँखाले देख्न नसक्ने बाटो बनाइरहेका हुन्छन् । उनीहरूले कोरेको बाटोमा भविष्यका यात्रुहरू, जीवन्त समाज बनाउन चाहने यात्रुहरू हिँड्ने गर्छन् । साहित्यकार र इतिहासकारले कोर्ने बाटो त्यस्तै हुने गर्छ भन्ने ठान्छु ।
साहित्य कलमले मात्रै लेखिँदैन, भावनाले लेखिन्छ । मेरो पेसा र लेखनकर्म फरक जस्तो देखिए पनि यसका आफ्नै समान मिलन बिन्दु पनि छन् । मकहाँ उपचार गराउन आउने बिरामीलाई भेटेर म कयौँ पटक अरू कसैले नदेख्ने गरी रोएको छु । यस्ता घटनाबाट प्रेरित भएर मैले कथा लेखेको हुँ । तर मानिस साह्रै स्वार्थी बन्दै गएका छन् । उसलाई आफ्नै कुरा मात्रै सुनाउने हतार हुन्छ । अरूको कुरा सुन्नमा त्यति चासो दिँदैन । तर बेला बेलामा अरूलाई पनि सुन्नुहोस् । हाम्रै वरिपरि प्रेरणाका अजम्बरी पहाडहरू रहेछन् भन्ने थाहा पाइनेछ ।
- साहित्यकारका रूपमा गमेर ल्याउँदा छिमेकमा कुरा गर्ने हो भने बांगलादेश, पाकिस्तान, श्रीलंकाका तथा टाढाको कुरा गर्ने हो भने बुर्किना फासोदेखि कोलम्बियासम्म, गाजादेखि मेक्सिकोसम्मका लेखनीले विश्व बजारमा आफ्नो छाप छोड्न सकेका छन् । तर नेपाली लेखकको छाप कतै पाइँदैन । यस्तो किन ?
पछिल्लो समय मैले नेपाली साहित्यलाई जे जति बुझेको छु, त्यसका आधारमा म के भन्छु भने आफूले लेखेको पुस्तकलाई अङ्ग्रेजीमा अनुवाद गरेर विदेशी बजारमा लैजान औँलामा गन्न सकिने नेपाली साहित्यकार/लेखकहरूसित मात्रै पैसा छ । नेपाली साहित्यमा पनि कति धेरै राम्रा राम्रा कृति छन् । यसलाई अङ्ग्रेजीमा अनुवाद नगरिएको मात्रै हो । सरकारले बरु आफ्नै पहलमा नेपालका अनुवादित कृति विश्व बजारमा लैजाने हो भने विश्वमा नेपाली साहित्यले पनि छाप छाड्न सक्थ्यो ।
- पुस्तकले तपाईंको जीवनमा के प्रभाव पार्यो भनेर कसैले सोधेमा के भन्नु हुन्छ ?
पुस्तकले मलाई लेख्न सिकायो । मान्छे जब लेख्न थाल्छ उसले के बोल्ने, के नबोल्ने तथा धेरै सुन्न र एकाग्र हुन सिकाउँछ । मेरो दोस्रो पुस्तक ‘स्वस्पर्श’ लेखनका क्रममा म अलिकति बौद्ध मार्गमा धकेलिए । यो कृति लेख्ने क्रममा मैले धेरै सन्दर्भ सामाग्रीहरू पढेँ र गुम्बाहरूमा बसेँ । विशेष गरेर काठमाडौँको कपन गुम्बाको लाइब्रेरीमा मैले धेरै समय बिताएँ । यो खोजका क्रममा मेरो जीवनमै परिवर्तन देखापर्न थाल्यो । म अलिक कम रिसाउने, छिट्टै नतर्सिने, नडराउने खालको पनि भएँ । चाहे पुस्तक पठन होस् वा लेखन यसले व्यक्तिको जीवनमा ठुलै फेरबदल ल्याई दिन्छ ।
- तपाईंलाई लागेका नेपाल र विश्वका त्यस्ता पाँच लेखक तथा तीनका कृतिको नाम भन्नुस् न, जुन नेपाली पाठकले पढ्नै पर्छ ।
ठ्याक्कै पाँच लेखक र उनीहरूको पुस्तक भनेर खुट्याउनु त गाह्रो काम हो । आफूलाई निकै मन परेका पुस्तकहरू कति छन् कति । अब नामै तोकेर भन्नु पर्दा खलिल जिब्रानको ‘द प्रोफेट’ सबैले पढ्नुपर्छ । यसले जीवन दर्शनलाई जुन गहिराइमा प्रस्तुत गरेको छ, त्यो गजबको छ । कृतिलाई सरल, सहज र पठनीय कसरी बनाउन सकिन्छ भनेर जान्ने हो भने बुद्धिसागरको ‘कर्णाली ब्लुज’ पढ्नुस् । साहित्य कत्तिको भावनात्मक गहिराइसम्म जान सक्छ र समाजका वेथितिहरूलाई यसरी पनि लेख्न सकिन्छ भनेर हेर्ने हो भने अमर न्यौपानेको कृति ‘सेतो धरती’ पढ्नै पर्छ ।
आजको डिजिटल युगमा नयाँ पुस्ताले पढ्नुपर्ने पुस्तक हो, डेनियल गोलम्यानको ‘इमोसनल इन्टेलिजेन्सः ह्वाई इट क्यन म्याटर मोर देन आईक्यु’ । संसारमा रहेका विभेदले कतिसम्म असर गर्न सक्दो रहेछ भन्ने कुरा मलाई लियोनार्द स्याक्सको ‘ह्वाई जेन्डर म्याटर्स इन इकोनोमी’ भन्ने पुस्तकले सिकायो । पहिलो कृति ‘शून्यको मूल्य’ लेख्ने बेलामा मैले यो किताब पढेको थिए । यसले त मेरो आँखै खोलिदियो । हाम्रो समाजमा शताब्दीऔँदेखि व्याप्त लैङ्गिक विभेदले अर्थतन्त्रलाई कयौँ युग पछाडि धकेलिरहेको कुरालाई यसले मज्जाले पुष्टि गरेको छ । यहाँ मैले भन्न छुटाएका कयौँ राम्रा पुस्तकहरू पनि छन् । तर अहिलेका लागि यत्ति ।

- तपाईंको सोचलाई नै बदलिदिएको कुनै पुस्तक छ त ?
मेरो सोच बदल्ने पुस्तकहरू त धेरै छन् । जीवनको विभिन्न कालखण्डमा यिनीहरूले मेरो सोचलाई परिष्कृत गर्न भूमिका खेले । त्यसै मध्येको एउटा चार्ली च्याप्लिनको ‘माई अटोबायोग्राफी’ हो । यो पढेर दुःखको प्रयोग यसरी पनि गर्न सकिन्छ है, आफ्नै दुःखलाई चुट्किलामा बदलेर अरूलाई हँसाउन सकिन्छ भन्ने ज्ञान भयो । यसले मेरो जीवनमा केही हदसम्म सकारात्मक परिवर्तन ल्याएको छ ।
- साहित्यले व्यक्तित्व निर्माण गर्छ भने तपाईंले गरेको उपचारले मानिसको श्वास जोगाउँछ । के लेखन र चिकित्सक हुनुको बिचमा कुनै तादात्म्य छ ?
छ नि, जसरी चिकित्सकीय विधाले मान्छेको स्वास्थ्य जोगाउँछ ठिक त्यसैगरी साहित्यले मान्छेको मन र मस्तिष्कलाई स्वस्थ बनाउँदै लैजान्छ । मनको श्वास हो साहित्य । त्यसैले लेखक र चिकित्सक हुनुबिच तादात्म्य छ नै ।
- अन्त्यमा नयाँ पुस्ताका युवाहरूलाई के भन्न चाहनुहुन्छ ?
समाजमा मान्छेले ठुलो प्रगति गरेका छन् । भोकमरी, ठुला–ठुला युद्धहरू कम हुँदै गइरहेका छन् । विभेद, जातीय, लैङ्गिक विभेदहरू पनि केही हदसम्म घट्दै गइरहेका छन् । तर मानसिक र भावनात्मक समस्याहरूको चाङ थपिइरहेका छन् । यस्ता समस्याका पहाडमाथि चढ्न र यसको समाधान निकाल्नका लागि अध्ययन गर्नु एकदमै जरुरी छ ।
आफ्नो भावना, शरीर, समाज, इतिहाससम्बन्धी ज्ञान प्राप्त भएपछि मानिसलाई आफूलाई सम्हाल्न सहज हुन्छ । त्यसैले सकेसम्म धेरै अध्ययन गर्नुहोस् । नेपाली साहित्यको अध्ययन गरेर यसलाई विश्वभर फैलाउने जिम्मा नयाँ पुस्ताको काँधमा छ भन्नेमा कुनै शङ्का छैन । नयाँ पुस्ताका साथीहरूले हामीले गरेको भन्दा धेरै गुणा राम्रो गर्न सक्नु हुन्छ भन्नेमा म विश्वस्त छु । बिना सङ्कोच अघि बढ्नुस्, नेपाल तपाईँहरूकै परिश्रमले चिनिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर चोरीको अभियोगमा एक जना पक्राउ
-
नयाँ भनिएकाहरूमा पनि तानाशाहीको गन्ध आयो : रक्षा बम
-
पृथ्वी राजमार्गको पहिरो पन्छाइयो, नारायणगढ–काठमाडौँ सडक दुईतर्फी सुचारु
-
पार्टीको औपचारिक निर्देशन नआएसम्म एमालेका मन्त्रीले राजीनामा नदिने
-
डाटा माइग्रेसन र कर मिलान गरिँदै: अति आवश्यकबाहेक यातायात कार्यालय नजान अनुरोध
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण