एकताबारे प्रचण्डको प्रस्ताव : नारायणकाजीले समर्थन गरे, जनार्दन जुरुक्क उठेर हिँडे
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एसँगको एकता नरोकिने बताएका छन्।
- जनार्दन शर्माले भने हतारमा एकता गर्न नहुने भन्दै लिखित प्रस्ताव पेश गरेर बैठक छाडे।
- नारायणकाजी श्रेष्ठले एकीकृत समाजवादीका असन्तुष्ट पक्षलाई समेत समेटेर एकता प्रक्रियामा ल्याउनुपर्ने धारणा राखे।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकीकृत समाजवादीसँगको एकता नरोकिने स्पष्ट पारेका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा प्रचण्डले प्रचण्डले वामपन्थीबिच एकता र ध्रुवीकरण आजको ऐतिहासिक आवश्यकता भएकाले एकता प्रक्रिया नरोकिने स्पष्ट पारेका हुन् ।
नेकपा एकीकृत समाजवादीको शुक्रबार सम्पन्न केन्द्रीय समितिको बहुमतले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको स्वागत गर्दै आजको बैठकमा उनले समग्र परिस्थितिको संक्षिप्त विश्लेषण गरेको नेता हरिबोल गजुरेलले जानकारी दिए ।
‘प्रचण्डजीले वामपन्थीबिच एकता र ध्रुवीकरण ऐतिहासिक आवश्यकता थियो । एकीकृत समाजवादीका बहुसङ्ख्यकले एकता गर्ने निर्णय गरेका छन् । अब एकता र ध्रुवीकरण प्रक्रिया रोकिँदैन । देश अहिले गम्भीर सङ्कटमा छ । यस्तो बेला विभाजित भएर होइन एकजुट भएर सङ्कट सामना गर्नुपर्छ । सङ्कटकै बिचमा समाजवादी क्रान्तिको तयारी गर्नुपर्छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै गजुरेलले भने ।
_HnOKOaWzYU.jpg)
तर नेता जनार्दन शर्माले प्रचण्डको ब्रिफिङप्रति असहमति व्यक्त गर्दै तीन पन्ने लिखित प्रस्ताव राखेर बाहिरिएका थिए । उनले वैचारिक स्पष्टता, विगतको समीक्षा र संगठनात्क तयारी नगरी हतारमा एकता गर्न नहुने पक्षमा उभिएका थिए । हतारोको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पुरा हुने तर आम कम्युनिस्ट आन्दोलनका लागि प्रतिकुल परिणाम ल्याउने शर्माको निष्कर्ष थियो । त्यसैले एकीकृत समाजवादीसँगको एकता रोक्नुपर्ने उनको भनाइ थियो
‘यो एकता प्रक्रियालाई तत्काल स्थगित गरी पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अगाडि बढ्न सबै कमरेडहरूलाई गम्भीरतापूर्वक आह्वान गर्छु’, बैठकमा शर्माले पढेर सुनाएका थिए ।
त्यसपछि अन्य नेताहरूको विचार नसुनीकन बाहिरिएको नेता गजुरेलले बताए । ‘जनार्दनले आफ्नो लिखित भाषण पढेर सुनाउनुभयो । संक्षिप्तमा विश्लेषण गरी बैठकबाट बाहिरिनुभयो । पत्रकारहरूलाई पत्र बाँड्नुभयो । आन्तरिक विषय बाहिर लगेर किन व्यक्त गर्नुभयो हामी आश्चर्यमा छौँ’, उनले भने ।
_J61Y8kqZRs.jpg)
असोज ९ र १० गते बसेको केन्द्रीय समितिमा बैठकमा कार्यवाहक अध्यक्षको जिम्मेवारी मागेका नेता नारायणकाजी श्रेष्ठले यो पटक प्रचण्डको प्रस्तावलाई समर्थन गरेको जिकिर गरे । श्रेष्ठले एकीकृत समाजवादीका असन्तुष्ट पक्षलाई समेत समेटेर एकता प्रक्रियामा ल्याउनुपर्ने धारणा राखेका थिए ।
‘नारायणकाजीले एकता र ध्रुवीकरणका लागि अझै पहल गर्नुपर्ने धारणा राख्नुभयो । एकीकृत समाजवादीका असन्तुष्ट नेताहरू झलनाथ खनाल, घनश्याम भुसाल लगायत नेताहरू पनि ल्याउन पहल गर्नुपर्छ भन्नुभयो । वामपन्थी शक्तिबिच एकता र ध्रुवीकरण आजको अपरिहार्य आवश्यकता भएकाले नेतृत्वले लिएको पहलकदमीलाई समर्थन गर्नुभएको छ,’ उनले भने ।
_RyG25kAf90.jpg)
बैठकपछि बाहिर सञ्चारकर्मीसँग पनि आफू पार्टी एकताको पक्षमा मात्र नभई एकताको पहल गर्ने व्यक्ति मध्ये एक भएको जिकिर गरे ।
‘पार्टी एकताको पक्षमा मात्र होइन । एकताका लागि पहल गर्ने व्यक्तिमध्येका एक हुँ । झलनाथ खनाल, घनश्याम भुसाल लगायत सबैलाई मिलाएर एउटा निष्कर्षमा पुर्याउनुपर्छ,’ उनले भने ।
_kLwQPDIRrs.jpg)
हरिबोल गजुरेलले वामपन्थी एकता र ध्रुवीकरणको पहलकदमी प्रचण्डले गरेकोमा खुसी व्यक्त गरे । ‘वामपन्थीबिच एकता र ध्रुवीकरण कि केपी ओली कि प्रचण्डले गर्नुपर्थ्यो । त्यो ऐतिहासिक आवश्यकता थियो । ओलीजी दक्षिणपन्थी भासमा जानुभयो । प्रचण्डजीले एकीकृत समाजवादी लगायत अन्य वामपन्थी दलहरूको एकीकरण र ध्रुवीकरणको पहल पहल गर्नुभयो, त्यो स्वागतयोग्य कदम हो । यसको प्रेसर ओलीमा परेकाले आत्तिनुभएको छ’, उनले भने ।
बैठकमा नेता देव गुरुङ र वर्षमान पुनले विभिन्न वामपन्थी घटकसँग भएका प्रगति विवरण पेस गरेका थिए । गुरुङ र पुनले एकीकृत समाजवादी, नेसपा, नेकपा समाजवादी लगायत गोपाल किराँती, प्रेमबहादुर सिंह लगायत घटकसँग एकता सकारात्मक भएको जानकारी गराएका थिए ।
नेता गजुरेलले कात्तिक १७ गते महाधिवेशन आयोजक समितिको बैठक बस्ने र १८ गते एकता घोषणाको तयारी भएको जानकारी दिए । सचिवालयको बैठक भोलि ८ बजे बसेर सबै विषय टुङ्गो लगाउने जानकारी दिए ।
एकताकै विषयलाई लिएर पार्टी विभाजन नहुने संयोजक प्रचण्डले जिकिर गरेका छन् । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले पार्टी एकजुट भएको स्पष्ट पारे ।
‘पार्टीबाट कोही जाँदैनन् । एकजुट भएको छ । केन्द्रीय समिति बैठकसम्म जनार्दन एक हुन्छन्, हुनुपर्छ भन्ने मेरो विश्वास छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण