'माओवादी– एकीकृत समाजवादी एकता हानिकारक हुन सक्छ'
सारांश
- जनार्दन शर्माले नेकपा (एकीकृत समाजवादी) सँगको पार्टी एकता प्रक्रिया रोक्न माग गरेका छन्।
- उनले हतारमा गरिने एकताले कम्युनिस्ट आन्दोलन कमजोर बनाउने र व्यक्तिगत स्वार्थ पूरा गर्ने बताए।
- शर्माले पार्टीको पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न आह्वान गरे।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले नेकपा (एकीकृत समाजवादी) सँग प्रस्तावित पार्टी एकता प्रक्रिया तत्काल रोक्न माग गरेका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा आफ्ना विचार राख्दै शर्माले हतारमा गरिने एकताले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने र व्यक्तिगत स्वार्थ पूरा गर्ने मात्रै हुने बताएका हुन् ।
शर्माले वैचारिक स्पष्टता, विगतको समीक्षा र सांगठनिक तयारीबिनाको एकता 'दीर्घकालीन दृष्टिले हानिकारक' हुने तर्क प्रस्तुत गरे । उनले जनयुद्धको मर्म, संविधानको भावना र जनआकांक्षा अनुरूप समाजवादको आधार तयार पार्नुको सट्टा शीर्ष नेताहरू सुखसुविधा, पद, चाकडी र सत्ता मोहमा अल्झिँदा पार्टीको वैचारिक आधार र जनपक्षीय चरित्र कमजोर बनेको आरोप लगाए ।
यसैको परिणामस्वरुप भदौ २३ गते युवाहरूको जेनजी आन्दोलन विस्फोटन भएको उनको ठहर छ, जसले प्रमुख दलका शीर्ष नेतृत्वमाथि गम्भीर प्रश्न उठायो । उनले पार्टीले जनाधार गुमाएको र विचार विपरीत गठबन्धनमार्फत अस्तित्व बचाउन बाध्य भएको उल्लेख गरे । माओवादी विचार र पहिचानलाई परित्याग गर्दै बहुदलीय जनवादका आधारभूत मान्यतासँग आत्मसमर्पण गर्ने प्रवृत्तिले पार्टीको आधारभूत चरित्रलाई पूर्णरूपमा समाप्त पार्ने उनको भनाइ छ ।
शर्माले महाधिवेशनमार्फत वैचारिक बहस र प्रतिस्पर्धामूलक नेतृत्व निर्माणको प्रक्रिया अवरुद्ध पार्दै गरिएको एकता प्रस्तावलाई वैचारिक छलफलबाट भाग्ने प्रयासका रूपमा चित्रित गरे । उनले सहिद, बेपत्ता र घाइते योद्धाहरूको सपना र त्यागलाई बेवास्ता गर्दै गरिने यस्तो एकता प्रक्रियाले पार्टीलाई बलियो नभई अझ कमजोर बनाउने र कम्युनिस्ट आन्दोलनलाई विघटनको दिशामा धकेल्ने चेतावनी दिए ।
उनले तत्काल एकता प्रक्रिया स्थगित गरी पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न गम्भीरतापूर्वक आह्वान गरेका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण