मधेस प्रदेश : मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने
सारांश
- मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।
- जनमत पार्टीभित्रको विभाजनको जोखिमका कारण हाल तीन सदस्यीय सरकारबाटै काम चलाइने भएको छ।
- सत्ता गठबन्धनमा सात दल सहभागी छन् र जसपा नेपालले ४ मन्त्रालय पाउने सहमति भएको छ।
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरिसकेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
सत्ता साझेदार दलबिच मन्त्रालयको भागबन्डाबारे सैद्धान्तिक सहमति जुटिसके पनि आफ्नो कोटाबाट मन्त्री बन्नेको नाम दलहरूले फाइनल गर्न बाँकी रहेको जनाइएको छ ।
विश्वासको मत लिनुभन्दा अघि मन्त्रिपरिषद् विस्तार गर्दा जनमत पार्टीभित्र विभाजनको प्रभाव बढ्ने खतरा आकलन गर्दै तत्कालका लागि तीन सदस्यीय सरकारबाटै काम चलाउन लागिएको स्रोतको भनाइ छ ।
मुख्यमन्त्री सोनलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै दुई जना मन्त्रीलाई शपथ गराइएको थियो । दुवै मन्त्रीको जिम्मेवारी अहिलेसम्म तोकिएको छैन । हाल मधेसका सबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री सोनलकै काँधमा छ ।
सत्ता गठबन्धनमा हाल सात वटा दल सहभागी छन् । तीमध्ये सबैभन्दा ठुलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालका १९ जना प्रदेश सभा सदस्य छन् भने जनमत पार्टीका १३ जना सदस्य छन् । यस्तै माओवादीको ९ जना, लोसपाको ८ जना र नेकपा एकीकृत समाजवादीको ७ जना सांसद छन् । नागरिक उन्मुक्ति पार्टी(नाउपा) र नेपाल संघीय समाजवादी पार्टीको १/१ जना सांसद छन् ।
सत्ता गठबन्धनबिच जनता समाजवादी पार्टी (जसपा) नेपालले ४ वटा, जनमत पार्टीले ३ वटा, नेकपा माओवादी केन्द्रले २ वटा, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १/१ मन्त्रालय पाउने सहमति भएको बताइन्छ ।
स्रोतका अनुसार जसपा नेपालले आफ्ना मन्त्रीहरूको नाम लगभग फाइनल गरेको छ । जसअनुसार रामअशिष यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालयसहित पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्ने जिम्मेवारी दिने तयारी छ । त्यस्तै, मनिष सुमनलाई शिक्षा तथा संस्कृति मन्त्रालय र राजु गुप्तालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको जनाइएको छ । चौथो मन्त्रालयको जिम्मेवारीबारे भने अझै टुंगो लागेको छैन । सो कोटामा रौतहट वा बाराबाट एक जनालाई प्रतिनिधित्व गराउने सम्भावना रहेको जसपा नेपालका एक नेताले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रले नयाँ अनुहारलाई सरकारमा पठाउने तयारी गरेको तर नाम फाइनल गर्न बाँकी रहेको बताइएको छ । जनमत पार्टीबाट हाल एक जना र नेकपा एकीकृत समाजवादीबाट एक जना विनाविभागीय मन्त्री छन् । जनमत पार्टीले बाँकी दुई मन्त्रालयका लागि पुरानै अनुहार दोहोर्याउने सम्भावना रहेको बताइन्छ ।
त्यस्तै, लोसपा नेपालले पुनः रानी शर्मालाई मन्त्री बनाउने लगभग पक्का भएको छ । पार्टीभित्र सन्तुलन कायम राख्न पनि शर्माको सहभागिता आवश्यक रहेको लोसपाका नेताहरू बताउँछन् ।
मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले कात्तिक २२ गते (शनिबार) विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्राप्त गरेलगत्तै २३ गते आइतबार मन्त्रिपरिषद् विस्तार हुने सत्ता गठबन्धनका नेताहरूको भनाइ छ ।
सत्ता गठबन्धनमा सात दलका ५८ जना प्रदेश सभा सदस्य रहेकाले मुख्यमन्त्रीलाई विश्वासको मत लिन कठिन छैन । यसैबिच जनमत पार्टीका निवर्तमान मुख्यमन्त्री सतीश कुमार सिंह र प्रदेश सभा सदस्य त्रिभुवन साहले पार्टी परित्याग गरी जनस्वराज पार्टी रोजिसकेका छन् । जसपाका एक जना सदस्य निलम्बित छन् ।
जनस्वराज रोजेकाहरूले मुख्यमन्त्री सोनललाई विश्वासको मत नदिए पनि त्यसले सरकारको स्थायित्वमा खासै असर नपर्ने देखिन्छ । विपक्षी दलका तर्फबाट नेकपा एमालेका २३ जना, नेपाली कांग्रेसका २२ जना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ जना प्रदेश सभा सदस्य छन् । हालको शक्ति सन्तुलन हेर्दा सोनल नेतृत्वको सरकार विश्वासको मतका हिसाबले सुरक्षित देखिएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय महासचिव परमेश्वर साहले कांग्रेस र एमालेसँग पनि विश्वासको मतका लागि आग्रह गरिएको बताए । उनले भने, ‘हामी चाहन्छौँ कि मधेसमा बलियो, स्थिर र विकासोन्मुख सरकार बनोस् । जेनजी आन्दोलनपछि मधेस सरकारमाथि थप चुनौती आएका छन् र ती चुनौती सामना गर्न सबै दलको सहयोग आवश्यक छ ।’
साहले पनि मुख्यमन्त्रीले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषदलाई पूर्णता दिइने जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण