बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
राजनीति

प्रचण्डको छलाङ : ७ वर्षमै दुई पटक त्यागे माओवाद

३७ वर्षमा ६ पटक पार्टी विघटन, नेत्रित्त्वमा निरन्तर
सोमबार, १७ कात्तिक २०८२, १० : ०३
सोमबार, १७ कात्तिक २०८२

सारांश

  • पुष्पकमल दाहाल 'प्रचण्ड'ले ३७ वर्षमा ६ पटक पार्टीको नाम परिवर्तन गरेका छन्, र ८ दलबीच पार्टी एकता गर्ने सहमति भएको छ।
  • नयाँ दलको नाम र चुनाव चिह्नबारे छलफल भइरहेको छ, जसमा जनसमाजवादी पार्टीको चुनाव चिह्न प्रयोग हुने सम्भावना छ।
  • प्रचण्डले माओवादी विचारधारालाई नत्यागेको र पार्टीको नाम र चुनाव चिह्न परिवर्तनलाई प्राविधिक विषय मानेका छन्।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३७ वर्षमा ६ पटक पार्टीको नाम परिवर्तन गरेका छन् । आइतबार माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी सहित ८ दलबिच पार्टी एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर भयो ।

कात्तिक १९ गते एकता घोषणा गर्ने तयारीमा रहेको नयाँ दलको नाम जुरिसकेको छैन । चुनाव चिह्न भने सुवासराज काफ्लेको नाममा निर्वाचन आयोगमा दर्ता भएको जनसमाजवादी पार्टीको पाँचकुने तारा रहने सहमति भएको छ । पार्टीको नाम सम्बन्धमा छलफलकै क्रममा रहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

‘पार्टीको नाम के राख्ने भन्ने सम्बन्धमा विभिन्न नाम छलफलमा छन् । नेकपा समाजवादी, नेपाली कम्युनिस्ट पार्टी लगायत नाममा छलफल भइरहेको छ । कम्युनिस्ट शब्द नहट्नेगरी सजिलो नाम राखेर निर्वाचन आयोगमा दल दर्ता गर्न जान्छौँ’, उनले भने ।

prachanda madhav 2

२०४३ सालमा सेक्टर काण्ड असफल भएपछि तत्कालीन नेकपा मशालको नेतृत्वमा आएका प्रचण्डले २०४८ सालमा पहिलो पटक पार्टीको नाम परिवर्तन गरी नेकपा एकता केन्द्र बनाएका थिए । २०५१ सालमा दीर्घकालीन जनयुद्धमा जाने विषयमा पार्टी विभाजन हुँदा उनले दोस्रो पटक पुनर्गठन गरी नेकपा माओवादी बनाए । प्रचण्डकै नेतृत्वमा २०५२ फागुन १ गते १० वर्ष लामो सशस्त्र विद्रोह भयो ।

maoist samajbadi unity

२०६२ मङ्सिर ७ गते त्यतिबेलाका संसदवादी सात दलबिच १२ बुँदे सम्झौता भएपछि प्रचण्ड शान्तिपूर्ण राजनीतिमा आए । त्यही १२ बुँदे सहमतिको जगमा भएको २०६२/०६३ को जनआन्दोलनले परम्परागत राजतन्त्र ढलेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी प्रत्यक्षतर्फ १२० र समानुपातिकमा १०० सिट जितेर सबैभन्दा ठुलो दल बनेको थियो । २०६५ पुसमा नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्र मसालसँग एकता हुँदा तेस्रो पटक पार्टीको नाम परिवर्तन गरी एकीकृत नेकपा माओवादी राखिएको थियो ।

२०७४ सालमा गणेश साह नेतृत्वको नेकपा संयुक्तसँग एकता हुँदा चौथो पटक पार्टीको नाम परिवर्तन भयो । २०७५ साल जेठ ३ गते तत्कालीन नेकपा एमालेसँग एकतापछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखियो । प्रचण्डले पार्टीको नाम परिवर्तन गरेको यो पाँचौँ पटक थियो । तर नेकपा ऋषिराम कट्टेलको नाममा आयोगमा दर्ता कायम भएको भन्दै सर्वोच्च अदालतले २०७७ साल फागुन २३ गते केपी ओली र प्रचण्डको नाममा रहेको नेकपा विघटन गर्‍यो । त्यसपछि साबिक पार्टी माओवादी केन्द्र पुनर्गठन गरेका प्रचण्डले त्यसको पाँच वर्षमै फेरि पार्टीको नाम परिवर्तन गरेका छन् ।

नेकपा माओवादी गठन गरेको ३० वर्षमा प्रचण्डले २०७५ र अहिले गरी दुई पटक माओवाद विचारधारा परित्याग गरेका छन् । जनयुद्धको राप र तापबाट स्थापित भएको माओवादी नाम र २०६४ देखि निरन्तर चुनाव चिह्न गोलाकार भित्रको हँसिया हथौडा हटाउने निर्णयलाई माओवादमा आस्था र विश्वास राख्ने नेता तथा कार्यकर्ताहरूले आत्मसात् गर्न सकेका छैनन् । निरन्तरतामा क्रमभङ्ग गर्न रुचाउने प्रचण्डले आफैँले जन्माएको माओवाद तीन दशकमा आफैँले विघटन गरे ।

२०४६ सालमा बहुदल स्थापना भएपश्चात् उनले तीन पटक चुनाव चिह्न बदलेका छन् । यद्यपि प्रवक्ता सापकोटाले पार्टीको नाम र चुनाव चिह्न परिवर्तन भएकोमा हजारौँ पार्टी पङ्क्तिलाई खल्लो लागे पनि माओ विचारधारा सधैँका लागि नत्यागेको जिकिर गरे । पार्टीको नाम र चुनाव चिह्न निश्चित प्रयोजनका लागि प्राविधिक विषय भएको उनको भनाइ छ । जनपक्षीय काम गरेर मन जित्नु अहिलेको ऐतिहासिक आवश्यकता भएको उनले प्रस्ट पारे ।

‘माओवादी विचारधारा हामीले सधैँका लागि त्यागेका छैनौँ । पार्टीको नाम र चुनाव चिह्न प्राविधिक विषय हुन् । देशको विषम परिस्थितिमा ऐतिहासिक आवश्यकता महसुस गरी पार्टी एकता गरेका हौँ । जनताको मन जित्ने गरी काम गर्नुपर्छ । अन्य विषय गौण हो’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप