वन अधिकृत श्रेष्ठविरुद्ध १ करोड ४३ लाखको भ्रष्टाचार मुद्दा दायर
सारांश
- अख्तियारले डिभिजन वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ।
- श्रेष्ठले १ करोड ४३ लाख रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलाउन नसकेको पाइएको छ।
- अख्तियारले श्रेष्ठको सम्पत्ति पत्नी र बुहारीको नाममा लुकाएको जनाएको छ, र उनीहरुलाई पनि प्रतिवादी बनाएको छ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।
आयोगले श्रेष्ठले १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलाउन नसकेको भन्दै सोही रकम बराबरको बिगो कायम गरी आरोपपत्र दायर गरेको हो।
आयोगले सोमबार जारी गरेको विज्ञप्तिअनुसार, श्रेष्ठले सार्वजनिक पदमा रहेर पदीय अख्तियारको दुरुपयोग गरी अस्वाभाविक जीवनस्तर यापन गरेको र गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान थालिएको थियो।
अनुसन्धानका क्रममा श्रेष्ठको सार्वजनिक सेवा प्रवेश मिति २०४८ साल असार २६ गतेदेखि २०८० साल फागुन १६ गतेसम्मको आय र व्ययको विश्लेषण गरिएको थियो। यस अवधिमा श्रेष्ठ र उनको परिवारको वैध आय २ करोड १६ लाख ८५ हजार ५५७ रुपैयाँ देखिएको छ। तर, सोही अवधिमा उनको खर्च तथा लगानी ३ करोड ६० लाख ४ हजार ४९५ रुपैयाँ देखिएको आयोगले जनाएको छ।
आयोगका अनुसार श्रेष्ठको कुल आयभन्दा कुल व्यय १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँले बढी देखिएको र उक्त रकमको स्रोत पुष्टि हुन नसकेकोले गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर भएको हो।
आयोगले श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूरमा बिगोबमोजिम कैद र जरिवानाको माग गरेको छ। साथै, गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न पनि मागदाबी गरिएको छ।
श्रेष्ठले राष्ट्रसेवक पदमा रहँदा सम्पत्ति विवरण लुकाई छिपाई झुठ्ठा विवरण पेस गरेको पाइएकोले सो कसूरमा पनि थप कैद र जरिवानाको माग गरिएको छ।
अख्तियारले श्रेष्ठले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी नरमाया श्रेष्ठ, बुहारी भावना वरुवाल र बुहारी सञ्चालक रहेको 'फरेष्ट एण्ड इन्भारोमेन्ट रिसर्च अर्गनाइजेशन प्रा.लि.' को नाममा लुकाएको पाइएको जनाएको छ।
उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि नरमाया श्रेष्ठ, भावना वरुवाल र उक्त कम्पनीलाई समेत प्रतिवादी बनाइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण