शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

जेनजीका मागमा एमालेको ‘यूटर्न’, चुनावमा जान सानेपातिर नजर

सोमबार, १७ कात्तिक २०८२, १६ : २२
सोमबार, १७ कात्तिक २०८२

सारांश

  • एमालेले जेनजी आन्दोलनका माग जायज भएको र पूरा गर्न सकिने निष्कर्ष निकाल्यो।
  • एमाले महासचिवले युवा पुस्ताका माग पूरा गर्न नसकिने खालका नभएको बताए।
  • एमालेले कांग्रेससँग मिलेर राजनीतिक संकट समाधान गर्ने र चुनावबारे साझा धारणा बनाउने कुरा गरेको छ।

काठमाडौँ । जेनजी आन्दोलनको दुई महिना पुग्न लाग्दा नेकपा एमाले बल्ल उनीहरूले उठाएका माग जायज भएको निष्कर्षमा पुगेको छ । ती मागहरू पूरा गर्न सकिने खालको पनि भएको एमालेको भनाइ छ ।

यसअघि जेनजी आन्दोलनमा उठेका मागमुद्दालाई ‘अनदेखा’ गर्दै आएको एमालेले त्यसक्रममा भएका घटनाहरूमा समेत विदेशी शक्तिहरूको षड्यन्त्र र घुसपैठका रूपमा व्याख्या गर्दै आएको थियो ।

सोमबार एमाले महासचिव शंकर पोखरेलले नवपुस्ता (जेनजी) का माग अनुचित नभएको र ती माग सरकारले पनि पूरा गर्न सक्ने किसिमकै रहेको निष्कर्ष सुनाए ।

‘जनेजी पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सामाजिक सञ्जाल प्रयोग गर्न पाउनुपर्छ भन्ने माग राखेका थिए । ती माग अनुचित थिएनन् र पूरा गर्न नसक्ने पनि थिएनन्’, महासचिव पोखरेलको भनाइ छ ।

पोखरेलले ती माग राखेर आन्दोलनको नेतृत्व कसले गरेको हो भन्ने पूर्ववर्ती सरकारलाई थाहा हुन नसकेकाले त्यसवेलाको परिस्थिति थप बिग्रिन पुगेको दाबी समेत गरे ।

‘कसले आन्दोलनको नेतृत्व गरेको भन्ने पूर्ववर्ती सरकारलाई जानकारी नै भएन,’ सोमबार काठमाडौँमा भएको पत्रकार सम्मेलनमा पोखरेलले भने । उनले भदौ २३ र २४ भदौको आन्दोलनमा मोबाइलको लत बसेका युवाहरूलाई गलत तत्त्वले प्रयोग गरेको दाबी गर्न भने छाडेनन् ।

‘बरु भात छाड्न सक्ने, परिवार छाड्न सक्ने तर मोबाइल छाड्न नसक्ने युवालाई गलत तत्त्वले प्रयोग गरे,’ उनले भने, ‘सूचना प्रविधिप्रतिको आशक्ति, लत कस्तो तहमा पुगेको छ भन्ने कुरालाई गलत तत्त्वले प्रयोग गरेको थियो भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गरेको छ ।’ स्मरण रहोस् एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल नियमनका नाममा नियन्त्रण गर्ने प्रयास गरेपछि जेनजी समूहले आन्दोलन गरेका थिए ।

चुनावबारे कांग्रेसको निर्णय कुर्दै

महासचिव पोखरेलले मुलुकको राजनीतिक संकट समाधानका लागि नेपाली कांग्रेस र एमालेको एउटै धारणा बन्ने दाबी समेत गरे । उनले फागुन २१ को प्रतिनिधि सभा निर्वाचन र वर्तमान समस्या समाधानमा एमाले र कांग्रेसले साझा दृष्टिकोण बनाएर अघि बढ्ने तयारी भइरहे पनि कांग्रेस आन्तरिक बैठकमा रहेकाले ढिलाइ भएको बताए । आन्तरिक विवाद हुँदा कांग्रेसको पार्टी कार्यालय सानेपामा हुँदै आएको केन्द्रीय समिति बैठक केही दिनयता प्रभावित हुँदै आएको छ । विशेषगरी महाधिवेशनको विषयमा दुई समूहबिच कुरा नमिल्दा कांग्रेसको केन्द्रीय समितिबाट समग्र विषयमा निर्णय आउन ढिलाइ भएको हो । 

‘प्रमुख राजनीतिक दल मिलेर संकटको समाधान गर्नुपर्छ भन्ने मान्यतामा छौँ’, महासचिव पोखरेलले भने, ‘अहिले कांग्रेस आन्तरिक बैठकमा छ, बैठक सकिएपछि कांग्रेससँग संवाद गरेर साझा दृष्टिकोण बनाएर अगाडि बढ्छौँ ।’

पोखरेलले चुनाव गराउने भनिएको सरकारले आफ्नो मुख्य जिम्मेवारी भन्दा अन्यत्र ध्यान मोडेको आरोप समेत लगाए । प्रहरीको मनोबल नउकासी देशमा चुनाव हुन नसक्ने भन्दै पोखरेलले प्रमुख दलका नेतालाई स्थानहद तोकेर कसरी निर्वाचन हुन्छ भनेर प्रश्न गरे ।

‘चुनावका लागि पहिलो सर्त राजनीतिक वातावरण बनाउने हो । प्रमुख दलको नेतालाई स्थानहद कायम राखेर चुनाव गर्ने कुरा काल्पनिक कुरा हो । प्रमुख पार्टीको नेतृत्वलाई स्थान हद कायम गर्ने र पासपोर्ट रोक्ने काम गलत हो सच्याइयोस्,’ पोखरेलको भनाइ छ । सरकारले चुनाव हुन्छ भन्ने वातावरण बनाउन सक्नुपर्नेमा जोड समेत दिए । ‘चुनाव हुन्छ भन्ने विश्वास त हुनु पर्‍यो नि पहिला, विश्वासको वातावरण नै बनेको छैन । नहुने चुनावमा भाग लिन्छौँ भन्नु केटकेटीपन हुन्छ,’ पोखरेलले थपे, ‘चुनाव गराउने सरकार नै संवैधानिक परीक्षणबाट गुज्रिनु परेको छ, सर्वोच्चको आदेशबाट के हुने हो त्यसपछि निर्क्योल होला !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप